0
गोल्डेन न्यूज संवाददाता
अनुकुल मौसमका कारण कास्की जिल्लामा यस वर्ष धान उत्पादनमा सात प्रतिशतले वृद्धि हुने भएको छ । विगत आठ÷ दशवर्षकै अन्तरालमा वर्षातका समयमा पानी नआएर समस्या भोग्ने गरेका यस क्षेत्रका किसान यसपटक भने असिना नपरेपछि पाकेको धान सबैजसो भित्र्याउन पाउँदा हर्षित बनेका छन् । यस वर्ष रोपाइँदेखि नै मौसमको अनुकूलता, धान रोप्ने बेलामा रासायनिक मलको उपलब्धता र बाढीपहिरोको प्रकोप पनि बेहोर्नु नपरेको र भित्र्याउने समयमा पनि असिनाको प्रकोप व्यहोर्नु नपरेका कारण यो वर्ष धानखेतीका लागि सुनौलो वर्ष भएको कृषकहरू बताउँछन् । धानखेतीका लागि अनुकूल मौसम भएका कारण कास्की र आसपासका क्षेत्रका किसानले यसवर्ष हर्षका साथ धान भित्र्याइरहेको कृषक हरिकृष्ण पौडेलले बताए । “रोप्दा पानी नहुने, बीचमा खडेरी पर्नेजस्ता समस्याका साथै धान थन्क्याउने बेलामा असिनाका कारण किसान मर्कामा पर्ने गरेका थिए,” उनले भने–‘यसवर्ष भने धान रोप्दादेखि थन्क्याउँदासम्म मौसमले साथ दियो, धानखेती थन्क्याउने अधिकांशले भकारी भर्न पाएका छन्,।” जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत नारायणजङ्ग खत्रीका अनुसार यसवर्ष गत वर्षको तुलनामा ७ प्रतिशतले धान उत्पादन बढ्ने अनुमान गरिएको छ । गत वर्ष बाढीपहिरो, नाकाबन्दी र मधेस आन्दोलनका कारण समयमै रासायनिक मल ल्याउन नसकिएकाले उत्पादनमा कमी आएर ७७ हजार ४२५ मेटिूक टन धान उत्पादन भएकामा यसवर्ष मौसमको अनुकूलता, रासयनिक मलको सहजता आदिका कारण धानको उत्पादन बढेको उनको भनाई छ । जिल्ला कृषि विकास कार्यालयका बागबानी विकास अधिकृत अजय अधिकारीका अनुसार यसवर्ष मौसम राम्रो हुनुका साथै असिनाबाट पनि धान जोगिएका कारण कृषले ठूलो राहत महसुस गरेका हुन् ।
 
धान खेतीयोग्य जमिन पछिल्ला वर्षमा प्लटिङमा परिणत भएका कारण बर्सेनि धानखेती घट्दै गरेको अवस्था भने चुनौतीपूर्ण देखिएको उनको भनाइ छ । जिल्लामा यसवर्ष २५ हजार ६०० हेक्टर क्षेत्रफलमा धानखेती गरिएको छ । मनाङ बाहेक नेपालका ७४ जिल्लामा धानखेती हुने गरेको धानबाली अनुसन्धाता भानु पराजुलीले  बताए । कास्कीको लेखनाथस्थित बेगनास क्षेत्रमा मात्र ७४ प्रजातिका धान लगाउने गरिएको छ । “जिल्लामा समुन्द्रफिंजा र नाभो जातको धान लगाइने गरिएकोमा पछिल्ला वर्षमा ती प्रजाति लोप भइसकेका छन्,” उनले भने–“केही वर्षको अन्तरालमा आँगा, वले, कृष्णभोग, जिरासरी र फल्याङकोटे धान पनि दुर्लभ भइसकेका छन् । ३०० देखि ६०० मिटरको उचाइ क्षेत्रमा रैथाने धानका बढी जात लोप भएका छन् भने हाल पहेंले, मनसरा, बिरमफूल, ठिमाहा, ताकमारे, खोलेमार्सी, रमन, आँपझुत्ते, झिनुवा, अनदी, गुर्दी, मानामुरी, कन्जीरा, मन्सुली, आँघा, तौली, मार्सी, खाल्टेखोले, गोला, कोदे, गुडुरा, जर्नेली, गौरिया, बर्मेली, एक्ले गरी २५ प्रकारका रैथाने धान रहेको पाइन्छ । उच्च पहाडी क्षेत्र अन्तर्गत लगभग दुई हजार ३०० मिटर उचाइको घान्द्रुकमा छोमरुङ–९ जातको धान अनुसन्धानका क्रममा छन् । पछिल्ला वर्षमा राधा–७, खुमल–४, सिएच–४५, राधा–९, खुमल–७ र पोखरा उपत्यकाको लागि पोखरेली जेठोबुढो धान बढी प्रयोगमा आएको पाइएको छ  ।


Post a Comment

 
Top