0
गोल्डेन न्यूज संवाददाता
पोखरा र काठमाडौंका विभिन्न स्थानलाई जोड्ने क्रममा अब पोखरादेखि काठमाडौंको चावहिल हुँदै एयरपोर्टबाट तीनकुनेसम्म सिधा बस सेवा सुरु हुने भएको छ । पोखरामा रहेको शुभ अधिकारी ट्राभल्सले मंसिर ६ गतेदेखि सञ्चालन हुने गरी नयाँ सेवा विस्तार गर्न लागेको हो । पृथ्बी राजमार्ग बस सञ्चालक समिति अन्तर्गत सञ्चालनमा आउने बस पोखराबाट काठमाडौंको चावहिल, गौशाला, एयरपोर्ट हँुदै तीनकुने सम्म पुग्नेछ । ३१ सिट क्षमताको स्तरीय डिलक्स बस पोखराको हल्लचोकबाट विहान सवा ८ बजे तथा पर्यटन बसपार्कबाट विहान साढे ८ बजे छुट्नेछ । बसको भाडादर प्रतियात्रु पाँच सय रुपैयाँ तोकिएको छ । बसमा आरामदायी सिट सहित पत्रपत्रिका, मिनरल वाटर, फ्रि वाईफाई तथा एलईडी टेलिभिजनको सुविधा रहेको सञ्चालक टिकारम अधिकारीले जानकारी दिए ।
बुधवार पत्रकार सम्मेलन गरी बस सेवाको बारेमा जानकारी दिइएको हो । अधिकारीका अनुसार शुभ अधिकारी ट्राभल्स मार्फत अहिले ९ वटा बसले सेवा दिइरहेका छन् । अहिलेसम्म झण्डै साढे ४ करोड लगानी भएको उनले जानकारी दिए । पोखरा सहित आसपासको क्षेत्रबाट पशुपति मन्दिर दर्शनको लागि जाने र एयरपोर्ट तर्फ जाने यात्रुलाई लक्षित गरी नयाँ सेवा सुरु गरिएको हो । पृथ्बी राजमार्ग बस सञ्चालक समिति अन्तर्गत अहिले दक्षिण एशियाकै उत्कृष्ट बसहरु सञ्चालनमा छन् । यात्रुको सुविधाका लागि मिनी वार सहितको बस तथा शौचालयको सुविधा सहितको बसको साथमा अन्य स्तरीय बसहरु सञ्चालनमा ल्याइएको समितिका महासचिव योगेन्द्र बहादुर केसीले बताए । समितिमा हाल विभिन्न प्रकृतिका १२ सय ५० गाडीहरु आबद्ध छन् । पछिल्लो समय एउटा शहर र अर्को शहरका विभिन्न स्थानलाई समेत जोड्नेगरी बस सेवा संचालन हुने क्रम बढेको छ। यसअघि पोखरादेखि काठमाडौं को कोटेश्वर हँुदै भक्तपुरसम्म सिधा बस सेवा सञ्चालनमा आएको थियो ।








Post a Comment

 
Top