0
शिक्षकले कक्षामा जाँदा पूर्वतयारी गर्नु उनीहरूको नियमित दायित्व भएपनि मुलुकका अधिकांश विद्यालयमा त्यस अभ्यासको निरन्तरता छैन । खाली हात कक्षामा गएका शिक्षकसँग उसको ज्ञान र अनुभव त होला तर शैक्षिक सामग्रीबिना उसको शिक्षण विषय केन्द्रित नहुन सक्छ । शिक्षक तालिममा शिक्षकले प्राप्त गरेको सीपलाई सहीरुपमा प्रयोग गर्ने हो भने शिक्षकले पाठ्यक्रम, पाठ्यपुस्तकबमोजिम दैनिक पाठयोजना बनाएर शैक्षिक सामग्रीसहित कक्षाकोठामा जानुपर्नेमा शिक्षा नियमावली र विद्यालय क्षेत्र सुधार कार्यक्रमले बोलेपनि त्यसको पालना नहुँदा शैक्षिकस्तर खस्केको पाइएको अवस्थामा जिल्लामा ‘एक शिक्षक, एक झोला’ कार्यक्रम अभियानकै रुपमा कार्यान्वयन भएको छ, जसका कारण विद्यार्थीको सिकाइ प्रभावकारी हुन थालेको छ ।  गोरखाको कालिका अमरज्योति प्रावि, रातमाटेका कक्षा ५ का विद्यार्थी सगुन श्रेष्ठ पहिले पहिले जस्तो शिक्षकहरू खाली हात कक्षा कोठामा आउने क्रम अन्त्य भएको र उहाँहरूले अनिवार्य झोला लिएर आउँदा आफूहरूलाई सिक्न सजिलो भएको बताए। “सबै शिक्षकले तयारी गरेर कक्षामा आउने गर्नुहुन्छ, झोलामा कापी, सिसाकलम, डायरी र पुस्तक बोकेर आउनुहुन्छ”, श्रेष्ठले भने । शिक्षकले घरमा पूर्वतयारी गरेर भोलिपल्ट विद्यालय जाने गरेका छन् ।

सो विद्यालयका प्रधानाध्यापक तिलक काप्रीले जिल्ला शिक्षा कार्यालयको निर्देशनबमोजिम आफूहरूले ‘एक शिक्षक, एक झोला’ कार्यक्रमलाई निरन्तरता दिएको र यसले सकारात्मक प्रभाव परेको बताए । उनले शिक्षकले नियमित तयारी गरे नगरेको बारेमा विद्यालय निरीक्षक र स्रोत व्यक्तिबाट अनुगमन हुने गरेको बताए। पाटदेवी मावि, बोर्लाङका शिक्षक सन्तोष पोखरेल पनि विद्यालयमा आफूहरूसँग हुने झोलाका सामग्रीलाई आवश्यकता अनुसार प्रयोग गरिने र यसले खासगरी तल्लो तहका विद्यार्थीलाई सिकाउन बढी उपयोगी हुने बताउछन् । “रित्तै जानु र झोला लिएर जानुमा फरक छ, विद्यार्थीको उत्साह झोला लिएर जाने शिक्षकमा हुँदोरहेछ ।” यो कार्यक्रम बागलुङमा पनि लागू भएको छ । जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदीले ‘एक शिक्षक, एक झोला’ कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गर्न गत वर्ष निर्देशन दिएको र सिकाइ सुधारबारे सबै शिक्षक र अभिभावकलाई आफूले पत्राचार गरेका थिए । ‘एक शिक्षक, एक झोला’ कार्यक्रमपछिको नयाँ शैक्षिक सत्रको पहिलो त्रैमासिकको शैक्षिक उपलब्धिको विश्लेषण भइरहेको र प्रारम्भिक निचोडमा त्यसको सकारात्मक प्रभाव परेको पाइएको बताए ।  हाल जिल्लामा ४४९ विद्यालयमा २,६२३ शिक्षक छन् ।  जिल्लामा भूकम्पले ध्वस्त भएकामध्ये २५० विद्यालय पुनःनिर्माणका लागि अझै रकमको सुनिश्चितता नभएको भन्दै सुवेदीले त्यसका लागि शिक्षा मन्त्रालय र अर्थ मन्त्रालयमा पटक–पटक आग्रह गरिएको बताए।  कालिका अमरज्योति प्रावि, रातमाटेमा हालै खाल्सा एडको सहयोगमा नयाँ पाँचकोठे भवन हस्तान्तरण भएको थियो । सुवेदीले भने–“पूर्वाधार विकास पनि हाम्रो प्राथमिकता हो, तर भवन हुँदा मात्र सिकाइ स्तर सुध्रने होइन, शिक्षकले राम्रोसँग पढाएनन् र विद्यार्थीले बुझेनन् भने भोलिका कर्णधारले रोजगार नपाएर खाडीतिर जानुपर्ने बाध्यता हुन्छ, त्यसैले शैक्षिक गुणस्तर सुधारमा पनि उत्तिकै जोड दिएका छौँ ।” रासस




Post a Comment

 
Top