0
गोल्डेन न्यूज संवाददाता
पोखरा २४ कार्तिक ।
नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलको महाधिवेशनको तयारी तीव्र पारिएको छ। महाधिवेशन यहि कार्तिक २७, २८ र २९ गते पोखरामा हुँदैछ। यसअघि पटक–पटक मिति तय भएर पनि स्थगित हुँदै आएको महाधिवेशन मंगलबार नेपाली कांग्रेसले गठन गरेको निर्देशक समितिले महाधिवेशनको प्रक्रिया अघि बढाउने निर्णय गरेपछि बुधबारदेखि नै पोखरामा महाधिवेशनको चहल–पहल बढेको छ । महाधिवशेनको प्रचार–प्रसारका लागि पोखरा र लेखनाथको विभिन्न स्थानमा करिब ३ हजार तरुण दलको झण्डा राखिने र १४ वटा स्वागतद्वार निर्माण गरिने महाधिवेशनको स्थानीय प्रचार–प्रसार उप–समितिका संयोजक प्रेमलाल पुनले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए ।

 महाधिवेशनको प्रचार–प्रसारका लागि पोखरास्थित सबैजसो रेडियोमा समेत सूचना प्रसारण गर्न थालिएको छ । महाधिवेशनमा देशभरबाट करिब १ हजार ४ सय प्रतिनिधिका साथै अन्य कार्यकर्ता सहभागी हुने स्थानीय व्यवस्थापन संयोजक एवं तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङले बताए । उनका अनुसार चुनावी महाधिवेशन भएकाले उम्मेदवार बन्ने दलका नेताहरुले आफ्ना शुभचिन्तक र समर्थकहरु समेत लिएर पोखरा आउने भएकाले बाहिरबाट आउनेहरुको संख्या थप २ हजार पुग्ने अनुमान छ । महाधिवेशनको उद्घाटन नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम छ। उद्घाटन समारोह लगायत महाधिवेशनको गतिविधि मा सरिक हुन पार्टीका सबैजसो नेताहरु र सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरु पोखरा आउने भएका छन् । 

पार्टीका सभापति देउवालाई नेपाल राष्ट्रबैंकको गेष्ट हाउसमा बस्ने व्यवस्था गरिएको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेललाई होटल ग्राण्डमा र पार्टीका महामन्त्री डा. सशांक कोइरालालाई अतिथि रिसोर्टमा बस्ने व्यवस्था मिलाइएको तरुण दलका केन्द्रीय सदस्य ऋषिराम काप्mलेले बताए । महाधिवेशनको तयारीका लागि पोखराको नयाँ बजारमा महाधिवशन सचिवालय स्थापना गरिएको छ । बुधबार केन्द्रीय समितिको टोलीले समेत सचिवालयमा आएर काम शुरु गरेको छ ।
 
यसैबीच महाधिवेशनका लागि पार्टीद्वारा गठित निर्देशक समितिको बैठक बुधबार साँझ पुनः बसेको छ । कार्तिक २४ गतेसम्म महाधिवेशन प्रतिनिधिको नाम टुङ्गो लगाउने भनिएपनि निर्देशक समितिको बैठक बसिरहेकाले अझै टुङ्गिन नसकेको बताइन्छ । केही जिल्लामा विवाद कायम रहेपनि त्यसलाई न्युनिकरण गर्दै महाधिवेशन सम्पन्न गर्न निर्देशक समितिले प्रयास गरेको छ । यसैबीच पोखरामा हुने नेपाल तरुण दलको चौथो राष्ट्रिय महाधिवेशनलाई लक्षित गरी बुधबार समन्वयात्मक भेला सम्पन्न भएको छ। भेलामा कांग्रेस र तरुण दलको जिल्ला समिति र एकाईका सभापति एवं पदाधिकारीहरुको सहभागी थिए । भेलाले तरुण दलको महाधिवेशनलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न सबै खाले सहयोग गर्ने निर्णय गरेको छ ।
 
भेलामा नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण के.सीले महाधिवेशन को उद्घाटन सत्रमा सवै क्रियाशील सदस्यहरु सहभागि हुने गरी काम गर्न एकाई सभापतिहरुलाई निर्देशन दिए। ‘तरुण दलको महाधिवेशन हामै कास्की जिल्लामा हँुदैछ, यो हाम्रा लागि खुशीको विषय हो’, उनले भने–‘यसलाई भव्य बनाउन पार्टी, भातृ संस्था, शुभेच्छुक सबै लाग्नुपर्छ।’ तरुण दलका केन्द्रीय सदस्य ऋषि काफ्लेले महाधिवेशनले युवा तरुणलाई उत्साहित बनाएको उल्लेख गरे। नेपाल तरुण दल कास्कीका सभापति मनोज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सांसद यज्ञबहादुर थापा, कांग्रेस क्षेत्र नं १ का सभापति बृजमान गुरुङ, क्षेत्र नं ४ का सभापति पोषनाथ शर्मा लगायतले आ–आफ्नो भनाइ राखेको कास्की कांग्रेसका सदस्य नवीन सिग्देलले जानकारी दिए।



Post a Comment

 
Top