0
साहित्य सिर्जना सबैले गर्छन् त्यसैले कवि, कलाकार र लेखकको जन्मदर वर्षामा च्याउ उम्रे जस्तो वृद्धि भइरहन्छ । वर्षा सकिएर हिउँद पुग्न नपाउँदै मृत्युदरको सङ्ख्या डर लाग्दो भेटिन्छ । धुमधामसँग लोकार्पण गरिएका । ठूऽऽऽला मिडिया हाउसद्वारा प्रायोजित रूपमा पुस्तकको खोल व्यापार गरिएका । उनका भरौटे सिपाही, नेता र कार्यकर्ताद्वारा काँध हालिएर चर्चा परिचर्चा गरिएका पुस्तक हिउँदमा पानीपुरी, चटपटे र बदाम बेच्नेहरूले व्यापार गरिरहेका हुन्छन् । साम, दाम, दण्ड, भेदको निती अपनाउँदै बजारमा पुँजी र हाउगुजीको हल्लाखोर गर्नेहरू मुस्किलले एक हिउँद बचे पनि अर्को हिउँदमा उनीहरूको हविगत उही हुन पुग्छ । यो सबै हुनुको कारण ती मध्येका कमै मात्र असल लेखक बन्न पुग्नु हो ।
काठमाडौंको जितपुर फेदीमा जन्मेका दामोदर पुडासैनी उर्फ किशोर (२०१९) बिरलै बच्न सफल हुने मध्येका पृथक पहिचान बोकेका शब्द सिपाही हुन् । यिनै किशोरले यस भन्दा अगाडि आफन्तका अनुहारहरू (२०४९), आँखाको खोजीमा (२०६२), आकारको खोजीमा (२०६३), आलोकित आयाम (२०६३), समयको सही छाप (२०६९), पहाड र प्रेम (२०७१) जस्ता कविता कृति प्रकाशित गरिसकेका छन् । नियात्रातर्फ यात्राका प्रेमिल तरङ्गहरू (२०६५), नमेटिएका चित्रहरू (२०७०) र मायालु हुम्ला (२०७१) पाठकले असाध्यै मन पराएका नियात्रा कृति हुन् । यसो त उनको पछिल्लो समय प्रकाशन भएको दर्शन कृति धर्मको ह्याङओभर (२०७२) पनि नरूचाइएको होइन । मानववादी समाज (सोच) नेपालले प्रकाशमा ल्याएको कृतिमा किशोरले मान्छे प्राकृतिक धर्ममा अघि बढ्नु पर्ने धारणा व्यक्त गरेका छन् । किशोरले धर्मको नाममा हुने शोषण र विभेद नै मान्छेलाई पछि पार्ने मूल कारण बन्न पुगेको भन्दै धर्मका नाममा हुने अनेक कर्मको विरोध गरेका छन् । धर्मको ह्याङओभर पछि किशोरको पछिल्लो समय थपिएको नियात्रा कृति हो सिमानाका रङ्ग सिमानाका तरङ्ग (२०७२) । रत्न पुस्तक भण्डार काठमाडौँले उनको नमेटिएका चित्रहरू (२०७०) नियात्रा कृति नै बजारमा ल्याएको थियो । जुन कृतिले उत्तम शान्ति पुरस्कार प्राप्त गरिसकेको छ । यस लेखमा एउटा पूर्ण शब्दलाई पाउने बित्तिकै बिरालाले मुसा खेलाए झै खेलाइरहन सफल किशोरको पछिल्लो कृति सिमानाका रङ्ग सिमानाका तरङ्ग एक चर्चा गरिएको छ ।
प्रस्तुत कृतिमा २०६२ असोज १७(२६ मात्र १० दिनको अवधिमा किशोरले १८ थान नियात्रा लेखेर सकेका छन् । जुन समय देशमा द्वन्द्वले सफलताको शिखर चुम्दै थियो । अरबौं धनजनको क्षती । हजारौं सोझा नेपालीको निधन । हजारौं छोरीचेलीको सिउँदोको सिन्दुर पुछिएको । हजारौं बालबच्चा अभिभावकविहिन । लाखौं व्यक्ति घरबारविहीन भएको अवस्था थियो । आफ्नो जन्मभूमीको यस्तो दर्दनाक अवस्थामा किशोर नुनको सोझो गर्नका लागि हाकिमले खटाएको कार्यक्षेत्रमा इमान्दार सिपाही झैँ हिँडिरहेका थिए । त्यही दश दिने हिँडाइमा उनले हत्केलामा ज्यान च्याप्दै, हरियो हुस्सुमा जाँगरको रन्को, नदेखिएको दाँत, रङ्गीन