0
गोल्डेन न्यूज संवाददाता
पोखरा उप–महानगर पालिकालाई प्लाष्टिकका झोला र गिलास निषेधित क्षेत्र घोषणा गरिएको छ। बुधवार आयोजित कार्यक्रमका बीच संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदारवहादुर अधिकारीले पोखरालाई प्लाष्टिकका झोला र गिलास निषेधित नगर घोषणा गरेका हुन् । पोखरालाई प्लाष्टिक झोला र गिलास निषेधित नगर घोषणा गर्दै सचिव अधिकारीले कार्यन्वयन का लागि नागरिक आफै सचेत हुनुपर्ने बताए । उनले सरकार र नगरपालिका एक्लैले केहिपनि गर्न नसक्ने भएकाले टोलविकास संस्था, नागरिक समाज, राजनीतिक दल तथा नीजि क्षेत्र सबैको सहयोग आवश्यक पर्ने बताए। उनले प्रदुशित बन्दै गएको शहरी क्षेत्रको सफाइका लागि घरदेखि शहर सफाई अभियान सञ्चालन गर्नुपर्ने खाचो औल्याए । नगरवासीले आफ्नो जीवनशैली परिवर्तन गरे घोषणा कार्यन्वयनमा समस्या नपर्ने अधिकारीले बताए ।पोखरा उपमहानगरपालिकाका २९ वटै वडालाई प्लाष्टिक झोला र गिलास निषेधित क्षेत्र घोषणा गरिसकिएपछि सम्पूर्ण उप–महानगरपालिकालाईनै निषेधित क्षेत्र घोषणा गरिएको हो । यो सँगै पोखरा उप महानगरपालिका भित्र अब प्लाष्टिकका झोला तथा गिलास प्रयोग गरे कार्वाही हुनेछ ।
 
यसअघि कालो प्लाष्टिक झोलाको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै पोखरालाई २०६७ साउन १ गते कालो प्लाष्टिकको झोला निषेधित क्षेत्र घोषणा गरिएको थियो । पोखरालाई प्लाष्टिक झोला मुक्त नगर घोषणा गर्ने २०७० सालदेखिको तयारी तीन बर्षपछि पूरा भएको हो । उपमहानगरपालिकाका तत्कालिन कार्यकारी अधिकृत झलकराम अधिकारीले यो अभियानको सुरुवात गरेका थिए । घोषणा कार्यान्वयन का लागि बिहीवारबाट बजारमा अनुगमन टोली परिचालन गरिने र निषेधित बस्तु फेला पारेमा स्थानीय स्वयत्त शासन ऐन अनुसार कार्वाही गर्ने उपमहानगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुङ्गानाले बताए । उनका अनुसार निषेधित बस्तु प्रयोग गरेको पाइएमा कसुरको मात्रा हेरेर पाँच देखि १५ हजार सम्म जरिवाना हुनेछ ।
पोखरा भित्रने मुख्य नाकामा पनि चेकजाँचमा कडाई गर्ने नगरपालिकाले जनाएको छ । पृथ्बी राजमार्ग अन्तर्गत विजयपुर, भूपी सेरचन राजमार्ग अन्तर्गत फेदी र सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जाको सीमा क्षेत्रमा अनुगमन गरिनेछ । पोखराका पसलहरुमा पनि कडाइको साथ अनुगमन गरिने नगरपालिकाका नगर प्रहरी प्रमुख बसन्त चालिसेले बताए । घोषणा कार्यक्रममा क्षेत्रीय प्रशासक खगराज बरालले पोखराको सौन्दर्यता जोगाउनको लागि पनि सरसफाईमा विशेष ध्यान दिनुपर्ने उल्लेख गरे । उनले स्वास्थ्य जीवन यापनका लागि पनि प्लाष्टिकजन्य पदार्थको कम प्रयोग गर्न सुझाव दिए। पोखरा उप–महानगरपालिकाका पूर्व कार्यकारी अधिकृत समेत रहेका यातायात ब्यवस्था कार्यालय गण्डकीका प्रमुख तिलक पौडेलले जीवन शैली परिवर्तन गर्न नगरवासीलाई सुझाए । कालो प्लाष्टिक झोला निषेध गरी आफूले सुरु गरेको अभियान सम्पूर्ण प्लाष्टिक झोला र गिलास निषेध सम्म पुगेकोमा उनले खुसी ब्यक्त गरे । पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले प्रत्येक मानिसको जीवनका दैनिकी प्लाष्टिकका समानसँग जोडिएकाले यसको विकल्पमा पनि ध्यान दिनुपर्ने बताए । पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले प्लाष्टिक झोला र गिलास निषेध पछि अनुगमनको नाममा ब्यवसायीलाई आतंकित पर्ने काम नगर्न आग्रह गरे । नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले नागरिक स्तरबाट घोषणा कार्यन्वयनको लागि प्रतिबद्ध रहेको स्पष्ट पारे । वातावरणमैत्री पोखरा बनाउन नगरिक समाज सधंै तयार रहेको उनले बताए । टोल विकास संस्था नगर समन्वय समिति पोखराका अध्यक्ष उज्वल खत्री, नागरिक निगरानी समुह पोखराकी अञ्जु केसी लगायतले नगरपालिकाको अभियानमा सधै साथ दिने प्रतिबद्धता जनाए । नगरपालिकाका इन्जिनियर महेन्द्र गोदारले प्लाष्टिकको प्रयोगले मानव स्वास्थ्य र वाताबरणमा पार्ने प्रभाव बारे जानकारी गराएका थिए । कार्यक्रममा उप–महानगरपालिकाका वरिष्ठ अधिकृत ओमराज पौडेल, योजना महाशाखा प्रमुख इन्जिनियर शारदा मोहन काफ्ले लगायतले बोलेका थिए । कार्यक्रम अघि पोखराको चिप्लेढुङ्गाबाट निकालिएको र्याली सभागृहमा पुगेर टुङ्गिएको थियो । र्यालीमा टोल विकास संस्था, आमा समुह, अन्य विभिन्न सामाजिक संस्था, स्कुलका विद्यार्थी लगायतको सहभागीता थियो ।
 
