0
अमेरिकी राष्ट्रपतीय उमेद्वारहरु(हिलरी क्लिन्टन (डेमोक्र्याट), या डोनल्ड ट्रम्प (रिपब्लिकन), कसलाई तपाईंको समर्थन छ? त्यसै अनुसारको सर्वेक्षण नतिजा पाउन सक्नुहुन्छ। मुलधारका प्रायस् अमेरिकी मिडिया क्लिन्टन समर्थक छन्। पुरातन या सनातनी विचार बोक्ने थोरै मिडिया ट्रम्पको पक्षमा। त्यसैले आफ्नो रुचीअनुसार मिडियाको खबर छान्ने छुट छ, जुन पाटो तपाईंलाई सजिलो पर्छ त्यसैअनुसार खबर टिप्न सक्नुहुन्छ। तर, यसपटकको अमेरिकी राष्ट्रपतीय चुनावी बहसको ग्राफ भने यौनको मुद्दाले सबैभन्दा धेरै प्रभावित छ। सम्भवतः चुनावी लडाइँको हार–जीतमा त्यही ‘यौन’ चुरो अस्त्र बन्नेछ।
रिपब्लिकन पार्टीका उमेद्वार– ट्रम्पको बोली सुन्दा लाग्छ, उनी ७० को हाराहारीमा पनि २५ वर्षे पठ्ठोजस्तै छन् यौन मामलामा। अनि डेमोक्र्याट उमेद्वार क्लिन्टन, पूर्वराष्ट्रपति श्रीमान क्लिन्टनले गरेको भनिएका यौन दुराचारका दावीहरूले छोपिएकी छन्। लज्जा र सरममा उनले पुरै घुम्टो खोल्न सकेकी छैनन्।
तर, रिपब्लिकन पार्टीका उमेदवारले ‘यौन र महिला’का बारेमा बोलेका ‘छाडा’ बोली सिधा छ, सपाट छ। वासिङ्टन पोष्टले सार्वजनिक गरेको करिब ११ वर्षअघिको भिडियोमा ट्रम्पले ‘एकजना महिलासँग शारीरिक सम्पर्क गर्न खोजेको’ प्रष्ट भनेका छन्। जवाफमा उनले प्रसिद्ध मान्छे भएपछि महिलालाई जे पनि गर्न सकिने दाबी गरेका छन्। कस्तो लाजै लाग्ने! छोराछोरीहरुसँगै बसेर ती उमेद्वारले बोलेको बोली सुन्न सर्माउनुपर्छ। भयो पनि त्यस्तै, म आफैं अध्ययनरत विश्वविद्यालयको नियमित क्लासमा। गत हप्ता, क्लास लिन कोठाभित्र छिरेको मात्र के थिएँ, सबैजना एकैचोटी स्तब्ध जस्तै भए। ‘अन्तर्रा्ष्ट्रिय विकास’को क्लास सुरू हुनुभन्दा केहीअघि पुगेको थिएँ त्यसदिन। त्यतिबेला सम्म ८÷९ जनाजति केटी सहपाठीहरू र महिला प्रोफेसर पुगिसकेका रहेछन्। पछि थाहा भो, उनीहरूबीच पनि रिपब्लिकन उमेद्वार ट्रम्पकै बोलीमा बहस चलिरहेको रहेछ। महिलाहरू मात्र हुँदा सायद ट्रम्पका बोलीमा कुरा गर्न सहज हुँदो हो, पुरुष पुग्नेवित्तिकै वातावरण सहज भएन र सन्नाटा छायो। ढोकानिर पुग्दासम्म सुनिएको गाईंगुईं म छिर्ने्वित्तिकै एकैचोटी बन्द भयो। त्यो सन्नाटामा केटी साथीहरूको अनुहारमा ‘ज्या’ भनेजस्तो भाव देखिनेगरी असजिलोपन दौडिरहेको थियो। नहोस् पनि कसरी! महिलाको कुन अंगमा कसरी समात्ने, त्यसो गर्दा के हुन्छसम्मका बोली छन् उमेदवार ट्रम्पको सार्वजनिक भिडियो टेपमा (माफ गर्नुहोला यस्तो लेख्नु परेकोमा)!   ‘सभ्य’ भनेर आफूलाई दाबी गर्ने अमेरिकी प्रजातन्त्रको एउटा मजाक हुनुपर्छ यसपटकको चुनाव। चुनावी प्रतिस्पर्धाका उमेद्वारहरू ‘प्राइमरी’बाट छान्दा सधैं उत्तम मात्रै आउँछन् भन्ने पनि हुँदो रहेनछ। यद्यपि, अमेरिकी चुनाव प्रणालीका राम्रा र नराम्रा पाटाहरू आफ्नै ठाउँमा छन्।
