0
गंगाधर पराजुली
पोखरा २७ कार्तिक ।

नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुणदलको चौथो राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह भव्यरुपमा सकिएपनि त्यसपछि हुने कार्यक्रमका बारेमा स्वयं
करिब १२ वर्ष पछि हुन लागेको महाधिवेशन व्यवस्थित रुपमा सम्पन्न होला भन्ने अपेक्षा राखेर देशका विभिन्न जिल्लाबाट पोखरा आएका महाधिवेशन प्रतिनिधिहरु बन्द सत्र हुने– कि नहुने भन्ने अन्योलमा परेका छन् । उद्घाटन समारोहको समाप्तिसंगै महाधिवेशन प्रतिनिधिहरुलाई बन्दसत्रको कार्यक्रम बारे जानकारी गराइनुपर्नेमा त्यसो हुन सकेन । तर बन्द सत्रका लागि पोखरा सभागृहको हल बुकिङ्ग गरिएको र सभागृह परिसरमा नै सहभागीहरुको खानाको व्यवस्था गरिएको छ ।
विभिन्न जिल्लाबाट आएका महाधिवेशन प्रतिनिधिहरु आइतबार बिहान ब्रेकफाष्टका लागि सभागृह परिसरमा पुग्ने भएपनि त्यसपछिको कार्यक्रमका बारे जानकार छैनन् । तरुण दलको केन्द्रीय समितिमै रहेका सदस्यहरु समेत बन्द सत्र कतिबेला र कसरी सुरु हुन्छ भन्ने बारेमा बताउन सक्ने अवस्थामा छैनन् । यसपटकको महाधिवेशनमा विधान संशोधन गरि केही पदाधिकारी थप गर्ने र प्रादेशिक संरचनामा तरुणदल लाई लैजाने भनाइ दलका नेताहरुले व्यक्त गर्दै आएको भएपनि मेदिनी सिटौला संयोजक रहेको विधान समितिले संशोधित विधान बनाएको छ या छैन भन्ने बारेमासमेत केन्द्रीय समिति अनभिज्ञ छ ।
महाधिवेशनका क्रममा पोखरामा केन्द्रीय समितिको बैठक बस्नुपर्नेमा अझैसम्म बैठक बस्न सकेको छैन । जसका कारण बन्दसत्रमा प्रस्तुत गर्नुपर्ने विधान लगायत अन्य कतिपय प्रतिवेदन केन्द्रीय समितिबाट पास हुन सकेका छैनन्। झन महाधिवेशनको निर्वाचन प्रक्रियामा वर्तमान केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरु सहभागी हुन नपाउने पार्टीको निर्णयका कारण महाधिवेशनको तयारीमा जुटेका दलका नेताहरु उद्घाटन समारोहको समाप्ति संगै निष्क्रिय र निराश बनेका छन् ।
पार्टीले गठन गरेको निर्देशक समितिको बैठक समेत बस्न सकेको छैन । जसका कारण महाधिवेशन प्रतिनिधिहरुको नाम अझै टुङ्गो लागेको छैन । १५ वटा जिल्लामा उत्पन्न विवाद समाधान गर्न निर्देशक समिति र दलको केन्द्रीय समिति गम्भीर हुन नसक्दा कार्तिक २४ गते सम्ममा टुङ्गिनुपर्ने महाधिवेशन प्रतिनिधिको नाम र संख्या अझै टुङ्गिन सकेको छैन ।
जिल्लाको विवाद नटुङ्गिनु, महाधिवेशन प्रतिनिधिको टुङ्गो लाग्न नसक्नु, कतिपय जिल्लाका महाधिवेशन प्रतिनिधिको उमेर ४५ वर्ष भन्दा माथि हुनु, नयाँ केन्द्रीय समितिका लागि पदाधिकारी तथा सदस्यहरुको संख्याका बारेमा विधान संशोधनका लागि मस्यौदा तयार नहुनु र कांग्रेसका शीर्ष नेताहरुले निर्वाचन प्रक्रिया भन्दा भागवण्डाको आधारमा नेतृत्व चयन गरि आफू निकटकालाई समेटेर केन्द्रीय समिति बनाउने तयारी भइरहेको हल्लाले व्यापकता पाएका कारण तरुण दलका कार्यकर्ताहरु अन्यौलमा परेका हुन् । यो स्थितिका बारेमा पार्टीका नेता, निर्देशक समिति र तरुणदलको केन्द्रीय समितिले आइतबार बिहानसम्म प्रतिनिधिहरुलाई जानकारी नसक्ने हो भने अपरान्हबाट नै जिल्ला–जिल्लाबाट आएका दलका नेता, कार्यकर्ताहरु ले सार्वजनिकरुपमै असन्तुष्टि प्रकट गर्ने सम्भवना छ ।