धुनको तरङ्ग, कोलाजको आवाज, भेटिनु र छुट्टिनुमा इन्द्रेणीका पदचापहरू, नाङ्गो आकाश नाङ्गो धर्ती, ससुराली देशमा अनुत्तरित प्रश्न, सन्नाटाभित्रका सुस्केराहरू, सुनौला सहरमा मायाका बाछिटाहरू, रगतले चुमेको रगत, अनन्त तरङ्ग अनन्त शृङ्खलाहरू भोकको ज्वालामाथि बिहानी आँखा, पन सय र पाँच सय अट्ठाइसमा अल्झिएका रेखाहरू, गहिराइमा पैmलिएका रङ्गहरू, टुसाउँदो ढुङ्गोसँगै टनटनाएका क्षणहरू, आगोमाथि मुस्कुराइरहेका शीतका थोपा र टीकाको परिधिमा अनन्त यात्रा गरी फरक–फरक शीर्षकका १८ वटा यात्रा निबन्ध लेखेर सङ्गृहित गरेका छन् प्रस्तुत पुस्तकमा ।
पङ्क्तिकार आफूलाई भाग्यमानी पाठक ठान्छ, किनकि किशोरका चारवटै यात्रा निबन्धहरू आधोपान्त पढ्ने अवसर पाएँ । अझै पोखरामै पहिलो पटक उनको यात्राका प्रेमिल तरङ्गहरू माथि कार्यपत्र प्रस्तुत गर्ने अवसर मिल्यो । यावद सन्दर्भले गौरवका साथ भन्न सक्छु, किशोरको लेखन आम पाठकलाई विगतमा जसरी जीवन एउटा रङ्गमञ्च भएको अनुभूत गराउन सफल भएको थियो, यो पटक पनि सफल भएको छ । उनको प्रस्तुत कृति श्रीलङ्का, थाइल्याण्ड, म्यान्मा र बङ्गलादेश भ्रमणको क्रममा लेखेको कृति हो । जहाँ किशोरले दक्षिण र दक्षिण पूर्वी एशियाली राष्टूको धर्म(संस्कार, संस्कृति, रहनरहन, चालचलन, भेषभुषा र भू(बनोटलाई तत्स्थानमै रहेर दृश्यावलोकन गरे जस्तो गरेर शब्द विन्यास गरेका छन् । सोही कारण प्राध्यापक डा. गोविन्दराज भट्टराईले यात्राका प्रेमिल तरङ्गहरूमा झैँ १६ पृष्ठ खर्चेका छन् । प्रस्तुत कृति लेखनका साँची विगतमा झैँ यस पटक पनि जनार्दन र उद्धव बनेर आएका छन् । यी दुई पात्र किशोरको यात्रा निबन्धका तीन पुस्ते साथी हुन भन्दा फरक पर्दैन । विमान चढेपछिका यात्रुको परिचय र सहयात्रीको कुराकानी जति रोचक र रमाइलो बनेको थियो तर कोलम्बो पुग्दा त्यो रमाइलो हराइसकेको छ ।
 किशोर आफ्नै देशमा चलेको डरलाग्दो आतङ्कबाट प्रताडित बनेका व्यक्ति थिए । जहाँ पुगे, त्यहाँ पनि सोही अनुभूति सङ्गाल्न पुगेका किशोर वनै पिँडालु घरै पिँडालु बनेका छन् । रातमा कोलम्बो पुगेका किशोर बिहान पाँच बज्न नपाउँदै मृत्युको मुखमा कुन बेला परिन्छ भन्ने चिन्ता र हुण्डरीमा परिसकेका छन् । किशोर ब्ल्याक ब्युटीप्रति सम्मान गर्दै अगाडि बढेका छन् । जहाँ उनीहरू आ(आफ्नो पेसाप्रति प्रतिबद्ध भएको देखाइएको छ । बिना मेहेनत श्रीलङ्कन अरुको दुई पैसा लिन चाहदैनन् भन्ने सन्दर्भ दुम्सी बाको दुम्सी नाचबाट आएका छन् । जहाँ आफ्नो विश्वास र भरोसा हुन्छ त्यसमा हामी सबै आस्थावान् हुनुपर्छ भन्ने कुरा भ्रमणका क्रममा देखेका बौद्ध धर्मावलम्वीको व्यवहार र उनीहरूको आस्थाबाट किशोर प्रभावित भएका छन् । किशोर जहाँ रहे तापनि नेपाल र नेपालीलाई माया गर्ने स्रष्टा साधक हुन् । यो मात्रै होइन उनी अश्लिलता भित्र सालिनता खोज्ने लेखक हुन् त्यसैले नाङ्गै नाङ्गाको जिन्दगीको उमङ्ग र रङ्गलाई नजिकैबाट स्पर्श गरेर पनि उनले आफूलाई शालिन ढङ्गमा प्रस्तुत