0
गोल्डेन न्यूज संवाददाता
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको टोली आइतबार अबेर नेपाल आइपुग्दैछ । र, सोमबारबाट नेपाल सल्लाहकार समितिको बैठक बोलाइएको छ । नेपाल क्रिकेट संघको विधानको मस्यौदा गर्न बनेको सल्लाहकार समितिले अझै काम गर्न सकेको छैन । समितिको टीओरआरमा नेपाली पक्षले असन्तुष्टि जनाएपछि छलफलका लागि आईसीसीले इमरान ख्वाना र अमर शेखलाई नेपाल पठाएको छ । सल्लाहकार समितिका सदस्य दीपक कोइरालाका अनुसार भोलि र पर्सी बैठक भनेर खबर आएको छ । बैठकमा नेपाली पक्षले सल्लाहकार समितिको कार्य्विधिलाई एजेण्डा बनाउने तयारी गरेको छ । आईसीसीका सीईओ डेभिड रिचार्डसनको नेपाल भ्रमणका क्रममा भएको समझदारी अनुसार समितिको कार्य्विधि नतोकिएको नेपाली पक्षको गुनासो छ । राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव केशव विष्टले भने, ‘सल्लाहकार समिति के के गर्ने हो ? कसरी गर्ने केही भनिएको छैन । यसबारे प्रष्ट हुन चाहन्छौं ।’ आईसीसीले सदस्यहरुलाई चाहेको बेला हटाउन सक्ने प्रावधान राखेकोमा सदस्यहरु असन्तुष्ट छन् । साथै आईसीसीले अमर शेखले संयोजन गर्ने भनेपनि उनी बैठकका लागि मात्र नेपाल आउने भन्दै नेतृत्व नेपाली पक्षले नै गर्नु पर्ने माग राखेको छ । रिचर्डसनको नेपाल भ्रमणका क्रममा क्रिकेट बोर्ड गठन गर्ने सहमति भएपनि सल्लाहकार समिति गठन गरेपछि पठाएको पत्रमा त्यसबारे केही उल्लेख नगरिएको सदस्य सचिव विष्टले बताए । विष्टका अनुसार यदि क्रिकेट बोर्ड गठन गर्न समय लाग्ने भए नयाँ निर्वाचन गरेर जाने बाटोबारे पनि छलफल गर्न सकिनेछ ।




Post a Comment

 
Top