0
अन्त्यमा मैले छोडिदिंए उस्लाई । लेख्न के नै बाँकी रह्यो र अब ? अन्तिम बिन्दु नै शुरुवातको गजबार बनेपछि ! तर हैन म अझै सानो एउटा छिद्र देख्दैछु जहाँबाट म यो सुन्दर संसार चियाउन सक्छु भलै म त्यो घामको न्यानो रापमा सेकिनबाट बञ्चित हुँला तर म त्यो उज्यालो हेर्न र महशुस गर्न सक्छु अध्याँरो बस्तीमा बसेर पनि । हो यहि प्रयाप्त हुनेछ किनकी एउटा शरीरको लागि तीन बित्ता जमिन भए पुग्छ पुरै ब्रहमाण्ड चाहिदैंन । यहि सिदान्तमा अडिएर जीवन निर्वाह गर्ने हो भने पक्कै पनि जीवनले आफ्नो सार भेट्नेछ हैन भने कुनै दिन म पनि सडक र गल्ली गल्ली घुमिहिड्नेछु ‘पागल’ को उपनाम भिरेर । त्यसो भए किन नलेख्ने ? लेख्छु । त्यसको लागि मात्र मन् हुनुपर्छ जुन मसंग पहिल्यै देखि छ । अब मनलाई फकाउने,खुसी बनाउने आफ्नै हातको बात को कुरा न हो । हो आज उहि मनलाई मैले निकै बेर थुम्थुम्याएर किरण सामू कठोर निर्णय सुनाएं । किरण आजदेखि हामी कहिल्यै भेट्ने छैनौ । चाहेर नचाहेर मानिसको जीवनमा अनगिन्ती नरमाईला क्षणहरु आउँछन् । त्यिनीहरु मध्ये यो पनि एक हो भन्ने मैले सोचेकी छु । त्यसैले एउटा नमिठो सपना ठानेर बिर्सिदैंछु । हाम्रो यात्रा आज अहिले यहिसम्मको लागि रहेछ । यहिबाट हाम्रो यात्रा अलग धारमा बहनेछ ।’ निलो आँखामा कस्तो परिवर्तन देखेथें मैले यसो भनिरहदाँ । सायद अनियन्त्रित भएर होला आँखाको डिलबाट पानी झर्दै थियो म आफै पनि धेरै बेर त्यहाँ अडिन नत्र मैले भन्दैमा रोक्न सक्थें र गालामा आँशु पोतिनबाट ।
एकैछिन त यो मन्ले मलाई कस्तो विचलित गरायो । फर्किएर त्यो आँशुपुछिदे भन्दै थियो । टक्क अडिएकी पनि हुँ त्यो रेस्टुराँको ढोकामा पुग्दा । एकैछिन् मेरो मन र मेरो विचारको पौठेंजोरी नै पर्रुयो । कति कष्ट भएथ्यो “ कसैको जीवन तहस नहस पार्न हुन्न तैंले। जे गरिस ठिकै गरिस् ।“ भनेर मन्लाई थुम्थुम्याउन । निकै बेर अटेर गरिरहेथ्यो । तर मेरो मन् हो मैले मनाईछाडें । यसो गरिरहदाँ म आफ्नै हातले आफ्नै जीवनको चितामा दागवत्ती दिदैंथिए । म यति कठोर भएथें त्यतिखेर सायदै हुँला भावी दिनहरुमा त्यस्तो कठोर अनि निर्दयी । हुन त त्यो कठोरताभित्र एउटा कोमल फूल सुरक्षित थियो । त्यो त कि मलाई मात्र थाहा थियो कि भगवानलाई । यद्यपी म आफै भने त्यो कठोरताले च्यातिएकी थिएं, धुजा धुजा भएकी थिएं । साँच्चै कसरी सकें भन्न यी सब जब कि म किरणलाई पछिल्लो ३ वर्ष देखि अगाध प्रेम गर्दै आईरहेकी थिएं । अनवरत मायाका रङगहरु छर्दै आएकी थिएं । कसरी झिकें सर्लक्कै जसलाई आँखाभरि सजाएकी थिएं, मुटुभरि पोतेकी थिएं । आह ! लाग्छ अकल्पनिय दुर्घटनामा म परिछु । आन्तरिक दुर्घटना जसको प्रत्यक्षदर्शी सिर्फ म थिएं । अनि घाईते पनि म नै ।दुर्घ्टित मन भए पनि मैले सहनु छ सबै चोट ,बेहर्नुछ सबै घटना अनि भर्ताल गर्नुछ जीवनको यो अंश। सब सब भोग्नुछ गर्नुछ मात्र मात्र म जस्तै एउटा नारी हृदयलाई टुक्रिन,भाँचिनबाट जोगाउन । हो यहिनेर बेस्सरी दुख्छ मन् । रग्ताम्य हुन्छ कि अन्जानमै मैले कुनै कोमल मनलाई आघात पुर्रुयाएं । कसैलाई यति धेरै दुखाईछु । त्यतिखेर मैले सावधनी पुर्वक शब्दहरुको मल्हम नलगाईदेको भए आज यतिखेर म हत्यारामा परिणत भैसक्थें । आधा मार्नु भनेको पुर्ण मृत्यु हो भन्ने सोच्छु अझ त्यो पनि भावनात्मक रुपमा हो भने त १०० प्रतिशत नै । मैले त्यो अर्ध मृत्यु हुनबाट कसैलाई जोगाएं । आफू क्षत विक्षत हुदैँ गए पनि कसैकोमा पालुवा लगाउँदै गएं र त यति धेरै पीडाभित्र पनि म आनन्द महशुस गर्दैछु । मेरो कारण भत्किएको मनमा छानो लगाएकी छु । सही सलामत