गरेका मात्रै छैनन् आफूलाई एक पत्निव्रता पतिका रूपमा चिनाएका छन् । उनी आफ्नी पारूलाई पहिराएका हरेक पहिरन रूवि जत्तिकै महत्वपूर्ण ठान्छन् र आदर्श जीवन यापनको एउटा पाठ पढाउन सफल हुन्छन् । प्रस्तुत कृतिको आधोपान्त अध्ययन गरिसक्दा लेख्ने कुराहरू धेरै भेटिन्छन् । भेटिएका सबै कुरा सानो पाठकीय टिप्पणीमा लेख्ने सामथ्र्य चाहेर पनि कसैले गर्न सक्दैन । किनकी, विना प्रतिफल समय खर्च हुन्छ । श्रम खर्च हुन्छ । त्यो मात्रै होइन लामो लेखियो भने प्रकाशक पाइदैन । बडो मुस्किलले प्रकाशक पाइयो, पाठक पाइदैन । यसर्थ समग्रमा प्रस्तुत कृतिमा किशोरले आफूलाई सफल लेखकका रूपमा प्रस्तुत गरेका छन् । प्रस्तुत कृति पढ्नै पर्ने मध्येको एक हो । सोही कारण के भन्न मन सकिन्छ भने, किशोर आफै आफ्नो लेखनले बाँच्ने सामथ्र्य भएका साधक हुन् । महान् दार्शनिक चाणक्यले पनि भनेका छन्,
स्वयं कर्म करोत्यात्मा स्वयं तत्फलम्श्नुते ।
स्वयं भ्रमति संसारे स्वयं तस्माद्विमुच्यते ।।
प्राणीको आत्मा वा जीवले स्वयं कर्म गर्छ र त्यसको शुभ अशुभ फल पनि आफैँ भोग्दछ, आफैँ संसारमा घुम्दछ र त्यसबाट मुक्त पनि आफैँ हुन्छ । यसर्थ पछिल्लो समय उनी एउटा नथ्थी लगाउने लालसामा छन् । उनलाई त्यो लालसा हुनु स्वभाविक हो तापनि उनको लेखनले उनलाई धेरै आदर्श र सफल लेखकका रूपमा नथ्थी लगाई दिइसकेका छन् । लेखन एउटा कला हो, तर त्यो कला सबैमा समान हुँदैन । किशोर यस्ता अद्भुत कलाले भरिएका पात्र हुन् । किशोरको पहिलो नियात्रा कृतिदेखि अहिले चौथो कृतिसम्म आइपुग्दा उनका नियात्रा उही आकार र संरचना झण्डै तीन सय पृष्ठको हाराहारीमा संरचित छन् । जसबाट सहजै भन्न सकिन्छ, किशोरले एक मिनेट समय र एउटा पूर्ण वाक्य भेटे एउटा बेजोड आलेख तयार गर्न सक्छन् । जुन तथ्यलाई उनले स–प्रमाणसहित पेश गरेका छन् प्रस्तुत कृतिका माध्यमबाट । आयामका हिसाबले उनका यात्रा निबन्ध न्युनतम् छ पृष्ठदेखि अधिकतम् १६ पृष्ठमा संरचित छन् । कृतिमा प्रयोग भएको भाषाशैली सरल, सरस र सहज छ ।
कवितात्मक वान्की लेखनमा भेटिनुले पाठकलाई थप स्वादिष्ट बनाएको पाइन्छ ।
शब्द सिपाहीहरू शब्दलाई नै हतियार बनाएर बाँच्नमा रमाउछन् । यिनै शब्दका सारथि वरिष्ठ साहित्यकार किशोर लेखक हुनु मात्रै होइन । असल मान्छे हुनुको पहिचान बोकेका लेखक हुन् । उनी एउटा खुल्ला विश्वविद्यालय हुन् । विश्वविद्यालयमा पुग्ने हरेक कर्मचारी, प्राध्यापक र विद्यार्थीले त्यो विश्वविद्यालयबाट पर्याप्त ज्ञान आर्जन गर्न सक्छन् । मान्छे हुनुको अर्थ बुझ्न । जीवन जीउनुको सार पत्ता लगाउन । क्षण–क्षण समयको मूल्य चिनाउनका लागि किशार एउटा खुल्ला विश्वविद्यालय हुन् । एउटा विश्वविद्यालयले गर्न नसक्ने काम गरेर आफैलाई विश्वविद्यालयका रूपमा स्थापित गर्न सक्ने किशोर सदा यसरी नै किशोर बनि रहुन् यही शुभकामना ।
विधाः नियात्रा
प्रकाशकः रत्न पुस्तक भण्डार
पृष्ठः ३६+२००=२३६
मूल्यः ३५०।–


Post a Comment

 
Top