0
काङ्ग्रेसको भातृ सङ्घ तरुण दलको यही महिनाको अन्तिम साता महाधिवेशन हुँदैछ । विभिन्न पदका लागि उम्मेदवारी घोषणा पनि जारी छ । तीमध्ये एक हुन्, डडेल्धुराका काङ्ग्रेस सभापति कर्ण मल्ल । उनी तरुण दलको सभापतिका लागि उम्मेदवार हुँदैछन् । डडेल्धुरामा काङ्ग्रेस सभापति शेरबहादुर देउवाले उठाएको उम्मेदवारविरुद्ध उठेर सभापति जितेका थिए उनले । त्यसकारण उनी चर्चामा आए, त्यसबेला । देउवा प्रधानमन्त्री हुँदा स्वकीय सचिव भएर पनि काम गरेका थिए। तरुण दलको सभापति बन्न चाहने मल्लले आफ्नो एजेन्डा यसरी पस्केका छन् । तरुण दलको चौथो महाधिवेशन यही महिनाको अन्तिमतिर पोखरामा हुँदैछ । यसका लागि म अध्यक्षका लागि तयारीमा छु । तरुण दल नेपाली काङ्ग्रेसको भातृ सङ्गठन हो । यसको इतिहास लामो छ । २०१० सालमा स्थापना भएको दरुण दलले यो देशको राजनीतिक परिवर्तनमा धेरै योगदान दिएको छ। यस्तो गौरवशाली सङ्गठनको सदस्य भएकाले म आफूलाई पनि गौरवान्तित सम्झन्छु । यस्तो राजनीतिक सङ्गठनको महाधिवेशन मा म आफूलाई अध्यक्षका लागि उभ्याउन थालेको छु । यति लामो इतिहास बोकेको तरुण दल नेपाली काङ्ग्रेसको भातृ सङ्गठन हो । काङ्ग्रेससँग अहिले ८ लाख पार्टी सदस्य छन् । तर त्यसको सबैभन्दा सशक्त भातृ सङ्गठन दरुण दलमा २० हजार सदस्य छन् । यो विडम्बना नै हो । मैले यो महाधिवेशनमा अध्यक्षको दाबी त्यतिकै गरेको हैन । मसँग सङ्गठन अगाडि बढाउने एजेन्डा छन् । अहिले देशमा १८ देखि ४० वर्षसम्मका ९६ लाख युवाहरु छन् । यी युवाहरुको सपना छन् । कैयौँ रोजगार, कैयौँ अर्ध रोजगार र कैयौं बेरोजगार छन् । रोजगारीको खोजीमा विदेशिने युवाहरु पनि त्यति नै छन् । यी सबैको भाग्य भविष्य जोडिने भनेको देशसँग नै हो । युवाहरुको प्यारो सङ्गठन तरुण दलको अध्यक्षको दाबेदार बनिरहँदा मसँग केही ऐजेन्डा छन् । ती म अध्यक्ष भएपछि सङ्गठनमा लागू गराउने छु ।
१. अहिले तरुण दलमा दुई किसमको सदस्यता छ । म अध्यक्ष भएपछि एउटै बनाउने छु । अहिले साधारण र पूर्णकालीन छन् । पछि सबै पूर्णकालीन बनाउने छु ।
२. तरुण दलको सदस्यता फारम अनलाइनबाट भराउने गराउने छु । सधैँ सदस्यता विवाद हुन्छ । अनलाइनमा भरेपछि पारदर्शी हुन्छ । कसैले कसैलाई आरोप लगाउन पाउँदैनन ।
३. म अध्यक्ष भएपछि तरुण दलमा भएका २० हजार सदस्यबाट दस लाख सदस्य बनाउने छु । तर यसमा राजनीति गर्ने र शुभचिन्तकहरुको वर्गीकरण गर्ने प्रणाली बसाल्ने छु । जीविकोपार्जनमा लागेका र पूर्ण बेरोजगारको पनि वर्गीकरण गर्ने छु ।
४. कमजोर आर्थिक अवस्था भएका तर तरुण दलका सदस्यहरुलाई सङ्गठनको तर्फबाट सहयोगको व्यवस्था गर्ने छु । नेपाली युवाहरुलाई लाओसको मोडेल र दक्षिण भारतको मोडेलमा स्वरोजगारमा लगाउने नीति बनाउन सङ्गठन र राज्य दुवै ठाउँमा पहल गर्ने छु । यसबाट तरुण दलका सदस्यहरु आत्मनिर्भर बन्ने छन् ।
