0
गोल्डेन न्यूज संवाददाता
पोखरा नगर क्षेत्र भएर बग्ने फिर्के खोला माथि मोटरेवल पुल बन्ने भएको छ । ब्यवस्थित पुलको अभावमा खोला उर्लिदा सवारी सहित मानिस बगाउने समस्या बढेपछि जिल्ला विकास समितिको योजना अनुसार पुल बन्न लागेको हो । पोखरा ६ बैदाम र पोखरा ७ जोड्ने गरी मालपोत कार्यालय नजिक निर्माण गर्न लागिएको पुलको सोमवार शिलान्यास गरियो । एक कार्यक्रमका बीच स्थानीय विकास अधिकारी दामोदर भण्डारीले पुलको शिलान्यास गरेका हुन् । कुल एक करोड ८ लाख २९ हजार लागतमा बन्न लागेको पुल १० मिटर लामो हुनेछ । जिल्ला स्तरीय सर्वदलीय संयन्त्रको निर्णय अनुसार जिल्ला विकास समितिले टेण्डर आह्वान गरेकोमा मुक्तिनाथ निर्माण सेवा र रेग्मी निर्माण कम्पनीसँग गत असार ९ गते सम्झौता गरेको थियो । सम्झौता अनुसार पुल आगामी २०७४ असोज ३ गते भित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ । स्थानीय विकास अधिकारी भण्डारीले स्थानीयवासीको माग र आवश्यकता अनुसार जिल्ला विकास समितिले पुल निर्माणका लागि वजेट विनियोजन गरेको बताए । स्थानीयवासीको आग्रह नगरपालिकाले बेवास्ता गरेपछि नगर क्षेत्रभित्रको पुल निर्माणका लागि जिल्ला स्तरीय सर्वदलीय संयन्त्रको निर्णय अनुसार जिविस अघि बढेको उनले स्पष्ट पारे । पुल निर्माणका लागि जिविसले अग्रसरता लिएपनि पुल वरपरको अतिक्रमण नगरपालिकाले हटाउनुपर्नेमा उनले जोड दिए । निर्माण कम्पनीका झपिन्द्र रेग्मीले तोकिएको समयभन्दा अगावै गुणस्तरीय पुल निर्माण गर्ने प्रतिबद्धता जनाए । तिहारपछि निर्माण कार्य सुरु गर्ने उनले बताए । कार्यक्रममा पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष प्रकाश मोहन खनाल, प्रमुख जिल्ला ईन्जिनियर नारायण श्रेष्ठ, फिर्के खोला सरोकार समितिका अध्यक्ष रत्नबहादुर ठकुरी, जिविसका समाजिक विकास अधिकृत अर्जुन न्यौपाने लगायतले पुलको महत्व र फिर्के खोला संरक्षणको विषयमा वोलेका थिए । नयाँ पुल बन्न लागेको स्थानमा कलभर्ट मात्रै हुँदा खोला उर्लेका बेला आवतजावतमा समस्या हुने गरेको थियो । गत भदौ २२ गते राती ११ बजे मोटरसाईकल सहित खोलाले बगाएका कास्कीको कालिकाका २१ बर्षीय सुरवीर जिसी ३ दिनपछि महतगौंडा स्थित फेवा नहरमा मृत भेटिएका थिए । गत बर्ष पनि एक जनालाई सोहि स्थानबाट खोलाले बगाएको थियो । नयाँ पुल बन्ने भएपछि भने सुरक्षित आवत–जावत गर्न सकिने स्थानीयको विश्वास छ ।

Post a Comment

 
Top