0
गोल्डेन न्यूज संवाददाता
अख्तियार प्रमुख लोकमान सिँह कार्की विरुद्ध संसदमा पेश गरिएको महाअभियोग प्रस्तावका पक्षमा मतदान गर्न सभासदहरुलाई आग्रह गर्दे कास्कीमा संकलित हस्ताक्षर व्यवथापिका संसदमा पठाईएको छ । मंगलबार जिल्ला प्रशासन कार्यलय पोखरामा एक कार्यक्रमका बीच शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराका अध्यक्ष ढाकाराम पौडेलले सहायक प्रमुख जिल्ला अधिकारी झलकराम सुवेदीलाई सो हस्ताक्षर सहितको ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका छन् । ध्यानाकर्षण पत्रमा सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीले नागरिक समाजको कदमको प्रशंसा गर्दै संकलित हस्ताक्षरलाई आफुले सम्बन्धित निकाय समक्ष पुर्याउने प्रतिवद्धता व्यक्त गरे । ध्यानाकर्षण पत्रमा अख्तियार प्रमुखले संवैधानिक क्षेत्राधिकार उल्लंघन गर्नु लोकतान्त्रिक मुल्य र मान्यता विपरित भएकोले महाअभियोग प्रस्तावको समर्थन गर्न र लोकतन्त्रको विधिसम्मत प्रक्रियालाई आत्मसात गर्दै विधिको शासन अनुरुप मुलुकलाई अघि बढाउन माननीय सांसद ज्यूहरुलाई आग्रह गरिएको कुरा उल्लेख गरिएको छ । शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराका अध्यक्ष ढाकाराम पौडेल, इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यलय पोखराका क्षेत्रीय संयोजक एवम् सञ्जालका महासचिव शिव खकुरेल, सञ्जालका सदस्य श्याम कुँवर, युवा संजालका अध्यक्ष लक्ष्मण आचार्य, महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष जानकी शर्मा, मानव अधिकार एलाईन्सका अध्यक्ष रामचन्द्र पौडेल, मानव अधिकार रक्षक संरक्षक र प्रर्वद्धन केन्द्रका अध्यक्ष सरला कुमारी पाण्डे, महिला मानव अधिकार रक्षक सञ्जालका सचिव कल्पना भण्डारी, एकल महिला समुह कास्कीका सचिव जुना केसी लगायतले ध्यानाकर्षण पत्रमा हस्ताक्षर गरेका थिए । शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराको आयोजनामा कात्तिक ८ गते पोखरामा संकलन गरिएको हस्ताक्षरमा विभिन्न राजनीतिक दलका नेता, मानव अधिकारकर्मी, नागरिक समाजका प्रतिनिधि, कानून व्यवसायी, विभिन्न संघ संस्थाका प्रतिनिधि, विद्यार्थी एवम् सर्वसाधारणहरुले सहभागिता रहेको थियो ।







Post a Comment

 
Top