0
गोल्डेन न्यूज संवाददाता
पोखरा उद्योग वाणिज्य संघले आउँदो मंसिरको अन्तिम साताबाट सुरु हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी तीव्र पारेको छ । मेला कार्यसम्पादन समितिको विहीबार बसेको बैठकले मेलाको हालसम्म भएको कार्य सम्पादनको समीक्षा गर्दै मेला तयारीलाई व्यवस्थित र तीव्र बनाउने निर्णय गरेको हो ।
संघका तथा मेला कार्य सम्पादन समितिका कार्यवाहक अध्यक्ष रवीन्द्रबहादुर प्रजुको अध्यक्षतामा बसेको बैठकमा मेला सम्पन्न गर्न गठित विभिन्न २८ वटा उपसमितिका संयोजकहरुले आफ्नो उपसमितिले सम्पादन गरेका कामहरुबारे जानकारी दिए । उपसमितिको कार्य प्रगतिबारे जानकारी लिएपछि संघका कार्यवाहक अध्यक्ष प्रजुले तिहार लगत्तै आफ्नो कामलाई अझ तीव्रता दिन उप–समितिका संयोजकहरुलाई आग्रह गरे ।  राष्ट्रिय औद्योगिक व्यापार मेला संघको महत्वपूर्ण पर्व भएको उल्लेख गर्दै उनले मेलालाई पोखराको गौरवको रुपमा विकास गर्नु पर्नेमा जोड दिए। स्थानीय उत्पादनको बजारिकरण र प्रवद्र्धन, नयाँ उत्पादनहरुको जानकारी एवं समग्र पश्चिमाञ्चल एवं नेपालमा भएका उत्पादनहरुको बिक्री बितरण समेत गर्ने उद्देश्यले आयोजना गरिन लागेको मेलालाई भव्य बनाउन कुनै कसर बाँकी नराखिने उनले बताए । आउँदो मंसिरको २३ गतेदेखि पुसको ४ गतेसम्म पोखराको नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा राष्ट्रिय औद्योगिक व्यापार मेला, २०७३ को आयोजना हुँदैछ । मेला सम्पन्न गर्नका लागि संघका अध्यक्ष विश्वशंकर पालिखेको अध्यक्षतामा मूल समारोह समिति तथा कार्य सम्पादन समिति गठन गरिएको छ ।







Post a Comment

 
Top