चुनावी बहसहरूः संसारको शक्तिशाली देशको नीति, आर्थिक मुद्दा, वैदेशिक मामलामा हैन, उमेद्वारको आवारा बोलीको समीक्षामा केन्द्रित छन्। प्रत्येक बिहान उठ्दा कुन अखबारले उमेदवारको कुन भिडियो सार्वजनिक गर्ने हो भन्ने सोच्दै उठ्नुपर्छ। हुन पनि त्यस्तै भइरहेको छ विगत केही हप्तादेखि। ट्रम्पले झण्डै दुई दसकअघि कर तिर्दा देखाइएको करिब एक मिलियन डलरको घाटा, त्यसपछि यौन दुर्व्यवहारका शृङखलाबद्द भिडियो टेप, क्लिन्टनका इमेलहरू। एकपछि अर्को पर्दा उघारिए जस्तोगरी सार्वजनिक भएका छन्।
अनौठो लाग्ने पाटो चाहिँ के छ भने, अत्यन्तै व्यक्तिकेन्द्रित समाज भएर होला, मिडियाले जे पस्किदिन्छ राष्ट्रिय बहस त्यसकै वरिपरि घुम्छ। साँच्चै मुद्दामा भन्दा उमेद्वारको लुगा खोलेर उदाङ्ग पार्न यो चुनावी बहस बढी केन्द्रित देखिन्छ। सायद यो अमेरिकी राजनीतिक मूल्यको स्खलन हुनुपर्छ। प्राइमरी चुनावमा ट्रम्पको चर्चा चुलिँदै गर्दा वासिङ्टन पोष्टले ट्रम्पको महिलाहरूसँगको सम्बन्धका बारेमा अनुसन्धान सहितको विशेष लेख छापेको थियो। ट्रम्प कम्पनीमा काम गर्ने विभिन्न पदमा रहेका, ट्रम्पसँग सम्बन्धित, र ट्रम्प कम्पनीबाट रिटायर्ड महिलाहरूसँगको कुराकनीमा आधारित त्यो रिपोर्टको निचोड थियो– ट्रम्प महिलाहरूसँग विशेष सम्बन्ध राख्छन्। एक–दुई घटनाबाहेक महिलामाथि दुव्र्यवहार गरिएको उल्लेख्य घटनावली त्यसमा थिएन। तर, चुनावमा अमेरिकी मतदाताले भोट हाल्ने दिन नजिकिँदै गर्दा यौन दुर्व्यवहारका घटनाहरू यसरी बाहिर आए( कति अरुले दाबी गरेका, कति ट्रम्प आफैंले बोलेका। उनले जे बोले त्यो भन्न, र लेख्न सर्माउनुपर्छ, यद्यपि केही घटनाहरूप्रति उनले क्षमा पनि मागे।
यौन मामलाका घटनाहररूले बाँकी अमेरिकी चुनावी मुद्दा लागभग ओझेल परेजस्तो लाग्छ। अमेरिका आफैंले खनेको खाडलबाट निस्किएको नागजस्तो अतिवादी इस्लामिक संगठन (आईसिस), सिरियाको वर्वादी र रसियासँगको सम्बन्ध, बढ्दो व्यापार घाटा, आप्रवासी व्यवस्थापन विषयहरूले चुनावी बहसमा खासै ठाउँ पाएका छैनन्। जलवायु परिवर्तन र त्यसबाट हुनसक्ने सम्भावित क्षतिदेखि घरभित्रैको जातीय विभेद, अश्वेत अफ्रिकी–अमेरिकीमाथि निर्मम प्रहरी व्यवहार त, मानौं, बहस हुन लायक विषय नै होइनन्। बरु प्रत्येक मुस्लिममाथि निगरानी बढाउनेदेखि, मेक्सिकोसँगको सिमानामा पूरै पर्खाल लगाउने विवादित विषय बेला बेला रिपब्लिकन उमेद्वार उठाइरहन्छन्।   
बहसहरूमा प्रष्ट बाहिर नआए पनि डेमोक्र्याट उमेद्वार क्लिन्टन र रिपब्लिकन उमेद्वार ट्रम्पका केही मुद्दाहरुमा विभेद छन्। क्लिन्टन अति धनी अमेरिकीहरूबाट थप कर उठाउन चाहन्छिन्। पाँच मिलियन डलरभन्दा बढी वार्षिक आम्दानी गर्नेहरूलाई चार प्रतिशत कर थप्ने उनको योजना छ। ट्रम्प सबैलाई कर घटाउन चाहन्छन्, विषेशगरी धनी र कर्पोरेटहरूलाई करमा अझ धेरै छुट दिने उनको योजना छ।
रिपब्लिकन उमेद्वार गैरकानुनी आप्रवासीहरूमाथि कडा नियमन गर्न चाहन्छन्। त्यस्तो कडाइले एक करोड १० लाखभन्दा धेरै गैरकानुनी आप्रवासीहरूको अमेरिका बसाइ अप्ठेरोमा पर्ने छ। उनी अमेरिका(मेक्सिकोको दुई हजार माइलभन्दा लामो सिमानामा काँडेतारको बार ठड्याउन चाहन्छ। खासमा यो उनको मुल मुद्दा हो। त्यसको तुलनामा डेमोक्र्याट उमेद्वार आप्रवासीहरूको मुद्दामा लचक हुन चाहन्छिन्। त्यसैले बहुसंख्यक आप्रवासी मतदाता डेमोक्र्याट निकट मानिन्छन्( चुनावी भोटका दृष्टिले। तर, यी विषयहरूले चुनावको बसहमा घुम्टो खोलेको छैन, कतै कुनाको खोपितिर थन्किएको जस्तो लुकेर बसेका छन् ती।
