0
चार वर्षदेखि म सरकारी कर्मचारी छु । सरकारले मलाई दिने तलब र मेरै तहका अन्य कर्मचारीलाई दिने तलब स्केल बराबर हो । सरकारी जागिरे हुनुअघि जहाँ जस्तो अवस्थामा थिएँ, त्यसयताका लगभग उस्तै अवस्थामा दैनिकी गुजार्दै छु । काठमाडौंको महँगीमा जेनतेन चलेको छ दैनिकी । तर, मेरै तहका साथीले त्यही तलब स्केल खाएर आर्थिक फड्को मारेको देख्दा अचम्म लाग्छ । उनीहरु सानको जिन्दगी बिताइरहेका छन् । सरकारले तोकेको त्यही वेतनबाट म जस्ता एकथरि कर्मचारी सस्तो तरकारी कहाँ पाइन्छ भन्दै खोज्दै हिंड्नुपर्ने अवस्थामा छौं भने त्यही तलबबाट सस्तो घरजग्गा कतातिर पाइन्छ भन्दै खोज्नेहरुको जमात पनि छ ।
यो अन्तर जहिलेसम्म कायम रहन्छ, त्यतिबेलासम्म भ्रष्टाचारको जालो हट्दैन । अहिले मिडियामा लोकमान कार्कीको निकै चर्चा, आलोचना र बदख्वाइँ भइरहेको छ । पछिल्लो समय  मिडियामा सर्वा्धिक पढिएको, सुनिएको र हेरिएको पात्र कोही छ भने त्यो लोकमान नै हो । लोकमान बिनाको अखबार छैन, इन्टरनेटका सामाजिक सञ्जालमा स्टाटस छैन । तर, नदेखिएका लोकमानको बारेमा कहिल्यै चर्चा भएन र होला जस्तो पनि लाग्दैन ।
भ्रष्टाचार गर्ने र अकुत सम्पति आर्जन गर्नेमाथि कारबाही गर्ने निकायमा बसेको व्यक्ति नै भ्रष्टाचारको नाइके भएको, मोलमोलाइमा काम गरेको, पूर्वाग्रहपूर्ण ढंगले फसाएको भन्दै लोकमानमाथि अरिंगालको गोलो खनिए जसरी सडकदेखि सदन खनिएको छ । अख्तियारको उपल्लो तहमा बसेर आफैं अख्तियारको दुरुपयोग गर्ने यी देखिएका लोकमानको चरित्र उदांगो भएपछि आज जनमानस उनी विरुद्ध कुर्लिएको छ । तर, नदेखिएका लोकमानको बारेमा कसले आवाज उठाउने ? लोकमानको बारेका चर्का कुरा गर्ने माननीयहरु आफू चाहिँ कत्तिको दूधले नुहाएका छन् ? निकै ठूला र चर्का कुरा गर्ने जिम्मेवार पदमा बसेका मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न मानेन रे । जब कि सार्वजनिक ओहोदामा पुगेको व्यक्तिले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कानुनी प्रावधान छ । के कारण मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरिएन ?
तिनै मन्त्री र नेताहरुले लोकमानको बदनाम गरेको असुहाउँदो देखियो । नेतासँग नजिकको साइनो भएका र जहाँ पनि चलखेल गर्न सक्ने भएपछि आर्थिक हैसियत उकास्न केही चाहिने रहेनछ भन्ने प्रमाण आफ्नै सहकर्मीहरुबाट देखिन थाल्यो । पाँच वर्षअघि सरकारी जागिरमा एकसाथ प्रवेश गरेका दुई दौंतरीको केही दिनअघि अनामनगरमा जम्काभेट भयो । दुवै एक(आपसलाई दाइ–भाइको नाता लगाउँछन् । तरकारी किन्न निस्किएका दाइलाई चिल्लो कारले हर्न बजाउँदै पिछा गर्रुयो । दाइले यसो चिहाए, कारबाट ओर्लिएर के छ दाइ भन्दै भाइ हात मिलाउन आए । दाइ जिल परे । ‘तिमी कसको कारमा आएको भाइ ?’ दाइले सोधे । ‘ल दाइ पनि ! मेरै हो नि । दशैंमा दक्षिणकाली गएर पूजा गरेर ल्याएँ अनि चलाइरा’छु ।’ ‘साँच्चै तिम्रै हो ?’ दाइले पत्याएनन् । प्रसंग बदल्दै सोधे, ‘धेरैपछि भेट भो अहिले कुन पदमा कार्यरत छौ त भाइ ?’ ‘नासुमै हो दाइ, बढुवा हुन सकिएन,’ भाइ चाहिा खिन्न भए झैं सुनाए । ‘पैसा त निकै कमाएछौ नि भाइ । म जहाँको त्यहीँ छु, तिमी कहाँबाट कहाँ पुगिसक्यौ !’ ‘ठीकै छ, यतिलाई कमाएको के भन्नु दाइ ? राम्रै छ, बाँचिएकै छ‘।’ कुरैकुरामा भाइले थपे, ‘दाइ, मैले घर किनेँ सीतापाइलामा, यसो मिलाएर भाइको घर हेर्न आउनू है !’ अघि कार देखेर चकित परेका दाइ अहिले घर पनि किनेको सुन्दा झन्डै बेहोस भएनन् ।
