0
गोल्डेन न्यूज संवाददाता
भारतीय राष्ट्रपति प्रणव मुखर्जी तीन दिने नेपाल भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् । राष्ट्रपति मुखर्जी शुक्रबार साँझ विशेष विमानमार्फत भारत फर्केका हुन् । भारतीय राष्ट्रपति मुखर्जीलाई बिदाई गर्न राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, संवैधानिक निकायका प्रमुखहरु, मन्त्रिगणलगायत विमानस्थल पुगेका थिए । शुक्रबार पोखरा र जनकपुरको भ्रमण पश्चात सिधा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका राष्ट्रपति मुखर्जीलाई बिदाई गर्न राष्ट्रपति भण्डारी मुखर्जीभन्दा अगाडि पुगेकी थिइन् । बिदाई भेटमा सबैसँग हार्दिकताका साथ नमस्कार गरी हात मिलाएका राष्ट्रपति मुखर्जीले प्रधानमन्त्री दाहालसँग भने अंकमाल गरि बिदा भएका थिए । बुधबार ६० सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै काठमाडौँ आएका मुखर्जी विभिन्न औपचारिक कार्यक्रममा सरिक भई शुक्रबार स्वदेश फर्केका हुन्।
तीन दिने राजकीय भ्रमणको अन्तिम दिन राष्ट्रपति मुखर्जी जनकपुर हुँदै पोखरा आएका हुन् । उनलाई पोखरा विमानस्थलमा पुग्दा संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डे, क्षेत्रीय प्रशासक खगराज बराल, नेपाली सेनाका पश्चिम पृतनापति जगदीशचन्द्र पोखरेल, कास्कीका प्रजिअ हरि प्रसाद मैनाली, पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुङ्गाना लगायतले पोखरा स्थित सुरक्षा निकायका प्रमुखहरुले स्वागत गरेका थिए । विमानस्थल बाहिर नागरिक स्तरबाट विभिन्न जातजातिको बाजागाजा र झाकी सहित मुखर्जीको स्वागत गरिएको थियो ।
भारतीय भूपूगोर्खा सैनिकको कार्यक्रममा सहभागी हुन आएका मुखर्जी करिब २ घण्टा पोखरा बसेर फर्किएका हुन् । पोखरा आएलगत्तै उनी पोखरा–१७ बिरौटास्थित  पोखरा ग्राण्ड होटल गएका थिए । उनले त्यहाँ दिवा भोज गरेर केहीबेर आराम समेत गरेका थिए । त्यसपछि मुखर्जी पोखराको रामबजार स्थित भारतीय पेन्सन क्याम्पमा आयोजित भू.पू.गोर्खा सैनिकको कार्यक्रममा सहभागी भएर ठूलो संख्यामा सहभागी भूतपूर्व गोर्खा सैंनिक र उनीहरुका परिवारलाई सम्बोधन गरेका थिए । उक्त अवसरमा बोल्दै भारतीय राष्ट्रपति प्रणव मुखर्जीले भारतको सुरक्षामा गोर्खा सैनिकले पु¥याएको योगदानको प्रशंसा गरे । राष्ट्रपति मुखर्जीले पछिल्लो दुई सय बर्षदेखि गोर्खा सैनिकले पु¥याउँदै आएको योगदान प्रशंसनीय भएको स्पष्ट पारे । गोर्खा सैनिकले भारतीय सेनामा असाधारण वीरता प्रदर्शन गरेको उनले उल्लेख गरे । भारतीय सेनाको सुप्रिम कमाण्डर समेत रहेका राष्ट्रपति मुखर्जीले हाल ३२ हजार नेपाली भारतीय सेनामा कार्यरत रहेको र झण्डै एक लाख २६ हजार पूर्व सैनिक र तीनका परिवारले पेन्सन सुविधा लिइरहेको जानकारी दिए । पूर्व गोर्खा सैनिकहरु नेपाल र भारत