बीसौं शताब्दीको अन्ततिरबाट रफ्तारमा अघि बढेको भूमण्डलीकरण ‘ग्लोबलाइजेसन’का कारण व्यापार, पेशा, र सीपमा पछाडि परेका श्वेत कामदार वर्ग ट्रम्पलाई आफ्नो मुक्तिदाताका रुपमा देख्छन्। ती श्वेत कामदारहरूको खोसिएको रोजगारी फिर्ता गरिदिने ट्रम्पको बाचा छ। विश्व व्यापार संगठनमा चीनको आगमन, क्यानडा(अमेरिका(मेक्सिकोबीचको स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा)लगायत कारण थोरै सीप भएका कामदार खपत गर्ने धेरै उद्योग र कलकारखाना अमेरिकाबाट बाहिरिए। त्यस्ता कम्पनीहरूले सस्तोमा कामदार पाइने चीन, मेक्सिको, र भियतनामतिर आफ्ना कारखान स्थानान्तरण गरे। कति उद्योग त नेपालकै छिमेकी भारत र बंगलादेशमा पनि आइपुगेको छ। यो प्रक्रियाले ‘आउटसोर्सिङ’लाई अहिलेको अमेरिकी व्यापारको सबैभन्दा उत्तम तरिका बनाइदियो। त्यस्तै, धुँवा र धुलो निकाल्ने कोइला खानीहरू पनि जलवायु परिवर्तन सम्बन्धि सरकारी नीतिका कारण एकपछि अर्को गर्दै बन्द हुँदैगए। र, एउटा ठूलो हिस्सा कामदार वर्ग रोजगारीबाट बिमुख बने।  
त्यही समुदाय हो ट्रम्पको सबैभन्दा ठूलो ‘अन्धभक्त समर्थक’। कतिसम्म भने ट्रम्पको हार अस्वीकार्य हुने उनीहरूको भनाइ मिडियामा बारम्बार आइरहेछ। ट्रम्फ आफैं पनि मुलधारका मिडियाले डेमोक्र्याट पार्टीको पक्षमा चुनाव एकलौटी पार्न सघाइरहेको आरोप दैनिक दोहोर्रुयाइरहेका छन्। मतदाता नामावलीमा नाम भएका मृत व्यक्तिले पनि डेमोक्र्याटलाई भोट हाल्ने उनको आरोपपछि कतिपय रिपब्लिकन नेताहरू नै अमेरिकी चुनावी प्रक्रियाप्रति आफ्नो विश्वास कायमै रहेको बताउन बाध्य छन्। यो आफैंमा एउटा ‘जोक’ हो, जसले आफूलाई सबैभन्दा उन्नत प्रजातन्त्रको मोडेल ठान्छ, त्यही राष्ट्रपतिका प्रत्यासी आफू हारे चुनावी प्रक्रियामै अविश्वास देखिने बताउँछन्।
ट्रम्पको ‘कहिल्यै हार्न नजानेको’ र ‘आफ्नै विचार मात्र ठीक’ भन्ने बोली करिब दसकअघिको नेपालको माओवादीसँग लगभग मिल्छ। हरेक दिन ट्रम्पको ट्वीट, बोली र खवर, ‘युद्द जितेर आएको’ भन्ने त्यसबेलाको माओवादीको रवाफ बिर्साउने खालको लाग्छ।
बन्द भएका कोइलाखानी पुनः सञ्चालनमा ल्याएर ‘रोजगारी फर्ता ल्याउने’ ट्रम्पको नीति विपरीत क्लिन्टन ‘स्मार्ट इनर्जी, र स्मार्ट इन्डस्ट्री’ प्रस्ताव गर्दै्छिन्। विश्व सञ्जाल, आउट सोर्सिङ, इ(टेक्नोलोजी, वैकल्पिक ऊर्जा आदिमा आधारित क्लिन्टनको यो प्रस्ताववारे त्यति गहिरोगरी खोतलिएको छैन। खोतलिएको छ त उनका पनि लिक भएका केही इमेल र फेरि श्रीमान् क्लिन्टनले गरेका भनिएका यौन दुव्र्यवहारका दाबी। नकारात्मक चुनावी प्रचारहरूमा ट्रम्प समर्थक महिलाहरू दाबी गर्छन्, पूर्वराष्ट्रपति क्लिन्टनले मलाई यता समेत, यसो गरे, उसो गरे अनि फेरि सुन्नै लाग लाग्ने, भन्नै लाज लाग्ने!
सम्भवतः सबैभन्दा तल्लोस्तरको कमजोर चुनावी बहस भइरहेछ यसपटक, र त ‘‘ कुन्नि के गर्नेलाई भन्दा देख्नेलाई लाज’ भनेजस्तो छ अमेरिकी राष्ट्रपतीय चुनावी बहस।




Post a Comment

 
Top