५. दस लाख तरुण दलका सदस्यहरुबाट दैनिक एक रुपियाँका दरले तरुण दलको खातामा जम्मा गराउने छु । यो अति महत्वकाङ्क्षी लागे पनि हरेक तरुणले दैनिक एक रुपियाँ सङ्गठनलाई दिन कुनै समस्या पदैन । यसरी जम्मा भएको कोषले गरिब बिपन्न नागरिकलाई सहयोग गर्ने छु । यो देशमा गरिब विपन्नले आश्वसन मात्र पाउँछन् म अध्यक्ष भएपछि तत्काल सहयोग गर्नेछु ।
६. देशका युवाहरुमा नैतिक संस्कारको कमी आएको छ । यसलाई सुधार्नु अहिलेको आवश्यकता छ । तरुण दलका सदस्यहरुबाट नैतिकवान संस्कारयुक्त बनाउन सुरु गर्ने छु । यो देश धर्म संस्कृतिले भरीपूर्ण छ । यसको रक्षा गर्नु हामी युवाहरुको कर्तव्य हो । यो पनि गराउने छु ।
७. केही समयपछि स्थानीय तहको निर्वाचन हँुदै छ । त्यसका लागि युवाहरु चाहिन्छन् । युवाहरुले मतदातालाई निर्वाचनमा भाग लिन सहयोग गर्ने गरी एक बुथ १०१ युथको अवधारणा अनुसार देशभरी तरुण दलका सदस्यहरु परिचालन गराउने छु ।
८. नेपाल राष्ट्र बैङ्कबाट इजाजत लिँदा हरेक प्राइभेट बैङ्कले गाउँमा १० प्रतिशत कृषिमा लगानी लगाउने नियम छ । तर अहिलेसम्म कुनै पनि बैङ्कले त्यो गरेको देखिँदैन । यो काम गराउन सकारकारलाई दबाब दिने छु ।
तरुण दलको वैचारिक आधार
तरुण दल नेपाली काङ्ग्रेसको भातृ सङ्गठन हो । यसले पार्टीले ल्याएको विचारलाई जनस्तरमा लागू गर्ने हो । यसले आफै विचार निर्माण गर्ने होइन । तर अहिले देशमा बेरोजगारीको समस्या धेरै छ । यसलाई समस्या समाधान गर्ने गरी योजनाहरु ल्याउनुपर्छ । पढेलेखेका युवाहरुलाई नोकरी खोज्ने बनाउने होइन कि नोकरी दिनेलायक बनाउनु पर्छ । यसका लागि राज्यले युवाहरुलाई पढाइको साथसाथै योजना बनाउन सक्ने बनाउनुपर्छ । यस्ता खालका योजना ल्याउन पार्टीसँग बहस गर्ने छु ।
म माओवादीको कम्युनबाट प्रभावित भएर रोल्पा पुगेको थिएँ । जुन त्यो सममया अति नै प्रभावित भएको थिएँ । यही मोडेल इजरायलमा पनि छ । शब्द जे राखे पनि यो मोडेलमा जाने हो भने धेरै युवाहरुलाई स्वदेशमा नै रोजगार दिन सकिन्छ । त्यसकारण म यो मोडेल तरुण दलमा लागू गर्ने प्रतिबद्धता जनाउँछु । यसको नाम कम्युन राखौँ या नराखौँ तर यो काम म गरेर छोड्ने छु ।
विचार भनेको जनताको जीवनसँग जोडिएको हुनुपर्छ । अहिले काङ्ग्रेसलाई बीपीको विचार छोडेको आरोप लागेको छ । हो, बीपीको विचार हुबहु काङ्ग्रेसले लागू गर्न सकेको छैन । तर पार्टी समृद्ध नेपालका लागि लागिरहेको छ । पार्टीको विचारलाई जनस्तरमा पुगाउने काम भातृ सङ्गठनको हो ।
म विचारको राजनीतिमा विश्वास गर्छु । त्यही भएर अन्य राजनीतिक दलका युवा सङ्गठनहरुसँग पनि देश विकासका लागि सहकार्य गरेर जाने छु । आरोप प्रत्यारोपको राजनीति होइन । सहकार्यको राजनीतिको जग बसाल्ने छु । यो सङ्गठनको अध्यक्ष हुनलाई साथीहरु पनि आकाङ्क्षी हुन सक्नु होला । तर मैले सङ्गठनमा काम गरेको धेरै भयो । बालकृष्ण खाँड दाइको नेतृत्वमा रहेर काम गरेको हुँ । पछिल्लो समयमा डडेल्धुरा जिल्लाको पार्टी सभापति भएर पनि काम गरेको अनुभव छ । म तरुण दलको अध्यक्ष हुने वित्तिकै पार्टी सभापति छोड्ने छु ।मैले जति कुरामा प्रतिबद्धता जनाएको छु, त्यो काम गर्न सकिन भने एक वर्षमा राजीनामा दिने छु ।

Post a Comment

 
Top