यसैबीच पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरुको छुट्टा–छुट्टै बैठक शनिबार साँझ सम्पन्न भएको छ । देउवा पक्षधर नेताहरुको बैठक राष्ट्रबैंक गेष्टहाउसमा र पौडेल पक्षधरहरुको बेठक होटल ग्राण्डमा सम्पन्न भएको थियो । दुवै वैठकको निर्णय सार्वजनिक नभएपनि सहमतिका आधारमा नेतृत्व चयन गर्नेतर्फ दुवै पक्ष लचिलो देखिएको बताइन्छ । देउवा र पौडेल पक्ष सहमति र भागवण्डाका आधारमा अघि बढ्ने संकेत देखिएपछि पार्टी नेता कृष्ण प्रसाद सिटौला र खुमबहादुर खड्का पक्षधरहरुले भने निर्वाचन प्रक्रियाबाट नै नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएको बताइन्छ ।
पार्टीका नेताहरुको बीचमा पूर्ण सहमति कायम नहुने र तरुणदलका महाधिवेशन प्रतिनिधिहरुलाई विश्वासमा लिएर सहमतिका आधारमा नेतृत्व चयन प्रक्रिया अघि बढ्न नसक्ने हो भने तरुण दलको महाधिवेशन पनि नेविसंघको महाधिवेशन जस्तै लम्विन सक्ने सम्भावना समेत कतिपयले व्यक्त गरेका छन् ।
नेतृत्व चयनका लागि देउवा पक्षधरले जितजंग बस्नेतलाई अघि सारेको चर्चाले व्यापकता पाएको छ । बस्नेत यसअघि नेविसंघको महाधिवेशनमा समेत केन्द्रीय अध्यक्ष को दावेदार थिए तर पार्टी सभापति देउवाले वस्नेतलाई अन्य कुनै महत्वपूर्ण स्थान दिने आश्वासनपछि अन्तिम अवस्थामा उनी पछि हटेका थिए । त्यसपछि देउवा पक्षबाटै नैन सिंङ महरले नेविसंघको अध्यक्ष बन्ने मौका पाए । यसपटक तरुण दलका केन्द्रीय अध्यक्ष उदय सम्सेर राणा समेत बस्नेतलाई तरुणदलको अध्यक्ष बनाउन पाए आफू पार्टीको केन्द्रीय सदस्य बन्नका लागि बाटो खुल्ने विश्वासमा छन् । राणा र बस्नेत दुवै ललितपुरका र सभापति देउवा पक्षधर भएकाले बस्नेतलाई तरुणदलमा जिम्मेवारी दिन सके राणा पार्टीको माथिल्लो तहमा पुग्न पाउने आशामा छन् ।
यसअघि भने राणाले वर्तमान समितिका सचिव जन्मजय तिमिल्सिनालाई आफ्नो समर्थन रहने विश्वास दिलाउदै आएको बताइन्छ । पार्टीले वर्तमान कार्यसमितिका पदाधिकारी र सदस्यलाई चुनावमा सहभागी हुन बाट रोक लगाउने पुरानो निर्णयमा परिवर्तन गर्न समेत दलका नेता कार्यकर्ताले शनिबार साँझ पार्टीका शीर्ष नेताहरुलाई भेटेर दवाव दिएका थिए । तर महाधिवेशनको उद्घाटन समारोहमा सभापति देउवा स्वयंले नै केन्द्रीय समितिमा रहेका दलका नेताहरुलाई आफूले महत्वपूर्ण जिम्मेवारी दिने सोचाइ बनाएको बताएर पुरानो निर्णयमा परिवर्तन नहुने स्पष्ट संकेत गरिसकेका छन् ।
आयोजकहरु नै अन्यौलमा छन् ।

Post a Comment

 
Top