बीचको मित्रताको आधार स्तम्भ भएको मुखर्जीको भनाई छ । उनले भारत सरकारकोतर्फबाट पूर्व सैनिकको कल्याणका लागि कुनैपनि कसर बाँकी नराख्ने समेत विश्वास दिलाए। राष्ट्रपति मुखर्जीले प्राचिन कालदेखि नै नेपाल र भारत बीच घनिष्ठ सामाजिक र सांस्कृतिक सम्बन्ध रहेको उल्लेख गर्दै खुल्ला सीमानाको कारण पनि सबै नागरिक एक अर्को देशमा आवत–जावत गरिरहेको बताए । उनले भने–“हाम्रा वीर सेवानिवृत्त सैनिकले दुई देशको सुरक्षा र विकासमा महत्वपूर्ण योगदान गरेका छन् । भारतीय सेनाका वीर पूर्वसैनिक र उनका आश्रित जनप्रति हामी आभारी छौँ, भारत सरकारका तर्फबाट तपाईंहरुको कुशलताका लागि कल्याणकारी योजना चलाइरहेका छौँ ।”  प्रतिवर्ष लगभग तीन हजार एक सय करोड रुपैयाँ नेपालमा पेन्सन वितरण भइरहेको र चालु आर्थिक वर्षमा लगभग चार हजार करोड नेपाली रुपैयाँ वितरण गर्ने योजना रहेको उनले जानकारी दिए । वृद्ध अवस्थामा भूतपूर्व गोर्खा सैनिकको स्वास्थ्यको ख्याल राख्नका लागि नेपालमा पूर्वसेवारत योगदान स्वास्थ्य योजना लागू गर्नका लागि लगभग एक करोड रुपैयाँ गत वर्ष उपचार सहायताका रुपमा वितरण गरिएको उनले बताए। भारतीय सेनाको सर्वोच्च कमान्डर भएको नाताले पूर्वसैनिकका लागि कल्याणकारी योजना नेपालमा पनि लागू भइरहेको जानकारी दिँदै राष्ट्रपति मुखर्जीले ‘वन रेन्क वन पेन्सन’ अनुसार ३१ डिसेम्बर २०१५ मा पाउने वेसिक पेन्सनको २.५७ गुनाले भारतीय सेनाले पनि पाउने जानकारी दिए । एक जनवरी २०१६ बाट लागू हुनेगरी प्रदान गरिने उक्त सुविधाबाट भूतपूर्व भारतीय सैनिक पनि लाभान्वित हुनेछन् । उनले भने–“निवृत्त भइसकेका पूर्वसैनिकको योगदानलाई भुल्न नसकेर तपाईंहरुको हित र कल्याणका लागि सधैँ तयार छौँ ।” भारतीय राजदूत रणजित रायले गोर्खा भूतपूर्व सैनिकलाई सम्बोधन गर्न भारतका राष्ट्रपतिलाई पोखरामा पाउनु सबैका लागि गौरवको विषय भएको बताए ।
यसैबीच भारतीय राष्ट्रपति प्रणव मुखर्जीको पोखरा आगमनको बिरोधमा रहेको विप्लव नेतृत्वको नेकपा माओवादीका कास्कीका चार जना माओबादी कार्यकतालाई पोखराको एयरपोर्ट नजिकबाट प्रहरीले पक्राउ गरेको छ । मुखर्जी पोखरा बिमानस्थलमा ल्याण्ड हुने समय पारेर पोखराको हनुमानटोल बाट कालो झण्डा सहितको बेलुन उडाएपछि उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा नेकपा माओबादीद्वारा गठित कास्की जिल्ला जनसरकार प्रमुख नन्दलाल तिवारी ‘जगन बा’ माओबादी गण्डक ब्युरो सदस्य भिम चापागाईं तथा टिकाराम घिमिरे र बनबहादुर हितां मगर रहेका छन् । पोखरा बिमानस्थलको नजिकै रहेको सो स्थानबाट बेलुनमा कालो झण्डा हालेर आकासमा उडाईएको थियो । बेलुन उडाएको स्थलको खोजि गर्दे जाँदा प्रहरीले दुईजना माओबादी कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएको बताईएको छ ।



Post a Comment

 
Top