0
गंगाधर पराजुली
पोखरा १८ कार्तिक ।
नेपाली कांग्रेसको भातृसंस्था नेपाल तरुण दलको चौथो महाधिवेशनको तयारी तीव्र पारिएको छ । यहि २७, २८ र २९ गते पोखरामा हुने महाधिवेशनको लागि आवश्यक सबै तयारी अन्तिम चरणमा पुगेको र तोकिएकै समयमा महाधिवेशन सम्पन्न हुने नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष उदय शमसेर राणाले जानकारी दिए । बिहीवार पोखरामा पत्रकार सम्मेलन गरी महाधिवेशन तयारीको वारेमा जानकारी गराइएको हो। महाधिवेशनको कार्यक्रम अनुसार २७ गते पोखराको चिप्लेढुङ्गामा उद्घाटन समारोह हुने र उद्घाटन नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्तम छ। यसैगरी पोखरा सभागृहमा २८ गते वन्दसत्र र २९ गते निर्वाचन प्रक्रिया शुरु गरि नेतृत्व चयन गरिनेछ । यसअघि २ पटकसम्म मिति तय गरिएपनि स्थगित हुँदै आएको महाधिवेशन यस पटक भने नरोकिने अध्यक्ष राणाले स्पष्ट पारे । उनले भने–‘यसपटक नेपाल तरुणदलको केन्द्रीय समिति र पार्टीले बनाएको निर्देशक समितिले नै महाधिवेशनको मिति तोकेकोले अब महाधिवेशन कुनैपनि हालतमा रोकिन्न ।’ उनका अनुसार महाधिवेशनमा ७० वढी जिल्लाका करिब १ हजार ३ सय प्रतिनिधिहरु सहभागी हुनेछन् । महाधिवेशनको बन्दसत्रमा युवासंग सम्बन्धित विभिन्न मुद्धामा छलफल हुनेछ ।
महाधिवेशन सम्पन्न गर्न गठित निर्देशक समितिका सदस्य सुरेन्द्र पाण्डेका अनुसार कार्तिक २४ गतेभित्र जिल्ला अधिवेशन सम्पन्न गरेर प्रतिनिधिको नामावली पठाउने जिल्लाहरुलेमात्र महाधिवेशनमा सहभागिता जनाउन पाउनेछन् । पाण्डेले महाधिवेशन स्थगित हुने कुनै सम्भावना नरहेकाले शंका–उपशंका त्यागेर महाधिवेशनमा जुट्न आग्रह गरे ।
पार्टी सभापति शेरवहादुर देउवाको निर्देशन अनुसार महाधिवेशनको तयारी बारे स्थलगत जानकारी लिन पार्टीका केन्द्रीय सदस्य एबं निर्देशक समितिका सदस्य सुरेन्द्र पाण्डे र तरुण दलका अध्यक्ष राणा सहितको टोली पोखरा आएको हो । टोलीले बिहीबार नै नेपाली कांग्रेस कास्कीको नेताहरुसंग तथा तरुणदलका जिल्ला र क्षेत्रका प्रतिनिधिहरु संग छुट्टा–छुट्टै ४ वटा बैठक गरेको थियो । त्यसपछि पोखराका पत्रकारहरुसंग भेटघाट गरि महाधिवेशनको तयारीबारे जानकारी गराइएको हो ।
अध्यक्ष राणाका अनुसार ६८ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भएको र बाँकी जिल्लामा केहि विवाद भएपनि क्षेत्र र नगर अधिवेशन सम्पन्न भएकाले प्रतिनिधिहरु सहभागी हुन पाउनेछन् । जिल्ला अधिवेशन सम्पन्न गर्न नसकेका तर क्षेत्र र नगर अधिवेशन गरेका जिल्लाबाट क्षेत्रीय र नगर स्तरीय प्रतिनिधिहरु सहभागी हुन पाउनेछन् । महाधिवेशनमा जिल्ला अधिवेशन भएका जिल्लाबाट ८ जनाका दरले, प्रत्येक निर्वाचन क्षेत्रबाट २ जना, नगरपालिकाबाट १ जना, उपमहानगरपालिकाबाट दलको अध्यक्ष सहित २ जना, महानगरपालिकाबाट अध्यक्षसहित ३ जना, विदेश विभागबाट प्रत्येक देशका ३ जना, केन्द्रीय समितिका ४५ जना र अध्यक्षले मनोनित गर्ने २० जना सहभागी बन्नेछन् ।