राखिदिएं उसको राज्य जहाँबाट उनि झन्डै झन्डै विस्थापित भैसकेकी थिइन् । हो उनि किरणको राजमहलकी ऐश्वर्या थिइन् जसलाई किरणले वर्षौं अघि विवाहमण्डपमा सात फेरो लगाएर, आफ्नै हातले सिन्दुर भरेर, संगैबाँच्ने संगै मर्ने कसम् खाएर पुरै समाजलाई साक्षी राखेर भित्र्याएको थियो । मलाई अहिले पनि बडो उदेक लाग्छ मैले कसरी त्यो सुकोमल मनलाई चोट पुर्याएं ? जो म जस्तै नारी हृदयकी थिइन् । वास्तवमा त्यो दिन मैले रुकुलाई बसपार्कमा नभेटेकी भएं अझै पनि दुखाईरहन्थें होला । निकै लामो प्रतिक्षा पश्चात उनले त्यस दिन मलाई फेला पारेकी रहिछिन् । मलाई भेट्ने बितिक्कै उनले भनेकी थिइन् “ हजुर नै हो शालिनी ? मैले कति दिन भो हजुरलाई भेट्न खोजेकी । मेरो कुरालाई अन्यथा नलिदिनुहोला । म किरणको पत्नी हुँ । एक महिना भो काठमाडौं आएकी । अहिले म उहाँसंगै यहि बस्दै आएकी छु । मलाई थाहा छ हजुर किरणसंग प्रेम गर्नुहुन्छ र किरण पनि हजुरलाई माया गर्नुहुन्छ । यसैको कारण होला किरण मलाई रुचाउनुहुन्न। मेरो छाँया पनि मन् पराउनुहुन्न । त्यसो हो भने म कहाँ जाउँ ? उहाँले त ३ वर्ष भैसक्यो मलाई गाउँमै छाडेर आउनुभएको तर यसपाली घरका सबैले संगै बस्न सल्लाह दिएपछि आएकी हुँ । यहाँ आएपछि थाहा भयो उहाँ हजुरलाई मन् पराउनुहुन्छ । मलाई हेर्नुस् त । मेरो निरश जीवन हेर्नुस त । के मेरो संसार यहि हो ? यसैमा म बाँचु या मरुँ ? निर्णय तपाँई दिनुस ।“ म अवाक भएथें त्यस दिन त्यसै क्षण जतिखेर मैले प्रेम गरेको किरण भन्ने व्यक्ती विवाहित हो भन्ने जान्दैथिएं । आफू उभिएको धरातल भासिएझै लागेको थियो । म म नभएर कुनै जडवत मुर्ती भएकी थिएं। टाउको भननन भएको थियो। झण्डै पुरै ब्रम्हाण्ड घुमिरहेझै लागिरहेथ्यो । केहि बेर पछि मैले आफूलाई सम्हाले, सम्हालिनु आवश्यक पनि थियो र भनें “सायद मैले दुखाएं । तपाँई जानुस । अब उपरान्त तपाँईले मसंग यस्तो गुनासो गर्नुपर्ने अवस्था आउनेछैन ।’ यति भनेर म हिडें । मलाई अरु केहि भन्नु थिएन । केहि सोच्नु थिएन । मात्र एउटा निर्णय गर्नु थियो । मात्र एउटा निर्णय ।
हुन त यहाँ धेरै यस्ता नारीहरु पनि देखेकी छु जो कुनै पुरुषको निर्देशनमा नाच्दै आफू जस्तै अर्को नारी माथि अन्याय गर्न पुग्छन् ।आफ्नो ओठमा खुसी भर्न अरुको मुस्कान खोस्छन् । आफ्नो जीवन भरिभराउ पार्न अरुको जीवन रित्तो बनाउँछन् । यस्तोमा मलाई मात्रै किन आदर्शवान नारी बन्न परेको होला ? जस्तो पनि लाग्छ घरि घरि । म पनि त त्यसै गरि आफ्नो खुसी भर्न सक्छु, अरुको जीवन उजाड्न सक्छु । तर जब म आत्म मूल्याङ्कन् गर्छु  तब लाग्छ वास्तवमै उनि पनि म जस्तै नारी हुन् । उसंग पनि मन् छ, उमङ्ग छ, आफूलाई कसैले आघात पार्दा दुख्छ भने पक्कै पनि उसलाई पनि दुख्छ । हामी नारीले नारी पीडा बोध नगरे कसले गर्छ ? पक्कै पनि कुनै पुरुषले गर्दैन । यदि गर्दो हो त किरणले “म अविवाहित हुँ ।’ भनेर किन ढाँट्थ्यो ? किन मलाई आजसम्म भ्रममा राख्ने दुश्प्रयास गर्थ्यो ? उनिहरु त नारीलाई कुनै सुगन्धित फूल झै टिप्छन्, सुँघ्छन् अनि फाल्छन् । यस अर्थमा मैले यो निर्णय गरें कि त्यो पुरुषवादी सोचले ग्रस्त मान्छे जस्ले आफ्नो श्रीमती र मलाई उहि सुगन्धित फूल झै टिप्न,सुँघ्न र फाल्न खोज्यो आज उसैलाई म फाल्छु, कुल्चिन्छु र रौंदछु मेरो पैताला मुनि । हो यहि विचारको पहाड बोकेर म ढुङ्गा जस्ती भएर किरणलाई भर्खरै भेटेर आफ्नो कठोर निर्णय सुनाएर आएकी छु । हठात मन् लिएर किरण म निस्केको ढोकातिर हेरेर अपमान बोध गर्दै थियो सायद जीवनमा पहिलोपटक सजाय भोग्दै थियो ।






Post a Comment

 
Top