0
दुई वटा कोठा भाडामा’ व्यहोराको सूचना र फोन नम्बर घरको मूलगेटमै टाँसिएको थियो । एक जना साथीले तिमी बस्ने ठाउँतिर कतै कोठा पाइयो भने सम्पर्क गर्नू है भनेकोले फोन नम्बर टिपिहालेँ । बानेश्वर एरियामै कोठा भेटिएको जानकारी सहित साथीलाई नम्बर दिएँ । कुरा गर्न सँगै जाने है भन्दै उनी दंग परिन् । साँझ फोन गर्दा घरबेटी बाले बिहान आउन भने । चार(पाँच ठाउँ डेरा सर्दा पनि भने जस्ता घरबेटी नहुँदा साथी दिक्क थिइन् । जहाँ बस्दा पनि घरबेटी एकदम किचकिचे पर्छन् भन्दै उनले पीडा पोखिन् । यो घरबेटी पनि त्यस्तै पर्ला कि भन्ने शंका गरिन् । सबै नराम्रा नहोलान् भन्दै साथीलाई थामथुम पारेर बिहान सँगै कोठा हेर्न जाउँला भन्ने कुरा गरेँ । उही सूचना लेखिएको गेटको अगाडि पुग्यौं । घरबेटी आमैले ढोका खोलिन् । आमैले बा लाई पनि बोलाइन् । भाडामा बस्ने साथीबारे दुवै जनाले केरकार गर्न थाले । साथीलाई आमाले सोधिन् –‘को–को छांै परिवारमा ? साना बालबच्चा छन् कि छैनन् ? बच्चा भएका परिवारलाई चाहिँ कोठा दिदैनौ नि फेरि !’ साथीले जवाफ दिँदै गइन्, ‘भर्खर बिहे भएको हो, बच्चा छैन । हामी दुई जना र एक जना देवर मात्र बस्ने हो ।’ साना बच्चा भएपछि घरमा धेरै फोहोर हुन्छ भन्ने डेरावालको मान्यता रहेछ । ‘उसो भए ठीक छ, साँझ कति बजे आइपुग्छन् तिम्रो देवर र श्रीमान् ? साँझ सात बजे गेट बन्द भइसक्छ नि । त्यो भन्दा ढिलो आउन पाउँदैन !’, आमैले एकसरो नियम सुनाइन् । ‘उहाँको कहिले काहीँ ढिलो हुन्छ । देवर त चाँडै आउनुहुन्छ । म पनि चाँडै आउँछु’, साथीले विनम्र भावमा भनिन् । आमाले फेरि सोधिन्, ‘पाहुना कत्तिको आउँछन् नि ? हल्लाखल्ला गर्ने भए हुँदैन है । शान्त मान्छे चाहिन्छ हामीलाई । अस्तिका केटाहरुले हल्ला गरेर बसि टिक्न नदिएर निकाल्दियौं । आफन्त भन्दै कहिले को, कहिले को मान्छे ल्याइराख्ने । पानी कति खर्च हुन्छ । त्यस्तो त पाइँदैन नि !’ बा–आमाको प्रश्न ओइरिइरह्यो । मानौं जागिरको अन्तर्वार्तामा उभिए जसरी हामीले जवाफ दिइरहेका छौं । सबै जनालाई क्याम्पस र अफिस क्याम्पस जान पायक पर्ने वानेश्वर एरिया नै छ । कोठा नभई भएको छैन, बसौं भन्दा पनि शर्त के–के मात्र मान्नुपर्ने हो ! हामी एकैछिन अवाक् भयौं । मान्छे बसेको ठाउँमा कहिलेकाहीँ आफन्त र साथीभाइ त आउँछन् नै । त्यसमा के मात्र शर्त स्वीकार गर्ने ! ‘बस्ने भए दुई वटा कोठाको भाडा दश हजार । बत्ती, पानी, केबल र फोहोरको कति हुन्छ, त्यसमा जोडेर दिनुपर्छ । पानी धेरै खर्च गर्न पाइँदैन । आफन्त ग्वारग्वार ल्याउन पाउँदैन । कोठामा होहल्ला गर्न पाइदैन । साँझ सात बजेभित्र आइसक्नुपर्छ । पच्चीस गतेभित्र भाडा दिइसक्नुपर्छ । खानेपानी धारामा आउँदैन, ट्यांकरको किन्नुपर्छ । भुइँतलाको कोठा भएकोले आँगन वरपर पनि सफा गर्नुपर्छ । कोठा कालो बनाउन पाइँदैन । भित्तामा काँटी ठोक्न पाइँदैन । ट्वाइलेट फोहोर गर्न पाइँदैन । गेट लगाउँदा ढ्वाङ्ग पारेर बजाउन पाइँदैन‘’ यस्ता शर्तहरु यति खनिए कि भनिसाध्य छैन ।
