0
गोल्डेन न्यूज संवाददाता
तरुण दलको महाधिवेशनमा क्रममा पोखरामै रहेका नेपाली कांग्रेसका युवा नेता एवं स्वास्थ्यमन्त्री गगन थापाले कांग्रेस नेतृ सुजाता कोइरालालाई ५० लाख रुपैयाँ उपचार खर्च दिने मन्त्रिपरिषदको निर्णयको विरोध गरेका छन् । दुई पटकसम्म मन्त्रिपरिषद बैठक स्थगन गरेर आफू काठमाडौंमै नभएका बेला झुक्याएर प्रधानमन्त्रीले यस्तो निर्णय गरेको भन्दै मन्त्री थापाले आपत्ति जनाए ।  यस्तो निर्णयले राज्य स्रोतको चरम दुरुपयोगलाई निरन्तरता दिनुका साथै अनियमतितालाई संस्थागत गर्ने बाटो खोलेको मन्त्री थापाले बताए । मन्त्रिपरिषदको आइतबारको बैठकले पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेकी कोइरालालाई ५० लाख उपचार खर्च दिने निर्णय गरेपछि स्वास्थ्यमन्त्री थापा रुष्ट बनेका हुन् । आइतबार स्वास्थ्यमन्त्री थापा पोखरामा भएको मौका पारेर बसेको बैठकले कार्यसूचीमा रहेको कार्यविधिलाई थन्क्याएर सुजातालाई ५० लाख दिने निर्णय गरेको हो । कांग्रेस नेता समेत रहेका स्वास्थ्यमन्त्री थापा आइतबारको मन्त्रिपरिषद बैठकमा अनुपस्थित थिए । उनी कांग्रेसको युवा संगठन तरुण दलको महाअधिवेशनका क्रममा पोखरामा भएका बेला सरकारले सुजातालाई ५० लाख रुपैयाँ दिएको हो । आफूलाई स्तन क्यान्सर लागेको भन्दै कोइरालाले सरकारसँग एक करोड मागेकी थिइन् । र, कांग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री विमलेन्द्रको दबावमा उनलाई सरकारले आइतबार ५० लाख उपचार खर्च दिने निर्णय गरेको हो । स्वास्थ्यमन्त्री थापाले यसअघि उपचार खर्च बाँड्ने कार्यलाई अव्यवस्थित बनाउनका लागि कार्य्विधि बनाएका थिए । सो कार्यविधि मन्त्रिपरिषदमा पेश भइसकेको थियो । तर, प्रधानमन्त्रीकै कारण दुईपटकसम्म मन्त्रिपरिषद बैठक सारिएका कारण थापाले पेश गरेको कार्यविधि पारित हुन सकेको थिएन । सरकारको निर्णयमा तीव्र असन्तुष्टि जनाउँदै स्वाथ्यमन्त्री थापाले भने–‘बैठकको कार्यसूचीमा परिसकेको उपचार खर्चसम्बन्धी कार्यविधिलाई तामेलीमा राखेर गरिएको यो निर्णय प्रक्रियाका हिसाबले पनि र कामका हिसाबले पनि गलत छ । यो दर्भाग्यपूर्ण निर्णय हो । यो पुरानै एवं गलत कार्यशैलीको निरन्तरता हो । स्वास्थ्यमन्त्री थापाले यसरी उपचार खर्च दिने निर्णयमा आफ्नो विरोध रहेको बताए । आफ्नो मन्त्रालयमा अहिले उपचार खर्च माग गर्दै करिब १ हजार ५ सय बढी निवेदन परेको भन्दै थापाले भने, मसँग हजारौं निवेदनहरु छन्, म पनि त्यसलाई अब प्रधानमन्त्री कहाँ लिएर जान्छु र के गर्नु हुँदोरहेछ हेर्छु ।’

Post a Comment

 
Top