0
रामकुमार महतो
सहलेस र दीनाभद्री राष्ट्रले बिर्सेको राष्ट्रिय गौरवलाई नेपालको राष्ट्रिय विभुती घोषणा गराउन भोर तथा मिथिला पर्यटन अभियानको संयोजन र सहजिकरणमा अभियान भाद्र १२, २०७३ का दिनदेखि नयाँबानेश्वर चौक, काठमाडौंबाट हस्ताक्षर अयिभानको शुभारम्भ गरिएको छ ।
यसरी शुरू गरिएको अभियानको पहिलो दिन तिन हजार सर्वसाधारणले हस्ताक्षर गरेका छन् । भोर, अभियानी तथा अनुसन्धान मूलक परोपकारी संस्थाले सन् २००९ देखि नै मुसहर समुदायको समग्र उत्थान लगायत मिथिलाका बहुआयामी संस्कृती सम्पदाको संरक्षण तथा प्रवद्र्धनका लागि र मिथिला पर्यटन स्थापित र प्रवद्र्धन गराउन विभिन्न अभियानी पहलहरू गर्दै आएको छन् ।
यस हस्ताक्षर अभियानलाई विभिन्न स्टलहरूमार्फत हजारौं व्यक्तिको स्वस्र्फुत र स्वंयसेवी हस्ताक्षर संकलन गराउने कार्यमा वीरवहादुर महतो, देवेन्द्रराज सिंह, डा. सिके सिंह, नागेन्द्र साह, धिरेन्द्रनाथ, विजय महतो, विकेश मल्ल, सुमन घले, विष्णु तिमलसिन्ना, पुष्पा यादव, रामसुधार यादव, प्रदिप ऋषिदेव, सागर माझी, अमितेष शाह, लगायतका २५ जनाभन्दा बढीका स्वंयमसेवकहरूले महत्वपूर्ण योगदान दिए । यो अभियान प्रत्यक्ष हस्तलिखित हस्ताक्षर र अनलाइन गरी दवै प्रविधिबाट संचालन गरिने भएको छ । चेन्जडटओआरजी  मा आधिकारीक रूपमा दर्ता गराई यस अभियानको अनलाइन हस्ताक्षरको व्यवस्था समेत आजको मितिबाट नै मिलाइएकोे छ । देशविदेशमा रहेका नेपाली तथा विदेशी नागरिकहरूलाई हस्ताक्षर गर्न सजिलो होस भनेर यो अनलाइन हस्ताक्षरको व्यवस्था मिलाइएको छ । यस हस्ताक्षर अभियानलाई आगामी दिनमा काठमाडौंका विभिन्न स्थानहरू र देशका अन्य भागहरूमा खास गरि मिथिला क्षेत्रमा संचालन गरिने छ । भोरद्वारा संयोजित यस अभियानले गर्दा सलहेस र दीनाभद्रीको गाथा, महिमा, र महत्ताको बारेमा जनसमुदाय र सरोकारवालाहरूको चासो र एक्यबद्धतामा उल्लेखनिय अभिवृद्धि गराउने लक्ष्य पनि रहेको छ ।
यसरी संकलन गरिएको हस्ताक्षरहरू नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाइने छ । यस अभियानमा नेपाल सरकारका मन्त्री, राजनीतिकर्मी, कलाकार, विद्यार्थी, कर्मचारी लगायत विभिन्न पेशा, वर्ग, क्षेत्र, तथा समुदायको नेपाली नागरिक र विदेशी नागरिकहरूले समेत स्वेच्छिक रूपमा हस्ताक्षर गर्न अपिल गर्ने र व्यवस्था मिलाइएको छ । नेपाल सरकारलाई संकलित हस्ताक्षर हस्तान्तर पश्चात जिम्मेवार निकायहरूसित निरन्तररूपमा यसको अनुगमन गरी र यस प्रकृयामा आउने चुनौतीहरूलाई समाधान गर्दै सहलेस र दीनाभद्रीलाई राष्ट्रिय विभुती घोषणापश्चात मात्र यस अभियानले विराम लिनेछ ।
को हुन सहलेस ?
