0
गोल्डेन न्यूज संवाददाता
युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले पर्यटकीय नगरी पोखरालाई खेलकुद नगरीको रूपमा विकास गरिने बताएका छन् । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल  (नेसनल प्याव्सन) कास्कीको आयोजनामा मंगलबारदेखि पोखरा रङ्गशालामा सुरु भएको ११औं  नेसनल प्याप्सन खेलकुद महोत्सवको उद्घाटन गर्दै उनले पोखरामा अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाइने बताए। खेलकुदको विकासका लागि देशव्यापी रूपमा खेल अभियान सुरु गरिने र यसक्रममा १३ वर्षभन्दा मुनिका बालबालिकालाई खेलप्रति आकर्षित गर्न उपराष्ट्रपति कप खेलकुद प्रतियोगिता सञ्चालन गरिने जानकारी दिए। उनले शैक्षिक पाठ्यक्रममा खेलकुदलाई पनि जोड्नुपर्नेमा जोड दिए।  उनले भने–‘म तपाईहरुका माझ यहिबाट उद्घोष गर्छु कि छिट्टै नै ती वालवालिकालाई खेल क्षेत्रमा भित्र्याउनका लागि छिट्टै नै उपराष्ट्रपति चिल्डेन रनिङ शिल्ड प्रतियोगिता गर्नेछांै।’ मन्त्री श्रीपालीले खेलकुद क्षेत्र भित्रको विकृति–विसंगति र अराजकतालाई अन्त्य गर्ने मेरो पहिलो काम हुने बताए । उनले भने–‘दिशाहिन तिर जान लागेको खेल क्षेत्रलाई नितिगत र भौतिकतहबाट नै असल प्रशिक्षक र असल खेलाडी उत्पादन गर्न म लाग्ने छु।’ शिक्षाको क्षेत्रमा खेलकुदलाई जोडिनुपर्नेमा जोड दिंदै उनले खेलाडी उत्पादन गर्ने पहिले स्टेप भनेकै विद्यालय भएको स्पष्ट पारे । उनले भने–‘अब शैक्षिक पाठ्यक्रमा पनि खेलकुदलाई जोडिनु पर्दछ, यो सवैको साझा माग हो। कार्यक्रममा एन प्याब्सानका केन्द्रीय अध्यक्ष कर्णबहादुर शाहीले खेलकुदको माध्यमबाट सबैलाई जोड्न सकिने बताए । उनले विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्न विद्यालयले अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै जानुपर्नेमा जोड दिए । कार्यक्रममा जिल्ला शिक्षा कार्यालय कास्कीका सहायक जिल्ला शिक्षा अधिकारी हेमनारयण चापागाईले एन प्याब्सनले शैक्षिक क्षेत्रमा उल्लेखनिय काम गरेको बताउँदै कार्यलय सहकार्य गरेर अघि वढ्ने तयार रहेको उल्लेख गरे। कार्यक्रममा हिसान कास्कीका अध्यक्ष वावुराम पन्त, ज्ञानबहादुर कार्कीले पनि खेलकूदको महत्वमाथि प्रकाश पारेका थिए ।  एन प्याब्सान कास्कीका अध्यक्ष रामबहादुर मोचीको अध्यक्षतामा भएको कार्यक्रममा द्वितीय उपाध्यक्ष केशवशरण पौडेलले स्वागत र सचिव मनकाजी गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रममा एन प्याब्सनमा आवद्व विद्यालयहरुका विद्यार्थीहले मार्च पास, जिम्नाष्टिक प्रदर्शन गर्नुको साथै विविध साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।  प्रतियोगिताको उद्घाटन संगै भएको छात्रतर्फको बास्केटबल प्रतियोतिामा अक्सफोर्ड स्कूल, हार्वड एकेडेमी र गोर्खा बोर्डिङ स्कूल विजय भएका छन् भने छात्रा तर्फ अक्सफोर्ड स्कूल, हावर्ड एकेडेमी र गोर्खा बोर्डिङ स्कूल विजयी भए। मार्च पास तफ गोर्खा बोर्डिङ स्कुल प्रथम कास्की मोर्डनाइज्ड एकेडेमी द्वतीय युर्निभर्स बोर्डिङ स्कूल तृतीय  र त्रिवेणी पब्लिक मावि सान्त्वना भए। यस्तै १५ हजार मिटर छात्र दौडतर्फ वीरेन्द्र मेमोरियलका साजल कार्की प्रथम, कास्की मोर्डनाइज्डका सुजन गुरुङ द्वितीय र त्रिवेणी पब्लिकका मानिष वाग्ले तृतीय भए। छात्रा तर्फ ज्याभलिन थ्रोमा साईनिङ स्टारकी इलिना परियार प्रथम, कास्की मोर्डनाइज्ड की ऋतु पुन द्वितीय र मर्निङग्लोरीकी सरिना गिरी तृतीय भईन् भने छात्र तर्फ सटपुटमा हार्वड एकेडेमीका लक्ष्मण बर्देवा प्रथम, कास्की मोर्डनाइज्डका रविन गुरुङ द्वितीय र युनिभर्स बोर्डिङ स्कूलका आसिक सुनार तृतीय भए। भलिबल छात्रतर्फ  हार्वड एकेडेमी, बिरेन्द्र ममोरीयल, फेवा बोर्डिङ स्कूल, डायमण्ड स्कूल, मर्निङग्लोरी, सनराईज प्रिपाराटोरी, चिल्ड्रेन्स एकेडेमी, सिद्विविनायक बोर्डिङ स्कूल, अञ्जुली बोर्डिङ, कास्की मोर्डनाइज्ड र हिलसाइड बोर्डिङ विजयी भए। छात्रा ह्याण्डबलतर्फ न्यू ग्यालेक्सी, हार्वड एकेडेमी र त्रिवेणी पब्लिक विजयी भएको प्रचार–प्रसार उपसमिति संयोजक प्रेमराज अधिकारीले जानकारी दिए।



Post a Comment

 
Top