0
गोल्डेन न्यूज संवाददाता
पोखरामै पहिलो पटक मौषम अनुसार तातो चिसो पानीको ब्यवस्था भएको सिजनेवल इन्डोर स्वीमिङ पुल सहितको रिसोर्ट संचालनमा आएको छ । पोखरा ६ लेकसाइड स्थित बाराही मार्गमा भित्रै तातो चिसो पानीको सुविधा भएको ‘द कुटी रिसोर्ट’ सञ्चालनमा आएको हो । झण्डै साढे दुई बर्ष लगाएर निर्माण गरिएको रिसोर्टको एउटा भवन पूर्णरुपमा सञ्चालनमा आएको छ भने अर्को भवन निर्माणको क्रममा छ । गत लक्ष्मीपूजाको दिनबाट रिसोर्टको इन्डोर स्वीमिङ पुलसहित २८ वटा कोठा, रेष्टुरेन्ट र सेमिनार हल संचालनमा ल्याइएको हो । हाल सञ्चालनमा रहेका २८ रुममध्ये एउटा स्वीट रुम हो भने २७ वटा डिलक्स रुम हुन् । संचालक देबेन्द्र केसीका अनुसार निर्माणाधिन अर्को भवन सम्पन्न भएपछि कुल ५० रुम हुनेछ । आगामी बैशाख पहिलो साता सम्ममा पूर्णरुपमा संचालनमा ल्याउने भनिएको रिसोर्टमा १० वटा स्वीट रुम र ४० वटा डिलक्स रुम हुनेछन् । हाल सञ्चालनमा आएको सिजनेवल इन्डोर स्वीमिङ पुल पोखरामै पहिलो भएको संचालकको दावि छ । रिसोर्ट भित्रै मौशम अनुसार तातो, चिसो पानीको ब्यवस्था सहितको स्वीमिङ पुलमा एकसाथ झण्डै ३० जनाले पौडन सक्नेछन् । स्वीमिङ पुलको गहिराई साढे ४ देखि साढे पाँच फिट सम्मको छ । रिसोर्टका सबै कोठामा मिनीवारको सुविधा छ भने प्रत्येक कोठाको आ–आफ्नै बाल्कोनी छन् । जहाँबाट हिमाली श्रृङ्खला, फेवाताल, शान्ति स्तुपा, सराङकोटको दृश्य देख्न सकिन्छ । ‘आगामी बैंशाख सम्ममा रिसोर्ट पूर्णरुपमा सञ्चालनमा ल्याउने लक्ष्य हो’ सञ्चालक केसीले भने –‘सबै सञ्चालनमा आएपछि रुमको संख्या ५० पुग्नेछ जस मध्ये १०वटा स्विट र ४० डिलक्स हुनेछ ।’ रिसोर्टको १६ वटा कोठाबाट सुतेरै हिमाल देख्न सकिने केसीले बताए । रिसोर्टमा हाल नेपालीलाई डिलक्स रुमको ४५ सय र स्वीट रुमको १५ हजार रुपैयाँ मूल्य तोकिएको छ भने विदेशीका लागि डिलक्स रुमको ७५ सय रुपैयाँ तोकिएको छ। यो रकममा ब्रेकफाष्टको सुविधा छ ।
रिसोर्टमा हाल डेढ सय जना क्षमताको रेष्टुरेन्ट र झण्डै दुई सय जना क्षमताको सेमिनार हल तयार सञ्चालनमा छ । रेष्टुरेन्टबाट रिसोर्टमा बस्ने पाँहुनालाई २४ सै घण्टा प्रदान गर्न सकिने र सबै प्रकारका खानाको ब्यवस्था रहेको अपरेशन म्यानेजर सुमितजंग अधिकारीले बताए । रिसोर्ट अपाङ्गता भएका ब्यक्ति तथा बृद्धबृद्धा र वालवालिकाका लागि सुविधायुक्त छ । रिसोर्टको रेष्टुरेन्टमा जान तथा कोठामा जान आउनका लागि लिफ्टको ब्यवस्था गरिएको छ । त्यस्तै रिसोर्ट प्रवेश गर्ने स्थानमा सेन्सर डोर राखिएको छ । ‘तीन तारे होटलमा पाइने सुविधाहरु स्वीमिङ पुल, स्पा, साउना, मसाज, हेल्थक्लब एबं ट्राभल डेक्स आउने बैंशाख सम्ममा दिने तयारीमा छौं।’ संचालक केसीले भने । उनका अनुसार रिसोर्टमा हालसम्म झण्डै ३५ करोड रुपैयाँ लगानी भएको छ ।
रिसोर्टका पाहुनाका लागि पर्याप्त पार्किङ सुविधा पनि भएको र विमानस्थल तथा बसपार्कसम्म आउन जानका साथै पोखरा दृश्यावलोकनका लागि गाडीको ब्यवस्था समेत रहेको संचालकले बताए ।





Post a Comment

 
Top