0
गोल्डेन न्यूज संवाददाता
एकाविहानै घर पुगेर खाना खाऊँला र ईष्टमित्र साथीभाईसँग भेटघाट गरौँला भनेर काठमाडौंदेखि करिब ६ बजे बसमा परिवारसहित चढेका थिए गुल्मी नेटाका नारायण अर्याल । काठमाडौंबाट २ बजे हिँड्ने बसको टिकट काटेपनि बसले ढिलो गर्दा ६ बजे बल्ल बुर्तिबाङको गाडी हिँडेको थियो । तर उनलाई यो दशैँमा घर आउँदा यति ठूलो सँकट आईपर्ला भन्ने हेक्का समेत थिएन । सोमबार विहानै ५ बजेतिर बस अनियन्त्रित भएर याम्दीमा दुर्घटना हुँदा उनी घाईते भए भने परिवारका दुई सदस्य उनले गुमाउनुप¥यो । आफ्नी आमा मनरुवा अर्याल र साढे २ वर्षे भतिजा अर्चित अर्यालको ज्यान दुर्घटनास्थलमै गुमिसकेको थियो । उनी यतिबेला मनिपाल अस्पतालको बेडमा छन् । मलाई यस्तो होला भन्ने थाहा नै थिएन । लौन कस्तो दशैँको बेलामा दशा लाग्यो ।’ उनले रुँदै भने–‘मैले घरमा गएर आमा र भतिजाको बारेमा कसरी भन्ने होला ?’ गुल्मीको भएपनि जानलाई सजिलो र नजिक हुने भएपछि बागलुङको बसमा चढेका उनीहरुसँगै बागलुङ बोँगादोभान गाविसका २० जनाभन्दा बढि विद्यार्थीहरु दशैँ विदामा घर फर्किँदै थिए । काठमाण्डौमा बसेर अध्ययन गरिरहेका उनीहरु एकै ठाऊँका भएपछि एकैचोटी घर जाने भनेर योजनाबद्ध रुपमा एउटै गाडीमा चढेका थिए।  बागलुङ बोंगादोभानका नबिन घर्तीमगर भन्छन्–‘सबैजना रमाईलो गर्दै, गीत गाउँदै आएका थियौँ ।’ उनले भने–‘विहानपख भने सबैजना सुतेकै थिए । तर एक्कासी नराम्रोसँग ब्रेक लाग्यो । बस तीन÷चार बल्ड्याङ खायो । र, मेरो त होशहवासै उड्यो । बसमा सवार ३६ यात्रुमध्ये ३ जना शकुसल छन् भने बाँकी ३१ जना घाईते भएका छन् । घाईते मध्ये एकको अवस्था चिन्ताजनक रहेको कास्की प्रहरीले जनाएको छ । दुर्घटना कास्की जिल्लाको याम्दी पुल नजिक सोमबार बिहान पौने ६ बजे भएको स्थानीयले बताएका छन्। बागलुङतर्फ तीब्र गतिमा गइरहेको बस अनियन्त्रित भइ घुम्तिमा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका यात्रुहरुलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको छ । गाडी दुर्घटना हुँदा यात्रुहरु सबै सुतेकै थिए । तीव्र गतिमा आएको बसलाई याम्दी पुल नजिकैको घुम्तीमा ड्राईभरले नियन्त्रण गर्न सकेनन् । र, बस गुल्टियो । गाडी दुर्घटनाको भयावह दृश्य घाईते बोंगादोभानकै विश्वास घर्तीमगरले यसरी सुनाए । ‘गाडीमै सुतेको थिएँ । निन्द्रा खुल्दा त हल्लाखल्ला भैराखेको थियो । टाउको नराम्ररी दुख्यो । म भुँईमा पल्टिराखेको थिएँ । मै माथि कुल्चिँदै मान्छेहरु यताउता गरिराखेको थिए । त्यसपछि मलाई एउटा जीपमा राखेर लगियो । हस्पिटल आएपछि बल्ल म घाईते भएको रहेछु भन्ने चाल पाएँ । दशैँ नजिकिँदै गर्दा दुर्घटनाको खबरहरु पनि दिनप्रतिदिन आउन थालेको छ । चाडवाडको बेलामा सँधै यस्तै खाले दुर्घटनाहरु हुने गर्छन् । यात्रुहरुलाई कसरी चाँडो घर पुग्ने र यातायात व्यवसायीहरुलाई कसरी धेरै कमाउने भन्ने चटारो हुने भएकैले यस्ता घटनाहरु घट्ने गरेका छन् ।



Post a Comment

 
Top