0
गोल्डेन न्यूज संवाददाता
तिहार नेपालीहरुको दोस्रो महानपर्व हो। यस पर्वको धार्मिक, वैदिक एवं आयुर्वेदिक रुपमा पनि छुट्टा–छुट्टै महत्व रहेको छ। तिहारलाई विभिन्न संघ–संस्थाले संस्था संचालनका लागि अर्थोपार्जन गर्ने एउटा महत्वपूर्ण अवसरका रुपमा पनि लिन्छन्। देउसी, भैलो एवं विभिन्न ढङ्गले आर्थिक सहयोग संकलन हुन्छन् यो तिहारमा। तिहारमा रकम सङ्कलन गरेर धेरै संघ–संस्थाले रचनात्मक काम काम गरेका छन् भने कतिपयले पिकनिक एवं अन्य मनोरञ्जनात्मक क्रियालापमा खर्च गरेको पाइन्छ। यसैक्रममा पोखरामा रहेका धादिङवासीहरुको छाता संस्था धादिङ–पोखरा सम्पर्क समाजले यस वर्षको तिहारलाई एम्वुलेन्स संचालन गर्ने अवसरका रुपमा लियो। समाजले संचालन गर्ने गरी एम्वुलेन्स खरिद सहयोगार्थ आयोजित देउसीभैलो कार्यक्रम अन्यको तुलनामा निकै पृथक र रोचक रह्यो। समाजका लागि आर्थिक संकलन र एम्वुलेन्स महत्वपूर्ण होला। तर समाजले देउसीभैलोमा पञ्चे÷नौमती बाजा प्रयोग गरेर पोखरेलीको ध्यान खिच्नुका साथै मन समेत जित्न सफल भयो। देउसी भेलोमा विशेषगरी मादल, झ्याली, खैजडी र पछिल्लो पुस्ताले डेक बजाउने गरिएपनि समाजले पञ्चेबाजा बजायो। पञ्चेबाजा÷नौमति बाजा  बजाउने पनि धादिङ खाल्टेका ब्राम्हण १२÷१५ वर्षका युवाहरु थिए। यी युवाहरुका पञ्चेबाजा र पोखराका चर्चित गायक–गायिकाको लोकदोहोरी गीतमा ननाच्ने र समाजलाई सहयोग नगर्ने कमै थिए। देउसीमा पञ्चेबाजा बजेपछि कतिपयले गाडीबाट ओर्लेरै आफ्नो मोवाइल तथा क्यामेरामा भिडियो तथा तस्वीर कैद गरेका थिए ।
समाजले यस कार्यक्रमबाट ९ लाख भन्दा बढी रुपैयाँ संकलन गर्न सफल भएको छ। कार्यक्रममा समाजका अध्यक्ष युवराज खतिवडा र निवर्तमान कार्यसमिति सदस्य गुञ्जमान तामाङले जनही १ लाख रुपैयाँ भन्दा बढी सहयोग गरेका थिए। धादिङ समाजले यसअघि पनि देउसीभैलो कार्यक्रम आयोजना गर्ने जमर्को नगरेको होइन तर विभिन्न कारणले सफल हुन सकेको थिएन। तर यसपटक नयाँ नेतृत्व पायो र नयाँ नेतृत्वको पहिलो कार्यक्रम अन्तर्गत नै देउसीभैलो कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।
समाजले आयोजना गरेको देउसीभैलो कार्यक्रमले महत्वपूर्ण आर्थिक सङ्कलनका साथै लोक संस्कृति जगेर्नामा महत्वपूर्ण टेवा पुगेको समाजका अध्यक्ष युवराज खतिवडा दावी गर्दछन् । ‘खोल्टे एक विकट गाउँका युवाहरुले थालेको पञ्चेबाजा संरक्षण अभियान निकै चर्चामा छ, त्यो पञ्चेबाजाले पोखरेलीको पनि मन जित्न सफल भएको छ’, समाजका अध्यक्ष खतिवडा भन्छन्–‘देउसीभैलो कार्यक्रम गरिब, दिनदुखी र असाह्यका लागि एम्वुलेन्स महत्वपूर्ण हो, यसका लोक, संस्कृति र मौलिक परम्परा संरक्षण गर्नुका साथै खाल्टे धादिङका १२÷१५ वर्षका युवाको पञ्चेबाजा संरक्षण अभियानमा समेत महत्वपूर्ण टेवा पुगेको छ।’
उनले अबको ३ महिनाभित्र समाजले एम्वुलेन्स संचालन गर्ने बताए। समाजले पहिलोपटक आयोजना गरेको देउसीभैलो कार्यक्रम सोचेभन्दा बढी सफल भएको अध्यक्ष खतिवडाले बताए। उनले भने–‘समाजको वर्तमान कार्यसमितिमा अधिकांश युवा छन्, युवाको नयाँ र तातो जोशले कार्यक्रम सफलता पूर्वक सम्पन्न भयो, यसले छिट्टै एम्वुलेन्स संचालन हुन्छ।’ समाजका हालै निर्वाचित नेतृत्वप्रति धेरैको आशा र भरोषा रहेकाले यो टीमले नयाँ रचनात्मक काम गर्दै अघि बढ्ने उनले स्पष्ट पारे। अध्यक्ष खतिवडाले भने–‘पोखरामा करिब ४० हजार धादिङवासी रहेको दावी गरिन्छ तर धादिङ समाजले सोचे अनुरुप काम गर्न नसकेका कारणले पनि यो नेतृत्वप्रति धेरैको भरोषा रहेको छ।’ समग्र धादिङवासीलाई एकजुट बनाएर रचनात्मक काममा आफू लागिपर्ने उनले बताए। समाजको आफ्नै जग्गामा भवन, संस्थाको वेवसाइट र स्मारिका प्रकाशन, सहकारी संचालन आफ्नो कार्यकालको मुख्य योजना रहेको अध्यक्ष खतिवडाले स्पष्ट पारे। समाजको वर्तमान कार्यसमितिमा अधिकांश युवा रहेका छन्। समाजका यो टीमलाई अवसर भन्दा चुनौती बढी महसूस गरिएपनि देउसीभैलो कार्यक्रमले नयाँ टीमलाई हौसला बढाइएको छ। एक दिनको तयारीले कार्यक्रम सफल भएको दावी गर्छन् समाजका महासचिव एवं पत्रकार हरि पन्त। उनले भने–‘सुरुमा देउसीभैलामा पञ्चेवाजा समावेश गरेकोमा समाजकै केही व्यक्तिले विरोध गरेका थिए तर कार्यक्रमले सफलता पाउँदै र सबैको ध्यान केन्द्रित गर्दै जान थालेपछि तिनै व्यक्ति कार्यक्रममा सहभागी भएर नाच्नुका साथै आर्थिक सहयोग समेत गरेका थिए।’ छोटो समयको तयारीले पनि देउसीभैलो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छिट्टै समाजले एम्वुलेन्स संचालन गर्ने उनले बताए ।
समाजका सबै पदाधिकारी एवं सदस्यहरुको महत्वपूर्ण सहयोगले देउसीभैलो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको कार्यक्रम संयोजक एवं कार्यसमिति सदस्य माधव लम्सालले बताए। ‘समाजको यो टीम केही नयाँ र रचनात्मक काम गर्ने जोसका साथ अघि बढेको छ । देउसीभैलो कार्यक्रम टीमको नयाँ र पहिलो कार्यक्रम हो। कार्यक्रमले थप उर्जा प्रदान गरेको छ, यसले अन्य काम पनि सहजतापूर्वक गर्न सकिन्छ भन्ने विश्वास बढेको छ’–संयोजक लसालले भने।
२०५५ सालमा स्थापित समाजले रक्तदान, जिल्लामा छात्रवृत्ति वितरण, पोखरामा रहेका धादिङवासीको समस्या समाधान लगायतका रचनात्मक काममा सक्रिय हुँदै आएकोमा अब एम्वुलेन्स संचालन गरेर थप रचनात्मक सामाजिक कार्यको थालनी हुनेछ। समाजका अग्रज एवं पूर्व अध्यक्ष कृष्ण कुमार श्रेष्ठ भन्छन्–‘यसअघि समाजले पुरानो कार्यलाई निरन्तरता दिन पनि धौ–धौ थियो, यसपटक नयाँ टीमले देउसीभैलो कार्यक्रम गरेर एम्वुलेन्सनै संचालन गर्ने जमर्को गरेपछि हामीहरु सबै तवरले सहयोग गर्न तत्पर छौं, यो युवा टीमप्रति सबैको भरोषा पनि छ।’ देउसी भैलो जस्तै अन्य रचनात्मक काममा आफ्नो प्रतिवद्धता अनुरुप टीम अघि बढे सबैको सहयोग पाउने उनको विश्वास छ।
समाजका निवर्तमान वरिष्ठ उपाध्यक्ष एवं सल्लाहकार गोकर्ण लम्सालले काम गर्ने दौरानमा कोही कसैको चित्त नबुझेमा सबैलाई चित्त बुझ्ने गरि काम गरेर नयाँ टीमले देखाउनुपर्नेमा जोड दिए। उनले भने–‘सामाजिक संस्थामा बसेर कसैको चित्त दुखाउन हुँदैन, यहि कसैको चित्त दुखेमा मिलाएर अघि बढ्न नेतृत्व अग्रसर हुनुपर्छ।’ समाजको नयाँ नेतृत्वले थालनी गरेको पहिलो नयाँ कार्यक्रम रचनात्मक रहेकाले सबैको भावनात्मक सहयोग रहेको उनले बताए। धादिङ–पोखरा सम्पर्क समाज पोखराका अन्य समाजहरु भन्दा बढी क्रियाशील संस्था हो। धादिङ समाजकै अगुवाइमा केही वर्ष अघि अन्तरसमाज महासंघ राष्ट्रिय समिति गठन भइ हालसम्म क्रियाशील छ। समितिमा ५० बढी जिल्लाका समितिहरु आवद्ध भइसकेका छन्। धादिङ समाजमा ७ वटा उप–इकाइ समितिहरु समेत क्रियाशील छ। समाजमा हाल करिब ७०० आजीवन तथा एक हजार बढी साधारण सदस्य आवद्ध छन्।



Post a Comment

 
Top