0
गोल्डेन न्यूज संवाददाता
राज्यले भू–उपयोगी नीति कार्यान्वयन नगरेसम्म सहकारीमार्फत कृषकलाई व्यावसायिक बनाउन नसकिने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । पोखरामा आयोजित संवृद्धि बहस कार्यक्रममा बोल्ने वक्ताले खेतीयोग्य जमिन, घडेरी र कङ्क्रिटमा परिणत हुँदा उत्पादन हुने जमिन अभाव हुँदै गएको बताएका हुन् । पहिले रहेको अब्बल, दोयम, सिम र चाहारलाई सरकारले खेतीयोग्य, औद्योगिक, आवास, बजार क्षेत्र लगायतका क्षेत्रमा वर्गीकरण गरे पनि त्यसको व्यावहारिक रुपमा कार्यान्वयन हुन सकेको छैन । कार्यक्रममा सप्तगण्डकी दुग्ध सहकारी संस्थाका अध्यक्ष पुण्य पौडेलले खेतीयोग्य जमिन जति सहरीकरण बन्ने र ग्रामीण इलाकाका जग्गा बाँझोमा परिणत हुँदा कृषक व्यावसायिकरुपमा अगाडि बढ्न नसकेको बताए । उनले कृषकलाई व्यावसायीकरण बनाउने हो भने राज्यले जमिन उपलब्ध गराएर अनुदान दिनुपर्नेमा जोड दिए । कास्कीमा मात्रै ५० हजारदेखि ६० हजार लिटर दूधको माग भए पनि दैनिक सहकारीहरुले ८ हजार र निजी क्षेत्रबाट ८ हजार लिटरमात्र दूध उत्पादन गर्दै आएका छन् भने बाँकी दूध भारतबाट आयात हुने गरेको छ । साथै स्विट्जरल्यान्डबाट पनि नेपालमा पाउडर दूध  आउने गरेकाले अभाव पूर्ति हुने गरेको उनले बताए । उनले जुन कृषकले धेरै दूधसँगै दूग्धजन्य पदार्थ बिक्री वितरण गर्छ, उसलाई राज्यले अनुदान दिए कृषकलाई हौसला बढ्ने बताए । जिल्ला कफी सहकारी संघका अध्यक्ष आनन्द सुवेदीले कास्कीमा कफीका १४ वटा प्रारम्भिक सहकारी संचालन रहेको बताए । उनले कास्कीमा ३० टन कफी उत्पादन हुने गरेकोमा १८ टन सहकारीमार्फत् उत्पादन हुने गरेको जानकारी दिए ।
नेपालका ४० जिल्ला कफी खेतीका लागि योग्य भए पनि सम्बन्धित जिल्लाका कृषक अझै पनि व्यावसायिक बन्न नसकेको उनले बताए । जिल्ला कृषि सहकारी संघ, कास्कीका अध्यक्ष शिवजी कोइरालाले जमिन किन्ने र घडेरी बेच्ने परम्पराले व्यावसायिक रुपमा कृषक लाग्न नसकेको बताए। उनले कृषकलाई राज्यले जग्गा लिजमा दिएर खेतीमा आकर्षित गर्न सक्नुपर्नेमा जोड दिए ।
कास्की बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भीम गुरुङले कास्कीमा बचत तथा ऋण सहकारीमा १९ अर्बको लगानी भएको जानकारी दिए । यसमध्ये ८० प्रतिशत बचत तथा ऋणतर्फ र बाँकी कृषि तथा सहकारीमार्फत ऋण लगानी भएको बताए । सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीका अध्यक्ष रविरमण तिवारीले जिल्लामा हाल ५ सय ९३ सहकारी संचालनमा रहेको जानकारी दिए । त्यसमध्ये ३ सय ४० बचत तथा ऋण सहकारी संचालनमा छन् ।
त्यस्तै बहुउद्देश्यीय २०, कृषि १ सय ३६, दूग्ध २२, उपभोक्ता २९, कफी १४ र अन्य २२ सहकारी संचालनमा छन् ।
सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीका वरिष्ठ प्रशिक्षक बालकृष्ण सुवेदीले पर्याप्य पुँजीका कारण ६० प्रतिशत सहकारीमा क्रियाशिलरुपमा काम भएको र बाँकी सहकारीले पुँजी अभावमा सन्तोषजनक काम गर्न नसकेको बताए ।

Post a Comment

 
Top