0
गोल्डेन न्यूज संवाददाता
पोखरा सहित यस आसपासको क्षेत्रको दीगो पर्यटनका लागि रामसार क्षेत्रको संरक्षण हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । एविसी न्यूज टेलिभिजनले आठौ बर्ष पूरा गरी नवौं बर्ष प्रवेश गरेको उपलक्ष्यमा बुधवार पोखरामा गरेको पोखराको पर्यटन र रामसार क्षेत्र संरक्षण बिषयक बृहत अन्तरक्रियामा सहभागिले पोखराको फेवा सहित लेखनाथको ७ ताल र कमलपोखरीको संरक्षण गर्नुपर्नेमा जोड दिएका हुन् । गत माघमा रामसार सूचिमा समावेश गरिएको पोखरा उपत्यकाका ९ तालको संरक्षण गर्दै पर्यटन प्रबद्र्धनमा जोड दिनुपर्ने उनीहरुको सुझाव छ । साथै उनीहरुले पर्यटक भित्र्याउन महत्वपूर्ण भूमिका खेल्ने सिमसार क्षेत्रलाई संरक्षण गर्न राज्य उदासिन बनेको समेत आरोप लगाए । निमित्त पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिवाकर बाँस्तोलाले पोखराको पर्यटन ब्यवसायलाई थामेको तालतलैयाको भविष्य अन्योलमा पर्नु दुःखद् भएको बताए। उनले भने–‘पर्यटक भित्र्याउने आधारनै मासेर कसरी प्रबद्र्धन गर्न सकिन्छ ?’ ताल संरक्षणमा सरकारी निकाय सँगै स्थानिय सरोकारवालाहरु पनि जिम्मेवार हुनुपर्ने उनले बताए। कास्कीका स्थानीय विकास अधिकारी दामोदर भण्डारीले रामसार सूचिमा सुचिकृत कास्कीका सबै तालको एकीकृत संरक्षण योजना बनाउने क्रममा रहेको जानकारी दिए । सम्बन्धित सबै सरोकारवाला निकायको जिम्मेवारी वाँडफाँड सहित ताल संरक्षणको योजना बनाउने काम अन्तिम चरणमा पुगेको उनले बताए । ‘तालसँग जोडिएका निकायहरु कुन कुन हुन् ? सबै छुट्टाएर जिम्मेवारी वाँडफाड सहित कार्ययोजना बन्दैछ’ उनले भने–‘एकद्वार प्रणालीबाट बजेट निकासा गर्ने गरी छिट्टै संरक्षणको काम सुरु हुनेछ ।’ अन्तर्राष्ट्रिय महत्वको सिमसार क्षेत्र संरक्षणमा ध्यान दिन उनले स्थानीयलाई पनि आग्रह गरे । लेखनाथ नगरपालिकाका कानून अधिकृत राममणी अधिकारीले लेखनाथको सात ताल संरक्षणमा नगरपालिकाको भूमिका मात्रै पर्याप्त नभएको बताए । उनले संरक्षणका लागि स्थानीय प्रशासनले पनि सकारात्मक हस्तक्षेप गर्नुपर्नेमा उनले जोड दिउ । ‘ताल संरक्षणका लागि नगरपालिकाले मात्रै केहि गर्न सक्दैन’,उनले भने–‘प्रशासनको सकारात्मक हस्तक्षेप आवश्यक छ । जिल्ला वन अधिकृत प्रभात सापकोटाले सिमसार क्षेत्र संरक्षणको लागि जलाधार क्षेत्रमा भूक्षय नियन्त्रणको काम भैरहेको भन्दै हालै संरक्षणका लागि एकीकृत योजनाको खाँचो औल्याए । स्रोत ब्यक्ति संरक्षण फाउण्डेशनका संस्थापक एबं सिमसार विज्ञ सैलेन्द्र पोख्रेलले रामसारको संरक्षण र प्रयोगबाट पर्यटक प्रबद्र्धनको प्रचुर संभावना रहेको स्पष्ट पारे । विभिन्न देशका अन्तर्राष्ट्रिय अभ्यासको दृष्टान्त प्रस्तुत गर्दै उनले पोखराका सिमसार क्षेत्रको सहि प्रयोगमा जोड दिए । कार्यक्रममा उनले रामसारको महत्व, संरक्षणका लागि स्थानीय र सरकारी निकायको भूमिका तथा चुनौति लगायतका विषयमा जानकारी दिएका थिए ।
नेपाल पर्यटन वोर्ड पोखराका प्रमुख उदय भट्टराईले पोखरा सहित नेपालमा पर्यटक आगमन, पर्यटकीय क्षेत्र संरक्षण, प्रबद्र्धनमा वोर्डले गरिरहेको कामको वारेमा जानकारी गराएका थिए । उनले घुमफिर बर्ष २०७३ को वारेमा जानकारी दिदै आन्तरिक पर्यटन प्रबद्र्धनमा जोड दिनुपर्ने बताए ।  लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठीले पर्यटकीय क्षेत्रको संरक्षणमा सरकारी निकाय उदासिन बनेको गुनासो गरे । पोखरा पर्यटन परिषद्का उपाध्यक्ष चिरिञ्जिवी पोखरेल र महासचिव रामु गौतमले कास्कीका पर्यटकीय क्षेत्र र सम्पदा जोगाउन ब्यवसायनै बन्द गरी आन्दोलनमा उत्रनुपर्ने बाध्यताको अन्त्य गर्न आग्रह गरे । ताल किनारमा रहेका सार्वजनिक जग्गा र सम्पदा निजी क्षेत्रलाई ठेक्कामा दिएर सरकारलेनै तालको अतिक्रमणलाई प्रोत्साहन गरेको ब्यवसाीको ठहर छ ।
कार्यक्रममा भूगोलबिद् डा. कृष्ण केसी, पत्रकार जमुना बर्षा शर्मा, स्थानीय रमेश भट्टराई, चुडामणि पहारी, अन्जु क्षेत्री, चतुराखर अधिकारी, ऋषि लामिछाने, राम कार्की, कुमार थापा मगर लगायतले तालको अस्तित्व नरहे पोखराको पर्यटन पनि समाप्त हुने बताएका थिए । एविसी मिडिया ग्रुपका अध्यक्ष शुभशंकर कंडेलले एविसी न्यूज टेलिभिजनले आर्थिक मुद्धालाई प्रथामिकताको साथ उठान गर्ने प्रतिबद्धता जनाए । उनले राजतीनिक गोलचक्कर सँगै बगेका सञ्चार संस्थाहरुको भिडबाट अलग हुदै एबिसी न्यूज टेलिभिजनले स्थानीयस्तरमा हुने सामान्य आर्थिक गतिविधिलाई पनि प्राथमिकता दिने बताए। टेलिभिजनका पश्चिमाञ्चल ब्यूरो प्रमुख एम वी आस्थाले प्रत्येक बर्ष बार्षिकोत्सबको अबसरमा परेर पोखराको महत्वपूर्ण बिषय उठान गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए ।





Post a Comment

 
Top