‘हुन्छ, म भोलि मेरो श्रीमानलाई लिएर आउँछु अनि निर्णय गरौंला’, साथीले कुरो टुंग्याउन खोजिन् ।
‘त्यस्ता कुराले हुँदैन, बैना छाडेर जाऊ । अर्को मान्छे आयो भने तिम्रो लागि कसले रोकेर राख्छ ?,’ घरबेटी दम्पतीको कुरा । ‘पैसा नबोकी आयौं, बैंकको एटिएमबाट निकालेर आइहाल्छौं’ भन्दै हामी बाहिरियौं । गेट पार गरिसकेका थिएनौं, आमैको बोली प्वाक्कै कानमा प¥यो–‘बैना दिने पैसा नहुनेलाई चाहिन्छ दश हजारको कोठा !’ गाउँमा त घरमा विरानो मान्छे आए पनि बसौं भन्दै केही न केही सम्मान प्रकट गरिन्छ । तर, शहरमा पैसाको बाहेक केही कुराको मतलब छैन । आधा घण्टा मूर्ति जस्तो उभिएर हामीले अन्तर्वार्ता दियौं । नजिकै कुर्सी भए पनि बसेर कुरा गरौं सम्म भनेनन् । घरबेटीको यो शहरिया संस्कार हो । घरबेटीको एउटा घर छ, त्यो भन्दा संसार अर्को छैन । हामी डेरावालको यो शहरमा घर छैन, तर मन फराकिलो छ । गाउँबाट शहर छिरेर अनेक दुःखले हामीले प्रगति गर्दा घरबेटीको मन पोल्छ । बहालमा बस्ने मान्छे जत्रो पदमा पुगे पनि घरबेटीहरु ‘त्यो फलानो घरको डेरामा बस्ने त हो’ भन्छन् । डेरामा बस्नु हाम्रो बाध्यता हो । तर, डेरामा बस्नेलाई जसरी पनि चुस्ने तपाईं घरबेटीहरुको अधिकार त होइन नि ! आपसी समझदारीमा सम्बन्ध सुमधुुर बनाउने कुरामा घरबेटी किन मौन ? डेरावाल तपाईंहरुको घरमा बसेकैले आफ्नो कमाइ खाने भाँडो दह्रो भएको हो । यसमा एकछिन सोच्ने कि ? मेरो साथीले कोठामा बस्दा र कोठा खोज्दा भोगेको जस्तो समस्या हामी धेरैजसोले भोग्दै आएका छौं । घरबेटी र डेरावालको सम्बन्ध एकाध बाहेकको हकमा सुमधुर रहेको देखिँदैन । गाउँबाट शहर आएर संघर्ष गर्दै घर बनाएर यहीँका बासिन्दा भएकाहरु बरु केही नरम हुन्छन् । तर, काठमाडौंका रैथाने घरबेटीले डेरावाललाई मान्छे नै मान्दैनन् ।
 
कतिपय डेरावालहरु खराब नभएका होइनन् । समयमा भाडा नतिर्ने, अनावश्यक मान्छे कोठामा ल्याएर होहल्ला गर्ने, कोठा भत्काउने, भाडा नतिरी राति भाग्ने खालका घटना पनि नभएका होइनन् । तर, एकाध उदाहरण तेस्र्याउँदै घरबेटीले सबै डेरावालको अपमान गर्छन् । घरको कोठा भाडामा लिएपछि बसुन्जेल उसको अधिकार हुन्छ, हुनुपर्ने हो । तर, त्यो सोचाइ छैन । पैसा तिरेर बस्दा पनि घरबेटीबाट कतै केही नभएर बस्न आएको भन्दा पनि तल्लो स्तरको व्यवहार खेप्ने डेरावालको संख्या धेरै छ । अधिकांश ठाउँमा घरबेटीहरु झापाको मान्छे भनेपछि डेरा दिन नाक खुम्च्याउँछन् । होला, कुनै दिन झापाको एकजना बदमास थियो होला, तर त्यसैको नाममा सबै मान्छेलाई एउटै नजरले हेर्नु कतिसम्म उचित हो ? एउटाको बदनामीमा जिल्लाबासी नै बदनाम हुनुपर्ने कस्तो सोचाइ हो ? अर्काको घरमा शरणार्थी जस्तो बस्ने कसैलाई पनि रहर हुँदैन । डेरामा बस्नु हाम्रो बाध्यता हो । त्यस क्रममा घरबेटीबाट खेप्नुपर्ने ज्यादती बयान गर्नै नसकिने खालको हुन्छ । भाडा जति भनिदिए पनि हुन्छ, जति समयमा बढाए पनि हुन्छ । कुनै नियम छैन । त्यसरी डेरावालले