0
गोल्डेन न्यूज संवाददाता
पोखरामा मुख्य कार्यालय रहेका राष्ट्रियस्तरका दुई विकास बैंक मर्जर हुने भएका छन् । गण्डकी विकास बैंक र फेवा विकास बैंकले मर्जरमा जाने सहमति गरेका हुन् । राष्ट्रियस्तरको बिकास बैंकले ०७४ असार मसान्तसम्ममा चुक्ता पूँजी दुई अर्ब ५० करोड रुपैयाँँ पुर्याउनु पर्ने हुन्छ । राष्ट्रियस्तरको विकास बैंककै रुपमा रहिरहन पोखरा क्षेत्रका यी दुई बैंकले मर्जमा जाने निर्णय गरेका हुन् । फेवा विकास बैंकको चुक्ता पुँजी ९९ करोड ५० लाख रुपैयाँ छ । गण्डकीको चुक्ता पुँजी ५३ करोड ८५ लाख रुपैयाँ छ । यी दुई बैंक गाभिएपछि बन्ने नयाँ बैंकको चुक्तापूँजी डेढ अर्ब बढी हुने बताइएको छ । फेवा विकास बैंकको जगेडा कोषमा ४९ करोड रुपैयाँ छ भने गण्डकीको जगेडा कोषमा २१ करोड ६७ लाख रुपैयाँ छ । फेवा विकास बैंकले ११ अर्ब ७३ करोड निक्षेप उठाएर १० अर्ब २२ करोड कर्जा लगानी गरेको छ । त्यस्तै गण्डकीले ५ अर्ब ५३ करोड निक्षेप उठाएर चार अर्ब ६१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । फेवा विकास बैंकले गत बर्ष ३० करोड रुपैयाँ खुद नाफा गरेको थियो भने गत असार मसान्तसम्म गण्डकीले १३ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
फेवाको पुँजी कोष अनुपात १३ प्रतिशत माथि छ भने खराव कर्जा आधा प्रतिशत मात्र छ । गण्डकीको पुँजी कोष करिव १४ प्रतिशत छ भने खराब कर्जा ० दशमलव १९ प्रतिशत मात्र छ ।
 
यसैबीच गण्डकी विकास बैंकले गत आर्थिक बर्षको मुनाफाबाट १९ दशमलव ५७ प्रतिशत वोनस शेयर दिने घोषणा गरेको छ । बैंकले एक प्रतिशत कर प्रयोजनका लागि नगद लाभांस दिने भएको छ । फेवा विकास बैंकले भने बोनश प्रस्ताव गरेको छैन् । फेवाले पनि २० प्रतिशतकै हाराहारीमा बोनश दिने सम्भावना देखिन्छ । दुई बैंकले बाड्ने बोनश शेयर समेत जोड्दा चुक्तापूँजी ३० करोड रुपैयाँ हाराहारीले बढ्नेछ । यो अवस्थामा नयाँ बैंकको पूँजी एक अर्ब ८० करोडको हाराहारी पुग्ने देखिन्छ । यी दुई बैंकले मर्जरमा जाने सहमति पछि नेपाल स्टक एक्सचेञ्चमा शेयर कारोबार समेत रोक्का भएको छ ।


Post a Comment

 
Top