0
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको चारदिने राजकीय भ्रमण पूरा गरी नेपाल फर्किएका छन् । उनको यो भ्रमणले नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थपिएको महसुस गरिएको छ । खुला सीमाना भएका दुई मुलुकबीच समय–समयमा समस्या र अनेक प्रकारका असमझदारीहरु उत्पन्न हुने गरेको भएता पनि वार्ता र संवादको माध्यमबाट ती सबै समस्या समाधान हुने गरेको छ । त्यसैक्रममा अहिले नेपालका प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणले दुई देशबीचको सम्बन्ध सुमधुर बनाउन विशेष भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि नेपालसँग भारतको सम्बन्ध निकट र मैत्रीपूर्ण हुनुपर्छ भन्ने कुरासँग सहमत छन् । त्यसैले, यो भ्रमण सार्थक र फलदायी हुने कुरामा कुनै शंका बाँकी रहेको छैन । मेचीदेखि महाकालीसम्मको खुला सीमाना भएको कारण नेपाल र भारतका बीच बेलाबखत अनेक प्रकारका समस्याहरु उत्पन्न हुने गर्दछन् । तर, संवादको माध्यमबाट अहिलेसम्म सबै समस्या समाधान हुने गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालका शुभचिन्तक एक असल मित्र हुन् भन्ने कुरामा अब कुनै शंका बाँकी रहेको छैन । यसैगरी, नेपालका नवनिर्वाचित प्रधानमन्त्री प्रचण्ड पनि भारतसँग हितैषी र निकटको भाइचारा सम्बन्ध स्थापित गरेर नेपालको विकास गर्न प्रयत्नशील छन् । नेपाललाई हालसम्म भारतबाट भएका विभिन्न प्राविधिक तथा आर्थिक सहयोगको अब हामीले उचित मूल्याङ्कन गर्दै द्विपक्षीय सम्बन्ध सुधार र विस्तारमा भएका महत्वपूर्ण भूमिकाका लागि भारतलाई साधुवाद दिनुपर्ने हुन्छ । सम्बन्धहरु कहिल्यै पनि एकपक्षीय भएमा लामो समय टिक्न सक्तैनन् । लिने र दिने नीति तथा सिद्धान्तको आधारमा बलियो बन्दै गएको द्विपक्षीय सम्बन्धलाई अझ बढी सुदृढ बनाउन अहिले भएको नेपालका प्रधानमन्त्रीको भ्रमणले सार्थक भूमिका निर्वाह गर्नेछ । नेपालको संविधान जारी भएको आज असोज ३ गते एक वर्ष पुग्दैछ । हामी सबै नेपालीहरु अब यसको सफल कार्यान्वयनको प्रतीक्षामा रहेका छौँ । भारत सरकारले पनि मधेसी मोर्चाका जायज मागहरुलाई समेटेर संविधान संशोधन भएमा राजनीतिक स्थिरता प्राप्त हुने विश्वास व्यक्त गरेको छ । वास्तवमा भन्ने हो भने नेपालको जनसंख्याको ठूलो भाग ओगटेको मधेसी, थारु र सीमान्तकृत अन्य समुदायलाई नसमेटीकन संविधानले पूर्णता प्राप्त गरेको मान्न सकिँदैन । एक सयभन्दा बढी जाति र जनजातिको साझा फूलबारीका रुपमा सुवासित भएको नेपालमा अब कसैले आपूmलाई नागरिक अधिकारबाट वञ्चित र कुण्ठित ठान्नुपर्ने अवस्था छैन । भारतले यस्तो सुझाव दिए पनि वा नदिए पनि हामी नेपाली आफैँले अनुभव गरेको यो कुरालाई संविधानमा संशोधन गरेर आमनागरिकको अधिकारलाई सुरक्षित बनाउन विशेष प्रयास गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ। रोटी र बेटीको सम्बन्धमा आधारित नेपाल–भारत सम्बन्ध वर्तमान सरकारका प्रमुख प्रचण्डले नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ।





Post a Comment

 
Top