मिथिलाको हावापानी, खेत–खलो, गाउँघर, पशु–पंक्षी, वन–जंगल सर्वत्र लोकप्रिय पात्र हुन्, राजा सहलेस, राजर्षी राजा जनक पछि मिथिलामा उनलाई प्रादुरभाव भएकोव्यक्तित्व मानिन्छ । पांचौ–छैठौ शताब्दीतिर मिथिलामा आफ्नो पराक्रम र चमत्कारीक नेतृत्वले गर्दा आजसम्म उनको चर्चा छ । महिसौथा, हालको सिरहा माडर उनको जन्मस्थल हो । उनको वास्तविक नाम भने राजा जयवर्धन सैलेश रहेको थियो ।
 यिनी कुनै दन्त्य कथाका पात्र होइनन्, न त पुराणका यशस्वी राजर्षि नै हुन् । उनी त्यतिबेला राजा भएता पनि लोककल्याणमा सक्रिय थिए जसकारण उनी जनताका प्रिय पात्र बनेको बताइन्छ । त्यसैले आज आममानिस नै यिनको अमरत्वको रक्षक बनेका छन् ।
उनको व्यक्तित्वमा अचम्मको आकर्षण छ । प्रेम, प्रकृति, शौर्य, न्याय र नेतृत्व सबै गुणमा उनी सबल मानिन्थे । सलहेस मात्र नभएर उनका सहयोगी पात्रहरू पनि देउताझैँ पूजिन्छन् । पूर्वी नेपाल र उत्तरी बिहार अर्थात मिथिला क्षेत्र सलहेसको कर्मथलो रह्यो ।  मिथिलामा अन्याय, अत्याचार र अराजकता बढेको समयमा सलहेसको प्रादुर्भाव भएको थियो । उनलाई मिथिला क्षेत्रमा अन्याय र अत्याचार विरूद्ध लडेका विद्रोही पात्रका रूपमासमेत चिनिन्छ । उनलाई तराईंको दुसाध समुदायले अहिले पनि भगवानका रूपमा पुजा गर्नेगर्छन् ।
सिरहाको लहानदेखि चार किलो मिटर पश्चिममा उनको नाममा राखिएको सलहेश फुलबारी छ । हरेक वर्षको नयाँ वर्षमा उक्त फुलबारीमा फुल फुल्ने गर्छ । फुलबारीमा पुजा गर्न आउने मनोकांक्षा पुरा हुने विश्वास गरिन्छ । यो फुलबारीमा राजा सलहेस फुल टिप्ने जान्थे भन्ने किवंदन्ती छ । सलहेसलाई उनकी प्रेमीका कुशमा मालिनले हरेक दिन त्यहाँ फुलको माला अर्पण गर्थिन भन्ने विश्वास छ । त्यही प्रेमको प्रतिकका रूपमा आज पनि त्यहाँ फूल फुल्ने गरेको विश्वास गरिन्छ । वैशाख १ गते त्यहाँ ठुलो मेला लाग्ने गर्छ जहाँ नेपाल र भारतबाट लाखौं मानिस आउने गर्छन् ।
को हुन् दीनाभद्री ?
