0
गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानरपालिकालाई नगर प्रोफाइल र आवधिक योजना बनाएर मात्रै विकासका आयोजनामा लगानी गर्न सामाजिक परीक्षक र नगरवासीहरुले सुझाव दिएका छन् । नगर प्रोफाइल र आवधिक योजना विना हचुवाको भरमा विकास आयोजना सञ्चालन गर्दा बजेट मात्रै खर्च भएको र त्यसबाट आसातित उपलब्धि हाँसिल हुन नसकेको सुझाव पनि सामाजिक परीक्षण प्रारम्भिक प्रतिवेदनमा  दिइएको छ । कार्तिक १८ गते सम्पन्न आव ०७२÷०७३ को सामाजिक परीक्षणको प्रारम्भिक प्रतिवेदन प्रस्तुत तथा छलफल कार्यक्रममा पुरानैशैली र हचुवाको भरमा बार्षिक नीति तथा कार्यक्रम तय हुने गरेको कारण धेरै योजनाहरु कार्यन्वयन हुन नसकेको निश्कर्ष पनि प्रस्तुत गरिएको थियो । पोखरा उपमहानगरपालिकाल गत आव ०७२÷०७३ मा सञ्चालन गरेको कूल ५९१ योजना मध्ये ८२ प्रतिशत मात्रै कार्य सम्पन्न भएको छ । त्यसैगरी विकास आयोजनाको लागि विनियोजन गरेको कूल बजेट ३८ करोड ५१ लाख मध्ये ६६ प्रतिशत मात्रै खर्च हुन सकेको छ । कार्यक्रममा बोल्दै पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुंगानाले सामाजिक परीक्षणबाट औल्याइएका कमी कमजोरीहरुलाई तत्काल सुधार्न प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे।  तरंग प्रालिले गरेको सामाजिक परीक्षणमा विज्ञ शारदा प्रसाद न्यौपानेले प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा नगरपालिकाले सम्पादन गर्दै आएको कामको स्पष्ट अभिलेख राख्नु पर्ने, अनुगमनलाई प्रभावकारी बनाउनु पर्ने, जनशक्तिको क्षमता अभिवृद्धि एवं वृत्ति विकासमा ध्यान दिनुपर्ने, करार र अस्थायी कर्मचारीको व्यवस्थापन गर्नु पर्ने, योजनाहरुको समयमा सम्झौता र कार्यन्वयनमा ध्यान दिनुपर्ने, पूरानो पेश्की पछ्र्यौटमा पहल गर्नुपर्ने, उपभोक्ता समितिलाई तालिम दिनुपर्ने, लक्षितवर्ग कार्यक्रमको लागि विनियोजन, कार्यान्वयन, अनुगमन र प्रतिफल वितरणमा सहभागितात्मक पद्धतिको सुनिश्चित गर्नुपर्ने, सूचना केन्द्रको उचित व्यवस्थापन गरि नगरपालिकाबाट सम्पादन भएका कार्यहरुको तथ्याङ्कहरु एकिकृत गरिनु पर्ने लगायतका सुझावहरु दिइएको छ ।
 
यसैगरी सामाजिक परीक्षण प्रारम्भिक प्रतिवेदनमा पोखरा उपमहानगरपालिकाका राम्रा पक्षहरु पनि औल्याइएको छ । जसमा २९ वडामा वडा नागरिक मञ्च र नागरिक सचेतना केन्द्र गठन भएको, टोल विकास संस्थाको सूचिकृत तथा नविकरणलाई निरन्तरता दिई टोल विकास संस्था सूचिकृत हुनुको साथै थप ८० वटा टोल विकास संस्थाको गठन भई जम्मा ४४९वटा पुगेको, नियमित रुपमा सार्वजनिक सुनुवाइ, सार्वजनिक परीक्षण र सामाजिक परिक्षण जस्ता पारदर्शिताका काम भएको, २९ वटा वडा कार्यालयहरुमा क्षतिपूर्ति सहितको नागरिक बडापत्रको व्यवस्था गरिएको, ५ लाखभन्दा बढीका आयोजनामा होर्डिङ वोर्ड अनिवार्य गरिएको, उपभोक्ता समितिले सार्वजनिक परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको, आयोजनाको आय–व्यय विवरण विभिन्न सञ्चारका माध्यमवाट सार्वजनिक गर्ने व्यवस्था गरिएको आदि रहेका छन् ।
 
त्यसैगरी नगरपालिका क्षेत्रको सार्वजनिक, पर्ती, ऐलानी जग्गा पहिचान गरी नम्बर सहित रेकर्ड राख्ने कार्य भएको, पेश्की बाँकी रहेका १४५ व्यक्ति तथा संघसंस्थाहरुलाई स्पष्टिकरण सहित पत्राचार गरी  ५० जनाभन्दा बढीबाट ५ करोड ४४ लाख रुपैयाँ पूरानो पेश्की पछ्र्यौट गर्न सफल भएको, नगरपालिकाका पदाधिकारीहरुको आचारसंहिता निर्माण भई लागू भएको साथै कार्यलयमा टाँस गरि सार्वजनिक गरिएको, विपद व्यवस्थापन कोषको स्थापना गरिएको , पोखरा उपमहानगरपालिका भित्र रहेका गैरसरकारी संघसंस्थाहरुको सूचिकृत गरी संस्थाहरुले नगरपालिकामा कार्यक्रम पेश गरी स्वीकृत गराउनुपर्ने व्यवस्था गरिएको, वडा नम्बर १७ मा रहेको ७२ रोपनी सार्वजनिक जग्गालाई नगरपालिकाको स्वामित्वमा ल्याई पार्क बनाउने काम भैरहेको, पोखराको २९ ओटै वडालाई प्लाष्टिक झोला मुक्त वडा घोषणा गरिएको लगायतका  विषयमा पोखरा उपमहानगरपालिकाल राम्रो काम गरेको कुरा पनि प्रतिवेदनमा समावेश गरिएको छ । कार्यक्रममा सहभागीको तर्फबाट भनाई राख्दै नागरिक समाज पोखराका अध्यक्ष रामबहादुुर पौडेलले प्रतिवेदनले औल्याएका कुरालाई ध्यान दिई पोखरा उपमहानगरपालिकाले आगामी नीति र कार्यक्रम तर्जुमा गर्नुपर्ने बताउनुभएको थियो ।कार्यक्रममा तरङ्ग प्रालिका प्रबन्ध निर्देशक हिमनिधि लौडारी, पत्रकार तथा सामाजिक परीक्षक कमल पौडेल अथक, पोखरा उपमहानगरपालिकका बरिष्ठ अधिकृत ओमराज पौडेल, प्रशासन विभाग प्रमुख अनन्तप्रसाद कोइराला, सहभागीहरु चन्द्रबहादुर गुरुङ्ग, धनन्जय पौडेल लगायतले पनि आफ्ना भनाई व्यक्त गरेका थिए ।

Post a Comment

 
Top