0
गोल्डेन न्यूज संवाददाता
युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल) न्यूरोड पोखरा र लायन्स क्लब अफ तनहुँ शुक्ला गण्डकी टाउनको संयुक्त आयोजनामा तनहुँको सेतीगंगा सामुदायिक अस्पताल बेलचौतारामा मधुमेह तथा मृगौला सम्बन्धी निःशुल्क रक्त एवं पिसाव परीक्षण हुने भएको छ । विश्व मधुमेह दिवसको अवसरमा आगामी शनिबार शिविर हुन लागेको युआरएलका प्रवन्ध निर्देशक ठाकुरप्रसाद पन्तले जानकारी दिए । सो अवसरमा सचेतना कार्यक्रम समेत हुने उनले बताए । सामाजिक उत्तरदायित्व बहन गर्दै शिविर आयोजना गरिएको हो । युआरएलले यस अगाडि विभिन्न स्थानमा २६ वटा निःशुल्क शिविर गरिसकेको अध्यक्ष चेतबहादुर गुरुङले जानकारी दिए । तनहुँमा आयोजित शिविरमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ युरोलोजिष्ट डा. ध्रुवबहादुर अधिकारीले मृगौला रोग सम्बन्धी सचेतना प्रदान गर्नेछन् । शिविरबाट खैरेनी, दुलेगौंडा, बेलचौतारा, ढोरफिर्दी, भिमाद लगायत आसपासका क्षेत्रका बासिन्दालाई प्रत्यक्ष टेवा पुग्ने लायन्स क्लब अफ तनहुँ शुक्ला गण्डकी टाउनका अध्यक्ष दुर्गा श्रेष्ठले जानकारी दिए । शिविरमा १५ जना प्राविधिकहरुले रक्त परीक्षण गर्नेछन् । उक्त अवसरमा अन्य रोगको समेत विशेष छुटमा परीक्षण गरिने प्रवन्ध निर्देशक पन्तले जानकारी दिए । युआरले हालसम्म आयोजना गरेका शिविरहरुबाट १३ हजार भन्दा बढी लाभान्वित भइसकेको पन्तले बताए ।

Post a Comment

 
Top