0
संसद्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध प्रस्तुत प्रस्तावमा छलफल सुरु भएको छ । निलम्बित प्रमुख आयुक्त कार्कीविरुद्ध व्यक्तिगत स्वार्थ र प्रतिशोधका लागि पदको दुरुपयोग गरेको आरोप पनि लागेको छ । संसद्मा बोल्ने कसैले पनि प्रस्तावको स्पष्ट विरोध गरेका छैनन् । स्वास्थ्य मन्त्री गगन थापाले समेत प्रस्तावको समर्थन गरेका छन् । नेपाली कांग्रेस अनिर्णयको बन्दी रही रहे पनि कार्कीविरुद्धको प्रस्ताव पारित हुने निश्चित प्रायः देखिएको छ । हुन पनि सार्वजनिक पदमा रहेका व्यक्तिले व्यक्तिगत स्वार्थ वा प्रतिशोधका लागि पदीय शक्ति, स्रोत र सुविधाको दुरुपयोग गर्नु कानुनीरूपमा त अपराधै हो नैतिकरूपमा पनि अपराध हो । तर, राज्यका अरू निकायमा रहेकाहरूले पनि पदको दुरुपयोग गर्न भने छाडेका छैनन् । यस्तो दुरुपयोग गर्नेमा मन्त्री र सुरक्षा निकायका उच्च अधिकारीदेखि तल्लो तहका कर्मचारीसमेत छन् । यसैले लोकमानसिंह कार्कीविरुद्ध अख्तियार दुरुपयोगको अभियोग लगाउँदै गर्दा राज्यका अरू निकायमा भइरहेका भ्रष्टाचार र पदीय शक्ति दुरुपयोगप्रति पनि ध्यान दिनु आवश्यक र उचित हुनेछ । केही दिन पहिले रक्षा मन्त्री बालकृष्ण खाणले सेनाको हेलिकप्टर लिएर ब्यारेक निरीक्षणमा जाँदा पार्टीका कार्यकर्ता लिएर गएका र धेरै समय पार्टीकै भातृ संस्थामा बिताएका समाचार सार्वजनिक भएको थियो । रक्षा मन्त्री खाणका पूर्ववर्ती भीमबहादुर रावलले पनि सेनाको हेलिकप्टर प्रयोग गरेर पार्टीका कार्यक्रममा जाने गरेका समाचार थुप्रैपटक सार्वजनिक भएका थिए । मन्त्रीहरूमात्र हैन सुरक्षा निकाय र निजामती सेवाका उच्च अधिकारीहरूले पनि उत्तिकै शक्ति, साधन र सुविधाको दुरुपयोग गरेको मेटिन्छ । राजधानीका बजार र सडकमा मात्र हैन मदिरा पार्टीहरूमा समेत सरकारी नम्बर प्लेटका गाडीहरू छ्यास्छ्यास्ती जताततै देखिन्छ । सुरक्षा निकायका बहालवाला र पूर्व उच्च अधिकारीका घरमा घरेलु कामदारका रूपमा कामकाज गर्ने सुरक्षाकर्मीहरू खटिएका देखिन्छन् । यस्ता सबै गतिविधि भ्रष्टाचारका उदाहरण त हुन् नै अपसंस्कारका जग पनि हुन् । राज्यका उच्च पदमा रहेका पदाधिकारीले नै कानूनी र नैतिक बन्धन उल्लंघन गर्दा समाजमा त्यो उदाहरण बन्न पुग्छ । सबै विधि, निषेध र नैतिकताका मूल्य र बन्धन उल्लंघन गर्नु पौरख ठहरिन थालेपछि समाजमा कुसंस्कारको विकास हुनु अस्वाभाविक होइन । एक जनाले राज्य शक्तिको दुरुपयोग गर्दा सिंगो शासन संयन्त्र आक्रान्त हुँदोरहेछ । नेपालमा त शासनका सबै अंगमा पदीय शक्तिको दुरुपयोग गर्नेहरूकै बाहुल्य देखिन्छ । यसैले लोकमानसिंह कार्कीसँगै उनले प्रतिनिधित्व गर्ने अपसंस्कारको पनि अन्त्य गर्ने संकल्प संसद्ले गर्नु उचित हुनेछ । राज्यको ढुकुटी, साधन, स्रोत र सुविधाको दुरुपयोग गर्नुलाई पौरख ठान्ने अपसंस्कार अन्त्य गर्न गम्भीर प्रयास नगर्ने हो मुलुकले कार्की प्रवृत्तिबाट मुक्ति पाउनेछैन । पदका आधारमा शक्ति दुरुपयोग गर्ने पदाधिकारीहरूले आत्मनिरीक्षण गरेर कार्की प्रवृत्ति त्याग्न थाल्नु पनि सायद आज उत्तिकै महत्वपूर्ण छ ।

Post a Comment

 
Top