0
धादिङ-पोखरा सम्पर्क समाजको अध्यक्षमा युवराज खतिवडा निर्वाचित भएका छन् । समाजको हालै सम्पन्न नवौं अधिधवेशनबाट उनी सर्वसम्मत रुपमा
अध्यक्ष पदमा निर्वाचित भएका हुन्। अध्यक्ष पदमा उम्मेदवारी दिएका कृष्णबहादुर लम्साल, गोकर्ण लम्साल, वीरबहादुर थापाले उम्मेदवारी फिर्ता लिएपछि खतिवडा निर्विरोध भएका हुन् । धादिङ खाल्टे निवासी उनी पोखराको सिद्धार्थचोकस्थित फेवा एग्रीकल्चर र सृजनाचोकस्थित सृजना मिनि मार्केटका संचालक हुन् । खतिवडा यसअघि समाजको कार्यसमिति सदस्य पदमा रहेर काम गरेका थिए ।
यसैगरी समाजको वरिष्ठ उपाध्यक्ष पदमा धादिङ आगिन्चोक निवासी सुदर्शन बसौला, उपाध्यक्ष मा नलाङ निवासी शम्भु अधिकारी निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका गुणप्रसाद सापकोटा ‘भरत’ ले उम्मेदवारी फिर्ता लिएपछि बसौला निर्विरोध भएका हुन् भने उपाध्यक्ष पदमा अधिकारी बाहेक अन्य कसैको पनि उम्मेदवारी परेको थिएन ।  वरिष्ठ उपाध्यक्ष बसौला यसअघि सचिव र उपाध्यक्ष अधिकारी सह–सचिव भएर काम गरेका थिए । बसौला आगिन्चोक इकाइका उपाध्यक्ष र अधिकारी नलाङ इकाइका अध्यक्ष समेत हुन् भने बसौला हार्डवयेर र अधिकारी फलफूल व्यवसायमा आवद्ध छन् ।
यसैगरी समाजको महासचिव पदमा आगिन्चोक निवासी हरि पन्त निर्वाचित भएका छन्। महासचिव पदमा उम्मेदवारी दिएका युगमराज अगस्तीले उम्मेदवारी फिर्ता लिएपछि पन्त निर्विरोध भएका हुन् । पन्त आगिन्चोक इकाइका अध्यक्ष र धादिङ पत्रकार समाज पोखरामा सचिव समेत हुन् भने समाजमा यसअघि सल्लाहकार भएर काम गरेका थिए। पन्त पोखरा बगालेटोल स्थित हरि गणेश स्टोर्सका संचालक हुन् भने १० वर्षदेखि पोखराको पत्रकारिता क्षेत्रमा सक्रिय छन् ।
समाजको सचिवमा धादिङ धुवाँकोट निवासी योगप्रसाद सापकोटा, कोषाध्यक्षमा मैदी निवासी समिर अर्याल र सह–कोषाध्यक्षमा धादिङ फूलखर्क निवासी कृष्णबहादुर वि.क. निर्वाचित भएका छन् । सापकोटा वरिष्ठ सेफ, अर्याल व्यवसायी  र विक फलाम उद्योग व्यवसायी हुन् ।
यसैगरी समाजको सदस्य पदमा नलाङ निवासी सरिता श्रेष्ठ ‘सरु’,  ढोला निवासी अर्जुन भट्ट, र यादुप्रसाद ढकाल, मुरली भञ्ज्याङ निवासी माधव लम्साल र टीका लम्साल, खरी निवासी रामकृष्ण आले, धुषा निवासी राजेन्द्र बस्नेत, र ज्यामरुङ निवासी बलराम नेपाली चयन भएका छन् । सदस्य पदमा चयन भएका सरु नलाङ इकाइकी सचिव, भट्ट ढोला इकाइका अध्यक्ष र ढकाल उपाध्यक्ष हुन् भने आले खरी इकाइका अध्यक्ष हुन् । समाजको ८ जना सदस्य पदका लागि २५ जनाले उम्मेदवारी दिएका थिए। २ जना सदस्य निर्वाचित अध्यक्षले मनोनित गर्ने समाजको विधानमा व्यवस्था छ ।
समाजको निर्वाचन सम्पन्न गर्न पूर्व अध्यक्ष हरि अर्याल संयोजक, पूर्व सचिव गोकर्ण अधिकारी सह–संयोजक र पूर्व सह–सचिव हरि अधिकारी सदस्य सचिव रहेको निर्वाचन समिति गठन गरिएको थियो । गत असोज पहिलो साता अधिवेशन शुरु भएको भएपनि समय अभाव लगायतका कारणले नयाँ नेतृत्व चयन गर्न सकेको थिएन । शनिबार नयाँ नेतृत्व चयन गर्नका लागि पूर्व अध्यक्षद्वय कृष्ण कुमार श्रेष्ठ र बलराम खतिवडा, निवर्तमान अध्यक्ष झम्क सारु मगर, निवर्तमान वरिष्ठ उपाध्यक्ष गोकर्ण लम्लाल, निवर्तमान सल्लाहकार परिषद् सदस्यद्वय कृष्णबहादुर लम्साल, केदार धमला, निवर्तमान सदस्यद्वय बलराम लम्साल र रेशम सिंखडा लगायतले सहजीकरण गरेका थिए ।
यसैबीच समाजका नवनिर्वाचित अध्यक्ष युवराज खतिवडाले पदभार ग्रहण गर्दै आफ्नो कार्यकालमा गर्ने काम सार्वजनिक गरेका छन् । उनले समाजको कार्यालय तत्काल स्थानान्तरण गर्नुका साथै भवन निर्माण, एम्वुलेन्स संचालन, कार्यालयमा कम्प्युटर व्यवस्था गर्नुका साथै संस्थाको वेवसाइट संचालन गर्ने घोषणा गरेका छन् । आफ्नो सबै काममा सबैबाट सहयोगको अपेक्षा गर्दै सबै धादिङवासीलाई एकजुट बनाएर अघि बढ्न भूमिका खेल्ने प्रतिवद्धता जनाएका छन् । समाजको पहिलो बैठक यहि कार्तिक १० गते बुधबार बस्नेछ ।

Post a Comment

 
Top