0
गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुंगानाले नगरको विकासका लागि तत्कालीन, मध्यकालीन र दिर्घकालीन गरि तीन खाले योजना बनाएर अघि बढ्ने बताएका छन् । बहस केन्द्र नेपाल पोखराले संस्थाको कार्यालय गैह्रापाटनमा बिहीबार आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै ढुंगानाले योजनाहरु सफल पार्न सबैको सहयोग आवश्यक रहेको बताएका हुन्। हालै नगरको कार्यकारी अधिकृतमा नियुक्त भएका उनले यस क्षेत्रमा रहेको फुटपाथ अतिक्रमण अन्त्य, व्यवस्थित पार्किङ, छाडा चौपाय नियन्त्रण लगायतका कार्यक्रम थाल्न आफुले तीन चरणका कार्ययोजना सुरु गर्ने जानकारी दिए । कार्यक्रममा बोल्दै उनले नगरपरिषदबाट स्वीकृत योजनालाई कार्यान्वयन गर्नुनै आप्mनो प्रथम दायित्व रहेको बताए । उनले नगरपालिका कार्यालयले प्रदान गर्ने सेवा व्यवस्थित बनाउँदै लैजाने बताए । कार्यालयका भौतिक पूर्वाधारहरुलाई व्यवस्थित एवं अपाङमैत्री बनाउँदै लैजानेमा उनले जोड दिए । अधिकृत ढुंगानाले एकिकृत सम्पत्ति कर वृद्धिबारे उचित छलफल र परामर्श लिने बताए । बिहीबारबाटै नगरपालिकाले विजयपुरदेखि पृथ्वीचोकसम्मको बाटोमा भएको सडक अतिक्रमण हटाउन सूचना जारी गरेको जानकारी दिँदै कानून कार्यान्वयन गर्न सबैले सहयोग गर्ने विश्वास व्यक्त गरे । आयोजक संस्थाका संयोजक अनुप प्रकाश पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा नागरिक समाजका अगुवाहरुले नगरपालिकाका कामकारवाहीबारे सुझाव दिएका थिए । नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले पोखराका विभिन्न भेगमा रहेको सार्वजनिक जग्गाजमिन अतिक्रमण भएको भन्दै अधिकृत ढुंगानाको ध्यानाकर्षण गराएका थिए । पोखराको सार्वजनिक जग्गा अतिक्रमण गर्न भू–माफिया सक्रिय रहेको अवगत गराउँदै उनले माफियाराज अन्त्य गर्न माग गरे । टोल विकास संस्था समन्वय समितिका अध्यक्ष उज्ज्वल खत्रीले पोखराका २९ वटा वडामा पाँच सय वटा भन्दा बढी टोल विकास संस्था आवद्ध रहेको जानकारी दिए । टोल विकास संस्थाहरु नगरपालिकासँग समन्वय गर्दै काम गर्न तयार रहेको उनले बताए । उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिल कोइरालाले नगरपालिकामा खाद्य निरीक्षण अधिकृत आवश्यक रहेको औँल्याए । एकिकृत सम्पत्ती कर अव्यवहारिक रहेको बताउँदै त्यसमा पुनःविचार गर्न उनले सरकारको ध्यानाकर्षण गराए । प्रगति नगर टोल विकास समितिका अध्यक्ष प्रकाश भुजेलले पोखरा विमानस्थलको पछिल्तर्पmको बाटोको अवस्था सुधार्न माग गरे ।
नागरिक अगुवाहरु शिवप्रसाद गौतम, मन्दरा ढकाल, सुशीला वाग्ले, सीता गुरुङ, पोखरा उपत्यका नगर विकास समितिकी सदस्य माया पराजुली, पत्रकारहरु यज्ञराज पौडेल, कमल पौडेल अथक, उदयबहादुर अमात्य लगायतले मन्तव्य राखेका थिए । सरिता तिमिल्सिना पंगेनीले कार्यक्रमको महत्वबारे प्रकाश पारेकी थिइन् ।





Post a Comment

 
Top