0
गोल्डेन न्यूज संवाददाता
क्याप्टेन अलेक्जेन्डर म्याक्सिमोभ अल्ट्रालाइट उडान भर्दै माछापुच्छ«्रे हिमालनजिकै पुगेका थिए। पर्यटकलाई हिमाली क्षेत्रको दृश्यावलोकन गराउँदै अन्नपूर्ण क्षेत्रमाथि उड्ने क्रममा अचानक उनको आँखा कालो मुस्लोमा गयो। एकछिन अघिसम्म सफा र सेतो बादलले ढाकिएको हिमालछेउ कालो मुस्लो मडारिएको देखेपछि उनी सतर्क भए। अस्वाभाविक किसिमले देखिएको त्यो मुस्लो हिमपहिरोका कारण उठेको ठहर गर्दै उनले तुरुन्तै पोखरा विमानस्थलको टावरमा सम्पर्क गरे। भने,–‘हिमपहिरोले सेतीमा ठूलो बाढी आउँदैछ। यो २०६९ वैशाख २३ गते बिहानको घटना हो। ‘चारैतिर हेर्दै उडिरहेको थिएँ,’ म्याक्सिमोभले भनेका थिए, ‘एकाएक माछापुच्छ्रे क्षेत्रमा पहिरो देखेँ, तुरुन्तै त्यहाँबाट बायाँ घुमेर सुरक्षित स्थानमा आइपुगेपछि विमानस्थल टावरलाई खबर गरेँ।’ त्यस दिन म्याक्सिमोभ बाट प्राप्त अग्रिम सूचना विमानस्थलको रेडियो टावर हुँदै प्रहरी, जिल्ला प्रशासन र स्थानीय एफएम रेडियो स्टेसनसम्म पुग्यो।
हिमपहिरोका कारण सेती नदीमा बाढी आएको खबर आगोसरि जिल्ला र देशैभरि फैलियो। खबर सुन्नेबित्तिकै सेतीको तल्लो तटमा बसेका र बालुवा चाल्ने काम गरिरहेकाहरू अग्ला स्थानतर्फ गए। सरकारले पनि आपतमा परेकाहरूको उद्धार निम्ति सशस्त्र, प्रहरी लगायतको आकस्मिक टोली तुरुन्तै घटनास्थलमा खटायो। त्यस दिन अन्नपूर्ण चौथोको दक्षिणी भागबाट पहाडको सिंगो खण्ड नै खसेको थियो। हिउँ र चट्टानसहितको पहिरोले सेती नदीमा ठूलो बाढी ल्याएको थियो। त्यही बाढीको अग्रिम सूचना दिएर सयौंको ज्यान जोगाएका ६५ वर्षीय म्याक्सिमोभको अल्ट्रालाइट उडानकै क्रममा दुर्घटना भई बुधबार निधन भएको छ। उनले दिएको सूचनाकै आधारमा सेती नदीको तटीय क्षेत्रमा बसोबास र काम गर्ने लगभग हजार जनालाई त्यस दिन सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको थियो। बिनासूचना बाढी आएको भए उनीहरूको ज्यान जोगाउन मुश्किल पर्ने स्थानीय बताउँछन्। यति हुँदाहुँदै सेती नदीको माथिलो भागमा पर्ने खारापानी क्षेत्रमा ५० जनाभन्दा बढीको ज्यान गएको थियो। आकाशमा उड्दा–उड्दै कालो मुस्लो देखेर म्याक्सिमोभले जसरी सुझबुझपूर्ण निर्णय लिए, त्यसले सयौंको ज्यान जोगियो,’ सेती बाढीको कारण पत्ता लगाउने अनुसन्धानकर्ता श्रीकमल द्विवेदीले भने–‘त्यतिबेला म्याक्सिमोभले खिचेको भिडियोले पनि हामीलाई सेती बाढीको कारण निर्क्यौल गर्न सघाएको थियो। म्याक्सिमोभ बुधबार कास्कीको चापाकोट गाविस, बाम्दीस्थित एभिया क्लबको आफ्नै मैदानबाट उडानमा निस्केका थिए। ह्यान्ड ग्लाइडिङलाई तानेर उडाउने क्रममा डोरी चुँडिएर विमानले सन्तुलन गुमाएपछि खेतमा बजारिएको थियो। म्याक्सिमोभको घटनास्थलमै निधन भयो। घाइते भएका क्यानेडियन पर्यटकको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ। रसियन पाइलट म्याक्सिमोभ यस्ता व्यक्ति थिए, जो नेपालमा जन्मे–हुर्केका नभए पनि नेपाल र नेपालीलाई औधी माया गर्थे। १४ वर्षदेखि पोखरामा बसेर अल्ट्रालाइट उडाउँदै आएका उनी अनुभवी पाइलटमध्ये गनिन्थे। आखिरमा उनको निधन पनि आफैंले चलाएको अल्ट्रलाइट जहाज दुर्घटनामै भयो। पोखराको पर्यटन प्रवर्द्धनमा पनि म्याक्सिमोभको ठूलो योगदान रहेको स्थानीय व्यवसायी बताउँछन्। पोखरामै बसेर अल्ट्रालाइट उडाउनुका अतिरिक्त पाइलट उत्पादनमा पनि उनको योगदान थियो। उनले सिकाएका केही पाइलटले पोखरामा अल्ट्रालाइट उडाउँदै आएका छन्। सरकारले पाइटलको उमेरहद ६० वर्षबाट बढाएपछि उनी फेरि काममा फर्किएका थिए। अहिले अल्ट्रालाइट उडाउन सरकारले ६७ वर्षको उमेरहद तोकेको छ। उनी निकै राम्रा पाइलट थिए,’ फिस्टेल अल्ट्रालाइटका पाइलट अंकित बोहोराले भने, ‘लामो समयदेखिको अनुभव भएका म्याक्सिमोभबाट हामीले धेरै सिकेका थियौं।’ म्याक्सिमोभले नेपालमा ‘एसेम्बल’ गरिएको पहिलो जहाज ‘डाँफे’ को सफल उडान गरेका थिए। पोखराका युवा वैज्ञानिक विकास पराजुली नेतृत्वको टोलीले निर्माण गरेको डाँफे जहाजलाई उनैले पोखराको आकाशमा उडाएका हुन्। उनले पोखरा विमानस्थलमा १५ फिट माथिसम्म उडाएर नेपाली जहाजको परीक्षण उडान सफल बनाएका थिए।



Post a Comment

 
Top