तरुणदलमा हाल ६१ सदस्यीय कार्यसमिति रहेपनि नयाँ कार्यसमिति ७५ सदस्यीय सम्म पु¥याउने योजना छ । प्रादेशिक रुपमा कार्यसमितिको चयन गर्नका लागि वर्तमान अञ्चलको व्यवस्थालाई परिवर्तन गरि प्रत्यके प्रदेशबाट २ जनाका दरले निर्वाचित हुने प्रावधान राख्ने तयारी भइरहेको नेपाल तरुण दलका केन्द्रीय सदस्य ऋषिराम काफ्लेले बताए । पत्रकार सम्मेलनमा बोल्दै तरुण दलका केन्द्रीय सदस्य जन्मजय तिमिल्सिनाले महाधिवेशन प्रतिनिधिहरुको आवास र भोजनका लागि पेश्की रकम समेत दिइसहेको र भव्यताका साथ महाविधेशन समयमै हुने तयारी भइरहेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसी र तरुण दल कास्कीका सभापति मनोज गुरुङ लगायतले पोखरामा हुने तरुण दलको महाविधेशन सफतापूर्वक सम्पन्न गर्न सबै लाग्नुपर्नेमा जोड दिएका थिए ।
यसैबीच नेपाल तरुणदलको आशन्न महाधिवेशनबाट नेतृत्वमा पुग्न झण्डै  दर्जन आकांक्षीहरु देखिएका छन् । वर्तमान अध्यक्ष उदय शम्शेर राणले आफू चुनावी प्रतिस्पर्धामा नरहेको बताएपछि अन्य नेतृत्वको कार्यसमिति भित्र रहेका र कार्यसमिति बाहिर रहेका तरुण दलका नेताहरु अध्यक्ष बन्ने दौडमा देखिएका छन् । जसअनुसार हालका केन्द्रीय सदस्यहरु जन्मजय तिमिल्सिना, टेकराज पौडेल मेदिनी सिटौला र लक्ष्मी खतिवडा लगायत चुनावी दौडमा छन् । दलको नेतृत्व लिन चाहना गरेका अन्य आकांक्षीहरुमा डडेलधुराका कर्णबहादुर मल्ल, पर्वतका विद्वान गुरुङ, लमजुङका यामबहादुर गुरुङ, मोरङ दामोदर कोइराला, सुर्खेतका निरञ्जन केसी, पूर्वबाट पदम पालुङ्गा, कालिकोटका नारायण भट्टराई, तनहुँका पूर्ण गुरुङ छन् । नेपाली कांग्रेसले वर्तमान कार्यसमितिमा रहेकाहरुलाई यसपटकको महाधिवेशनमा निर्वाचनमा भाग लिन नपाउने निर्णय गरेका कारण वर्तमान कार्यसमितिमा रहेकाहरुले चुनाव लड्न नपाउने अवस्था छ । नेपाल विद्यार्थी संघ र नेपाल महिलासंघको महाधिवेशनमा पार्टीको उक्त निर्णय कार्यान्वयन भएपनि तरुण दलको महाधिवेशनमा उक्त निर्णय परिवर्तन गर्ने र सबैले निर्वाचनमा भाग लिन पाउने व्यवस्था गर्नका लागि पहल भइरहेको बताइन्छ । तरुण दलमा ४५ वर्षको उमेर हद कायम गरिएकाले कार्यसमितिमा रहेको भन्ने बन्देज हटाउनुपर्ने आवाज उठेको हो । यदि पार्टीले उक्त निर्णय कायम राख्ने हो भने पार्टीको संस्थापन पक्षबाट कर्णबहादुर मल्ल, विद्वान गुरुङ र जितजंग बस्नेत मध्ये एकलाई नेतृत्वमा लैजाने सम्भावना रहेको बताइन्छ। महाधिवेशनमा कास्कीबाट ललित गुरुङ, शंकर ढुङ्गाना, सुरजजंग राणा र दुर्गा लामिछाने लगायतले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेको बताइन्छ ।

Post a Comment

 
Top