0
गोल्डेन न्यूज संवाददाता
सञ्चारिका समूह पश्चिमाञ्चलले सञ्चालन गरेको ‘सञ्चारिका पत्रकारिता पुरस्कार २०७३’ बाट बसन्ती बाँस्तोला र ‘गुरुङ ब्युटी एकेडेमी जर्नालिजम अर्वाड २०७३’ बाट भवानी अधिकारी सम्मानित भएका छन् । पत्रकारिताको संस्थागत विकास र पत्रकारितामा निरन्तर क्रियाशील भएको भन्दै अग्रज पत्रकार बद्रीबिनोद प्रतिक संयोजकत्वमा गठित पाँच सदस्यीय प्रतिभा छनौट समितिको सिफारिसको आधारमा पत्रकार बास्तोला र अधिकारी सम्मानित भएका हुन् ।
बिहीवार आयोजित एक कार्यक्रमका बीच सञ्चारिका समूह नेपालकी अध्यक्ष निर्मला शर्माले पुरस्कार प्रदान गरिन् । बाँस्तोलालाई पुरस्कारको साथमा नगद २० हजार १११ रुपैयाँ र अधिकारीलाई १० हजार १११ रुपैया सहित सम्मानपत्र प्रदान गरियो । १३ बर्षदेखि पत्रकारितामा क्रियाशिल बाँस्तोला हाल महिला खबर डटकम, समकोण टेलिभिजन कार्यक्रममा आबद्ध छिन् । तनहुँको सेतीमादी दैनिकबाट पत्रकारिता सुरु गरेकी बाँस्तोलाले कान्तिपुर दैनिकको स्याङ्जा र कास्की संवाददाताको रुपमा काम गरिसकेकी छिन् । कार्यक्रममा पुरस्कृत बाँस्तोलाको बारेमा सञ्चारिका समूह पश्चिमाञ्चलकी उपाध्यक्ष विमला भण्डारीले जानकारी गराएकी थिइन् । बाँस्तोला सञ्चारिका समूह पश्चिमाञ्चलको निवर्तमान अध्यक्ष समेत हुन् ।
 
त्यस्तै पुरस्कृत अर्की पत्रकार अधिकारीको बारेमा पत्रकार स्मिता अधिकारीले जानकारी गराइन् । उनका अनुसार अधिकारी २०५५ सालदेखि पत्रकारितामा क्रियाशिल छिन् । स्याङ्जा सन्देश साप्ताहिक बाट पत्रकारिता सुरुगरेकी उनी हाल अन्नपूर्ण पोष्ट र रेडियो स्याङ्जामा आबद्ध छिन् । उनी सञ्चारिका समूह स्याङ्जाको अध्यक्ष समेत हुन् ।
 
कार्यक्रममा सञ्चारिका समुह नेपाली अध्यक्ष शर्माले पुरस्कृत महिला पत्रकारलाई बधाई दिदै पुरस्कार स्थापना गर्ने ब्यक्ति एबं संस्थालाई धन्यवाद दिइन् । महिलाहरु हरेक क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्न सक्ने भएकाले पत्रकारिताको माध्यमबाट कलम चलाउन आवश्यक रहेको शर्माले बताइन् । पुरस्कृत ब्यक्तित्व वास्तोला र अधिकारीले पुरस्कारले पत्रकारितामा लाग्न अझै उर्जा प्रदान गरेको बताए । पुरस्कार छनौट समितिका संयोजक बद्रिविनोद प्रतिकको प्रतिभा छनौटको बारेमा प्रष्टाएका थिए । प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष रमेश पौडेल, पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, पोखरा उपमहानगरपालिकाका बरिष्ठ अधिकृत ओमराज पौडेल, पुरस्कार स्थापनाकर्ता किण्डर गार्टेन हाइस्कुलका प्राचार्य कमला प्रधान लगायतले पुरस्कृत ब्यक्तिहरुलाई बधाई दिनुको साथै तीजको अवसरमा शुभकामना समेत प्रदान गरेका थिए । सञ्चारिका समुह पश्चिमाञ्चलकी अध्यक्ष जमुना बर्षा शर्माले महिला पत्रकारको क्षमता विकास र उत्प्रेरणाको सवालमा संस्थाले काम गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताइन् ।



Post a Comment

 
Top