एउटै पदमा एकै पटक नियुक्त भएका यी दुई जनाको हैसियतमा आकाश–पातालको फरक छ । दाइ चाहिँ नाम मात्रका नासु, भाइ चाहिँ नापी कार्यालयका दामवाला नासु । भाइले सीतापाइलामा गत वैशाखमा दुईतले घर किनेका छन् । कतै अख्तियारले समाउने हो कि भन्ने डरले सम्पत्ति भएभरको नातागोताको नाममा राखेका छन् रे भन्ने हल्ला चलेको थियो । भएका एउटा सन्तानलाई गिनेचुनेका धनीमानीले पढाउने महँगो स्कूलमा पढाएका छन् । दाइ चाहिँ महिनाभरि अफिस जान्छन्, एकदिन तलब थाप्छन् । २३ हजार ५ सय स्केलमा सञ्चय कोष, नागरिक लगानी कोष, बिमा वापतको रकम कटाएर बुझेको रकमले आठ हजार रुपैयाँ कोठा भाडा तिर्छन्, उधारो तिर्छन्, एक–दुई हजार पकेट खर्च राख्छन् । अर्को महिना मरुन्जेल कसरी पुर्रुयाउने भन्ने तनाव हुन्छ । गाउँघरमा पनि तिनै नापीवालाको चर्चा हुन्छ रे । ‘फलानोले त्यही जागिर खाएर त्यत्रो कमायो, ता चाहिँ सधैं पैसा छैन भन्छस्, क्या हो पारा’, बुवाको बारम्बारको यो भनाइले दाइको मन घोच्छ । तैपनि बोल्ने ठाउँ छैन । आजका धेरै मान्छेको मनमा परेको कुरो( पैसा कमाउनका लागि कि त दुई नम्बरी गर्नुपर्ने रै’छ, कि विदेशै जानुपर्ने रै’छ । सरकारले तोकेको तलबले घरखर्च चलाउन पनि नसकिने अवस्था छ । अर्का्तिर, सानको विलासी जिन्दगी बिताउने नापी कार्यालयका ती भाइलाई कुनै कुराको मतलब छैन । जे छ पैसामै छ, पैसा बाहेक उनी केही सोच्न सक्दैनन् । यस्ता कर्मचारीको संख्या धेरै छ । कसले खोज्छ उनीहरुको आर्थिक पाटो ? मासिक २० हजार तलब खाने कर्मचारीले २५ हजार तिरेर छोराछोरी स्कूल पढाउने हैसियत कहाँबाट बनायो भन्ने कसले केलाउँछ ? त्यो पैसाको स्रोत के हो ? खोज्दै जाने हो भने नदेखिएका लोकमानहरु कति छन् कति ।
जागिरेको कुरा छोडौं, समाज सेवा र राष्ट्र सेवामा लागेको बताउने राजनीतिक दलका नेताहरु नै चोखा छैनन् । पैसा आउने अरु माध्यम छैन, रोजगारी छैन, उनीहरु नै पार्टीलाई लेवीबापत धेरै रकम बुझाउनुपर्छ भन्छन्, तैपनि उनीहरुकै जिन्दगी विलासी छ ! त्यो कसरी सम्भव भयो ? यो पाटो कहिले र कसले खोतल्ने ? सार्वजनिक पदमा पुगेपछि मन्त्रीहरुले पेश गरेको सम्पत्ति विवरण हेर्दा सुनचाँदीको ढुकुटी नै उनीहरुसंगै छ कि क्या हो जस्तो भान पर्छ । ८०र९० तोला भएको देखाउने स्रोत चाहिा ससुरालीले दाइजोमा दिएका रे । ९० तोला सुन दाइजोमा दिने ससुरालीको हैसियत पनि त जाँच्नुपर्ने हो नि ! तर, यस्ता कुरामा कसको ध्यान जाने ? मन्त्री र नेताज्यूसंग ९० तोला सुन हुन्छ, सामान्य नागरिकसँग ९० रुपैयाँको लसुन समेत हुँदैन हाम्रै नेपालमा ! चीनका लागि राजदूत सिफारिस हुने बेलामा पूर्व मुख्यसचिव लिलामणि पौडेललाई सरकारी जागिरमा प्रवेश गर्दादेखि मुख्यसचिव हुँदासम्मको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरियो । हरेक सरकारी कर्मचारीले आफ्नो सुरु नियुक्तिदेखि अवकाशसम्मको सम्पत्ति विवरण यथार्थ बताउने, दलका नेताहरूले राजनीतिमा लाग्दाको हैसियत र लागिसकेपछिको हैसियत खुलस्त गर्ने हो भने भ्रष्टाचारको जरो उखेल्न बेर लाग्दैन ।
स्रोत ः अनलाइन खबर

Post a Comment

 
Top