0
गोल्डेन न्यूज संवाददाता
नेपाली काँग्रेसले आन्दोलनकारी दल, प्रमुख प्रतिपक्षी, व्यवस्थापिका–संसद्भित्रका सबै दलसँग छलफल र गृहकार्य गरी शीघ्र संविधान संशोधनका लागि अग्रसरता लिने निर्णय गरेको छ । तराई–मधेस र थारू, आदिवासी जनजातिको माग सम्बोधनका लागि सीमाङ्कनसमेतका विषयमा संविधान संशोधन गरी २०७४ माघ ७ गतेभित्र स्थानीय, प्रादेशिक र सङ्घीय निर्वाचन गराउने काँग्रेसको पूर्व निर्णय रहेको जनाउँदै मंगलबारको केन्द्रीय कार्यसमितिको बैठकले आन्दोलनकारी सबै दल, प्रमुख प्रतिपक्षी दल र व्यवस्थापिका–संसद्भित्रका सबै दलसँग छलफल र गृहकार्य गरी शीघ्र संविधान संशोधनका लागि अग्रसरता लिने निर्णय गरेको हो । काँग्रेसले गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण सम्बन्धमा गठित आयोगले राजनीतिक दलको सुझाव र सहमतिका आधारमा पुनःसंरचना कार्य यथाशीघ्र टुङ्गो लगाई निर्धारित समयमा स्थानीय निर्वाचन गराउने वातावरण निर्माण गर्न ध्यानाकर्षण गराएको छ । बैठकमा सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, कोषाध्यक्ष सीतादेवी यादव र केन्द्रीय सदस्यहरु खुमबहादुर खड्का, चित्रलेखा यादव, पूर्णबहादुर खड्का, प्रदीप गिरी, अम्बिका बस्नेत, शङ्कर भण्डारी, मीन विश्वकर्मा, सीता गुरुङ र केशवकुमार बुढाथोकीलगायतले बोलेका थिए । यसैबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमाथि व्यवस्थापिका–संसद्मा दर्ता भएको महाभियोगको प्रस्तावबारे बैठकमा छलफल हुँदा सो प्रस्ताव अचानक आएको ठहर गरेको छ । महाभियोग प्रस्ताव संसद्को विशेषाधिकारको विषय भएकाले आवश्यक प्रक्रियाको सम्बन्धमा काँग्रेस संसदीय दलले छलफल गरी टुङ्गो लगाउनेछ”–बैठककपछि पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।




Post a Comment

 
Top