यसैबीच  प्लाष्टिकका झोला र गिलास निषेधित क्षेत्र घोषणा कार्यक्रममा पोखरा उप–महानगरपालिकाका सबै कर्मचारी सहभागी भएपछि बुधबार नगरपालिका कार्यालयबाट हुने सबै नियमित काम ठप्प बन्न पुग्यो। पोखरामा प्लाष्टिकका झोला तथा गिलास निषेध हुन्छ र त्यसका लागि औपचारिक कार्यक्रम समेत गरिन्छ भन्ने जानकारी गराइएपनि  नपाको सबै काम नै रोकिन्छ भन्ने जानकारी कहिं कतै गराइएको थिएन। आफ्नो कामका लागि १० बजे नै कार्यालयमा नपाका सयौं सेवाग्राहीहरु काम नहुने भएपछि कतिपय निराश हुँदै त कतिपय रिसाउँदै फर्किन बाध्य भएका थिए । आफ्नो कामका लागि २ दिनसम्म नपाको कार्यालय धाएका कास्की पुम्दी–भुम्दीका एक सेवाग्राही रिसाउँदै भन्छन्–‘काम नहुने भए जानकारी गराउनु पथ्र्यो । म हिजो (मंगलबार) पनि आएको थिएँ तर आज (बुधबार) काम हुँदैन भन्ने कुनै जानकारी थिएन । पुम्दीदेखि आउँदा मेरो समय र पैसा दुवै वर्वाद भयो ।’ ‘एउटा काम हुँदा सयौंको काम नै चौपट हुने यो कस्तो सुशासन ?’–उनको प्रश्न थियो । १० बजे नपाको कार्यालय पुगेका सेवाग्राहीलाई कार्यालयका  कर्मचारीले ‘आज हामी कार्यक्रममा जानुपर्छ, आज तपाइँको काम हुँदैन भोलि आउन्स्’ भन्दै फर्काएका थिए । कार्यक्रम १ बजे सकिएको भएपनि १ बजेपछि पनि नपाको कार्यालयमा काम हुन सक्थ्यो तर काम भएन । दिनको १ः३० बजेतिर कार्यक्रमबाट कार्यालयमा आएका कर्मचारीहरु काममा नलागि घामको पार तापेर चिया गफमा मस्त देखिन्थे ।



Post a Comment

 
Top