तिरेको भाडाबाट घरबेटी भएको सान लगाउनेहरु न वैज्ञानिक भाडादर कायम गछन्, न राज्यलाई कर तिर्छन् । डेरावालको सवालमा सरकार पनि सधैं मौन छ । राजधानीमा कति डेरावाल छन् भन्ने तथ्यांक समेत सरकारसँग छैन । कति घरबेटीले राज्यलाई १० प्रतिशत घर बहाल कर बुझाउँछन् ? त्यसको रेकर्ड छैन । कर नबुझाउने घरबेटीमाथि कारबाही हुँदैन । समय(समयमा जति भाडा बढाए पनि डेरावालले खुरुखुरु तिर्नुपर्छ । यस्तो मनपरी विरुद्ध छिरिक्क पनि बोल्ने बाटै हुँदैन । बोल्यो भने डेरा छोडेर हिँड्नुपर्छ । राजनीति सुरु गर्दा साँघुरा डेरामा जिन्दगी बिताएका माननीयहरु मन्त्री, सांसद, प्रधानमन्त्री भइसके । धेरैजसो अहिले आलिसान महलका मालिक छन् । उनीहरुलाई विगतको डेरावाल जिन्दगीले केही पाठ सिकाएन, डेरावालको हितको पक्षमा केही सोच्न दबाब दिएन । डेरावाललाई सबैतिरबाट गाह्रो छ । कोठा भाडामा खोजिदिने बिचौलियाहरूको पनि बोलवाला देखिन्छ ।
 
घरबेटीले पनि डेरावाललाई सेक्ने, दलालले पनि उनै डेरावाललाई कमाइखाने भाँडो बनाउने । अरु क्षेत्रको सिन्डिकेट बारे खुब चर्चा आउँछ, तर डेरावाल माथि घरबेटीको अचाक्लीपूर्ण सिन्डिकेट विरुद्ध कहिले आवाज उठ्ने ? घरबेटीको मनपरी विरुद्ध उजुरी गर्ने कुनै निकाय छैन, सुनुवाइ हुने माध्यम छैन । एक जना दिदी थिइन्, बबरमहलमा नौ हजारमा दुई वटा कोठा भाडामा लिएर बसेकी थिइन् । तर, दिनहुँजसो घरबेटीले दिने मानसिक तनाव झेल्न नसकेर एक महिना पनि पूरा नबस्दै उनी कोठा सर्न बाध्य भइन् । घरबेटी आमा कोठाको ढोकामा दिनको पाँच पटक छड्केमा आउँदिरैछिन्, चप्पलको छड्के ! दुई जोरभन्दा बढी जुत्ता–चप्पल ढोकामा देखिन् भने ढोका ढकढक गरिहाल्ने । दिदीले एक दिन भेट हुँदा अमिलो मनले गुनासो पोखिन्, ‘अर्को जुनीमा जन्मिए काठमाडौंको घरबेटी हुने रहर छ बैनी । मलाई त यहाँका घरबेटीले साह्रै हेपे ।’कदिन कोठामा भिनाजुका अफिसका साथी आएका रै’छन् । आमैले ढकढक गरिहालिन्, कोठामा अर्को मान्छे देखेपछि उनको स्वर चर्को बन्यो । ‘दुई जना बस्ने भनेको होइन ? तीन जना छौ त, के हो भाइ ?’ भिनाजुले खरो जवाफ फर्काएछन्, ‘दुई जना बसे पनि कहिलेकाहीँ तीन–चार जना हुन्छौं । हामी पनि मान्छे हौं आमै मान्छे भएको घरमा मान्छे आउँछन् । उहाँ मेरो अफिसको साथी हो, चिया खाएर एकछिनमा गइहाल्नुहुन्छ । फेरि तपाईंको कोठामा सितैमा बसेको पनि होइन । अग्रीम भाडा बुझाएर बसेको हो । कति तनाव दिनुहुन्छ ?’ आमै झन् पड्किइन्, ‘भो–भो, धेरै कुरा नगर भाइ । काला गए गोरा आउँछन् । यस्ता मुख छाड्ने डेरावाल चाहिँदैन । जाऊ अन्तै कोठा खोजिहाल । डेरामा बस्ने मान्छेले यत्रो फूर्ति लाउने ?’ भिनाजुले पनि निर्णय सुनाए, ‘तपाईंको कचकच सहिराख्ने मन पनि छैन । अरु ठाउँमा बरु महँगो तिरेर बसौंला, तपाईं जस्तो घरबेटी चाहिएको पनि छैन । एक हप्तामा घर छोड्छौं, ढुक्क हुनुस् ।’ शहरमा नबसौं, बस्नैपर्ने बाध्यता छ । बसौं भने घरबेटीको सिन्डिकेट सहिनसक्नुको छ ।


Post a Comment

 
Top