0
गोल्डेन न्यूज संवाददाता
कास्कीमा सवारी दुर्घटना न्यूनिकरण गर्न ट्राफिक सप्ताह सुरु गरिएको छ । सप्ताहको पश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कमल सिंह बमले उदघाटन गरेका हुन् । सप्ताहको पहिलो दिन आयोजित प्रभातफेरीको उद्घाटन गर्दै उनले ट्राफिक सचेतना अभिबृद्धि सहित दुर्घटना न्यूनिकरण र यातायात ब्यवस्थापनमा सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए । ट्राफिक सप्ताहलाई एक साता भरीको कार्यक्रममा मात्रै सिमित नराखी ब्यापकता दिनुपर्ने उनले बताए । उनले पोखराको सवारी ब्यवस्थापनका विषयमा समयमै नसोच्ने हो भने ट्राफिक ब्यवस्था अस्तब्यस्त हुने बताए । चालक, पैदलयात्रु तथा सवारी साधनमा यात्रा गर्ने यात्रु सबैले ट्राफिक नियमको पालना गरे दुर्घटना कम हुने उनको विश्वास छ । पोखराका विभिन्न चोकहरुका कारण पनि ट्राफिक जाम हुने गरेको उल्लेख गर्दै डिआइजी बमले पृथ्बीचोकको आइल्याण्ड भत्काउनुपर्ने आवश्यकता औल्याए ।
यसअघि पृथ्बीचोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट सुरु भएको प्रभातफेरी सभागृह, न्यूरोड, विपिचोक हँुदै मानव अधिकार चोकमा पुगेर टुङ्गिएको थियो । प्रभातफेरीमा ट्राफिक प्रहरी, नेपाल प्रहरी, रेडक्रसकर्मी, बिद्यार्थी, नागरिक समाज लगायतको सहभागिता थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की र नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको संयुक्त आयोजनामा सुरु भएको सप्ताहमा एक साताभर ट्राफिक नियम सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने भएको छ । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक प्रकाश अधिकारीले सडक प्रयोगकर्ता, चालक, सहचालक लगायत सरोकारवाला सबै निकायलाई ट्राफिक नियमको बारेमा सचेतना दिलाउने उद्देश्यले वार्षिकरुपमा ट्राफिक सप्ताह गर्दै आएको बताए । गण्डकी अञ्चल व्यवस्था कार्यालय (सवारी) का अनुसार यस क्षेत्रमा हाल सम्म करिब १ लाख ५० हजार सवारी साधन दर्ता भएका छन् । तथ्यांक अनुसार नेपालमा दैनिक ५ देखि ७ जनाले सवारी दुर्घटनाले ज्यान गुमाउने गरेका छन् ।  ट्राफिक सप्ताह अन्तर्गत दोस्रो दिन अमर सिंह माविका युवाहरुलाई ट्राफिक सचेतना, ढिकुरपोखरी, हेम्जा, पोखरा र लेखनाथमाका विभिन्न स्थानमा जेब्रा क्रसिङमा स्वयंम सेवक परिचालन गर्ने कार्यक्रम छ । तेस्रो दिन ड्राइभिङ इन्स्टिच्युटका प्रतिनिधिलाई सचेतना, चौथो दिन मंसिर ८ गते बक्तृत्वकला प्रतियोगिता, ट्राफिक कक्षा र चालक परामर्श कार्यक्रम सञ्चालन गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरिक्षक विश्वराज अधिकारीले जानकारी दिए । त्यस्तै पाँचौ दिन ट्राफिक सचेतनाका साथै चित्रकला प्रतियोगिता र अन्तिम दिन समापन कार्यक्रम उनले बताए ।

Post a Comment

 
Top