0
पहिलो महिला सागरमाथा आरोही जुन्को तावेईको ७७ वर्षको उमेरमा निधन भएको छ । जापानको साइटामा क्यान्सर सेन्टरमा उपचारका क्रममा तावेईको निधन भएको जापान माउन्टेनरिङ एसोसिएसनले जनाएको छ । जापानी टेलिभिजन एनएचकेले पनि तावेईको निधन भएको खबर लेखेको छ । तावेईलाई चार वर्षअघि क्यान्सर भएको पत्ता लागेको थियो । जापानको फुकुसिमामा जन्मिएकी तावेईले सन् १९७५ मा सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाइला टेकी पहिलो महिला आरोही बनेकी थिइन । तावेईको तीन दिनअघि निधन भएको खबर जापानी माउन्टेनरिङ एसोसिएसन र अल्पाइन क्लबले जानकारी गराएको नेपाल पर्वतारोहण सङ्घ (एनएमए)का अध्यक्ष आङ्छिरिङ शेर्पाले जानकारी दिए । नेपाल र नेपालीलाई धेरै माया गर्ने, पर्वतीय पर्यटनमा महत्वपूर्ण भूमिका खेल्नुभएकी तावेईको निधनले नेपालको पर्वतीय पर्यटनमा ठूलो क्षति पुगेको उनले बताए । “आरोहणको क्षेत्रमा उहाँ (तावेई)ले धेरै राम्रो काम गर्नुभएको छ, वातावरण संरक्षण र पर्वतारोहणमा पनि उहाँको योगदान छ, नेपालले असल मित्र गुमाएको छ, यसले हामीलाई दुःखित तुल्याएको छ”–अध्यक्ष शेर्पाले भने ।  जुनको तावेई गत अप्रिल ३० मा काठमाडौँमा भएको मनास्लु र ल्होत्से हिमालको हीरक महोत्सवमा सहभागी हुन जापानी आरोहीको नेतृत्व गर्दै नेपाल आएकी थिइन  ।

Post a Comment

 
Top