0
मुस्ताङका पेमा छेतेनलाई अहिलेसम्म जोमसोमदेखि पोखरासम्म जहाजमा उडेको चार हजार छ सय ३० रुपैंया तिर्नु परेको थिएन । दशैं अघिदेखि भने सेड्युल फ्लाईटमा टिकट नपाउनेले पेमा जस्तै दोब्बर तिरेर पोखरा उड्नुपर्ने बाध्यता छ । हाल पोखरादेखि जोमसोमका लागि ताराले एउटा र सिम्रिकले दैनिक तीन वटा नियमित उडानको अनुमति लिएको छ । गोमा एयरको नियमित उडान नभएपनि कहिलेकाँही उडान भर्दै आएको छ । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाईन्सको जोमसोममा कार्यालय मात्र छ, विमान छैन । जहाजको नियमित उडानमा तोकिएको मूल्यमै टिकट बिक्री गर्नुपर्ने हुन्छ । दैनिक चार उडान अपुग हुने हुँदा तारा र सिम्रिकले नियमित उडानका अतिरिक्त चार्टर उडान पनि गर्दै आएका छन् । जोखिमपूर्ण हिमालपारीको जिल्लामा उडान सुरक्षाका कारण मध्यान्ह १२ बजेभित्र सबै उडान सम्पन्न गरिसक्नुपर्ने बाध्यता छ ।

पहिलो उडान बाहेक अतिरिक्त उडानको  एउटै यात्रुले दोब्बर भाडा तिर्नुपर्ने अवस्था रहेको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र विमान कम्पनीको सहमतिमा जोमसोम–पोखराको भाडादर २२ सय ९० कायम गरिएको भएता पनि यहाँ संचालित एयरलाइन्सले तोकिएको भाडादरको दोब्बर भाडा पु¥याएका हुन् । पोखरा र जोमसोम रुटको उडानमा चार भाडादर कायम गरिएको छ। हवाई सेवा व्यवस्थापन समितिका अनुसार सेड्युल फ्लाईटमा नेपालीको लागि २२ सय ९०, लोकल प्यासेन्जर चार्टर (एलपिसी) ४६ सय ३० रुपैयाँ, भारतीयका लागि ६९ सय ५० रुपैयाँ र तेस्रो मुलुकका नागरिकले १ सय १० डलर तिर्दै आएका छन् ।  एयरलाईन्सले निकटका चिनजानलाई सहुलियत दरको टिकट बाँड्ने गरेको कारण नियमित उडानको टिकट पनि सुलभ ढंगले नपाएको आरोप स्थानीयको छ । ‘नियमित उडनामा टिकट नपाउने, त्यस बाहेकको उडानमा एलपिसी अनुसार दोब्बर भाडादर तिर्नुपर्दा मर्कामा परेका छौं । अहिलेसम्म यसरी दोब्बर तिर्नुपरेको थाहा थिएन’–एक स्थानीयले नाम नबताउने शर्तमा भने । जोमसोमका व्यवसायी, स्थानीय, पत्रकार कोहि पनि खुलेर मनोमानी तबरले वृद्धि भएको भाडादरको विषयमा कुरा गर्न सक्दैनन् । मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेश अधिकारी रहँदासम्म भाडा वृद्धि नभएको र भीमराज पोखरेल आउने बित्तिकै भाडा वृद्धि भएको स्थानीयको बुझाई छ । जिल्ला प्रशासनले कार्यालयका लागि दुई सिट राखेर अन्य सिटको भाडा बढाउन अनुमति दिएको उनीहरु बताउँछन् । तर प्रजिअ पोखरेलले भने यो आरोपलाई ठाडै अस्विकार गर्छन् ।

‘म आएपछि भाडा बढेको होईन । एयरलाईन्सको भाडामा बदमासी छ । भिआईपी हरुको लागि ८० सिटमा २ सिट भनिएको हो । यसलाई गलत तबरले स्थानीयमाझ फैलिएको छ । अहिले सिडिओ, डिएसपी, कर्णेल साबलाई भनेर हौवा फैलाईएछ । मलाई बदनाम गरिएको हो’, पोखरेलले भने– ‘स्थानीयबाट अहिलेसम्म मलाई ज्ञापन पत्र समेत आएको छैन । उनीहरु वृद्धि गरिएको भाडादरमा असन्तुष्ट भए नभएको मैले कसरी थाहा पाउने ? मलाई ज्ञापनपत्र समेत बुझाएपनि सहज हुने थियो । उनले नेपाल एयरलाईन्सको उडान नभएपछि भिआईपी तथा कर्मचारीलाई विभिन्न गोष्ठी सेमिनारमा पोखरा तथा काठमाडांै तत्काल जानु पर्दा निजहरुको आवगमन व्यवस्थापन गर्न एयरलाइन्सलाई प्रशासनबाट समन्वय गरी दैनिक २÷२ वटा सहुलियत सिट दिन अनुरोध गरेको बताए । तर, यही कारण बनाएर विमान कम्पनीले भाडा वृद्धिका लागि जिल्ला प्रशासन संग कुनै समन्वय नभएको बताए । भाडादर वृद्धि र मनपरी भाडा लिएको बारे दुई पटकसम्म पत्र पठाएर जवाफ मागे पनि विमान कम्पनीले वास्ता नगरेको भन्दै उनले दोस्रो पटक पत्र बुझाउन पनि प्रहरी नै लगाउनुपरेको सुनाए । ‘आन्तरिक व्यवस्था कस्तो छ ? पर्यटन मन्त्रालयसँग कस्तो सम्झौता हो ? सहुलियत टिकट सर्वसाधारणले पाउने कसरी ? विदेशीमात्रलाई टिकट दिए सर्वसाधारण कसरी चढ्ने ? लगायतका विभिन्न विषयमा लेखेर नै पठाएको छु । जवाफ आएन । सरासर अपारदर्शी छ ।’ उनले भने– ‘टिकट समेत दिँदैन । बोर्डर पास मात्र दिन्छ । उड्ने १० १५ मिनेटअघि मात्र टिकट खुल्छ । अब पनि भएन भने राष्ट्रिय अनुसन्धान, पर्यटन मन्त्रालयसम्म म पुग्छु ।’ –एजेन्सी





Post a Comment

 
Top