आर्य सभ्यताको प्रभाव बढदै गइरहेको प्रारम्भिक कालमा दीनाभद्री दुई दाजुभाई थिए । अहिलेको सप्तरीमा पर्ने कटैयाखापमा यिनीहरूको मूल केन्द्र थियो । दिन–भद्री मैथिली समाजका लोकनायकका रूपमा पुजिन्छन् । नेपालमा जन्मिएको भए पनि भारतको मैथिल र मुसहर बस्तीमा समेत दीनाभद्रीको गाथा गाइने भएकाले अझ यो अर्थपूर्ण छ । सप्तरी जिल्लाको जोगियाजाँजर गाउँमा कालु सदा र आमा नीरसोको कोखबाट दुई पुत्र दीना र भद्री जन्मिएका थिए । बाल्यकालदेखि नै दुवै दाजु–भाई वीर एवम् साहसी थिए । कुश्ती खेल्नमा सिपालु रहनुका साथै सामाजिक न्यायका सच्चा पहरेदारको रूपमा प्रस्तुत भएका कारण उनीहरूको वीरताको चर्चा त्यति बेला जन–जनमा चलेको थियो ।
उनीहरूको मुख्य पेशा भनेको खेतिकिसानी नै थियो । लोकगाथामा उल्लेख भएअनुसार दाजु दीना र भाई भद्रीले पाँच मनको कोदालो चलाउने गर्दथे । दुवै दाजुभाई सामन्ती प्रथाका कट्टर विरोधी थिए । गिरहत (मालिक)को ‘जीहजुरी’ नगरी स्वतन्त्ररूपमा मजदुरी गर्नका लागि मुसहर समुदायलाई प्रेरित गर्ने गर्दथे । मजदुरमाथि दमन शोषण गर्ने वा काम गराएर ज्याला नदिने विरूद्ध उनीहरू जाइलाग्ने गर्दथे ।
जोगिया जाँजरका सामन्त कनक सिंहले उपेक्षित, उत्पिडित एवं निम्नवर्गका व्यक्तिहरूलाई जबरजस्ती काममा लगाएर मजदुरी समेत दिंदैनथे । एक दिन बिहानै कनक सिंह दीना–भद्रीको आँगनमा गएर खेतमा काम गर्नका लागि आउन भने । सिंगो गाउँनै आफ्नो खेतमा बेगारी (बिनामजदुरी) खटिरहेको बताएपछि उनीहरूले सामन्त कनक सिंहलाई कठालो समातेर बेस्सरी कुटेको लोक गाथामा प्रसङ्ग उल्लेख छ । उनीहरूको वीरताको सम्बन्धमा अर्को प्रसंग के छ भने सप्तरीको भारतीय सीमावर्ति क्षेत्र कुनौलीमा जोराबर सिंह नाउँका एक जना राजपुतले त्यस क्षेत्रका मानिसलाई शोषण, दमन, अत्याचारका साथै नारी अस्मितामाथि समेत खेल्ने गर्दथे । उनले कुनौली क्षेत्रपुर्व, पश्चिम, दक्षिण वा उत्तरतिरबाट पहिलोपटक ससुरालीजाने नवविवाहितालाई एक रातका लागि जवरजस्ती पक्रेर ल्याउँथे ।
यस प्रकारको अत्याचारबाट मुक्ति दिलाउनका लागि दीना र भद्री दुलहीको डोलामा आफै बसी कुनौली पुगेका थिए । उक्त डोला जोराबर सिंहको घर पु¥याईन्छ । तत्पश्चात जोरावर सिंहसँग पहलमानी (कुश्ती) लडेर मारेको कुरा लोकगाथामा उल्लेख भएको पाइन्छ । यसरी एउटा अत्याचारीको अन्त्य गरेर दीना–भदरीले त्यस क्षेत्रका जनतालाई चयनको साँस फेर्ने मौका दिए ।
शोषण, दमन, अन्याय अत्याचार विरूद्ध चालेका साहसिक कदम तथा क्रियालापहरूका कारण आज पनि दीना–भद्री मधेशमा देवताको रूपमा पूजित छन् । सप्तरी सिरहालगायतका मधेशका जिल्लाहरूमा देवीदेवताको पूजा गर्ने बेलामा दीना–भद्रीको पूजाको अनिवार्यता हुन्छ । (महतो भोरका अध्यक्ष हुन् ।)
(मधेश दर्पण फिचर सेवा)










Post a Comment

 
Top