0
राजाराम पौडेल÷गोल्डेन
राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपालको नयाँ नेतृत्वको लागि चुनावी सरगर्मी बढ्दै गएको छ । आश्विन ८, ९ र १० गते काठमाडौंमा हुने छैटौं केन्द्रीय अधिवेशनका लागि देशैभरबाट चुनिएका प्रतिनिधि राजधानी काठमाडौंतर्फ लागेका छन् ।  केन्द्रीय नेतृत्वका लागि वद्री पंगेनी, टिकाराम चपाई र विष्णु खत्रीले इच्छा जाहेर गरेको स्रोतले जनायो । पाल्पाका पंगेनी हालको कार्यसमितिका वरिष्ठ उपाध्यक्ष हुन् ।  सुर्खेतका टिकाराम चपाई वर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष हुन् । बाग्लुङका  खत्री भने अघिल्लो अधिवेशनमा अध्यक्षमा पराजित भएका थिए । यो दौडमा अन्य उम्मेदवार भन्दा  पंगेनी अगाडि रहेको स्रोतको दावी छ । सर्वसम्मत नेतृत्व चयन गर्नको लागि छलफल भइरहेको समेत बुझिएको छ ।
नेतृत्व लिने व्यक्ति आफ्नो पक्षको भएमा साँगीतिक यात्रा सहज हुन सक्ने भएकोले नयाँ तथा पुराना सबै कलाकारले आफ्नो पक्षको व्यक्तिलाई नेतृत्वमा ल्याउन भित्रभित्रै तयारी थालेका छन् । नेतृत्वमा पुग्ने इच्छा देखाएकाहरु पनि आफू नेतृत्वमा पुग्न सके यो क्षेत्रबाट विस्थापित हुन नपर्ने र प्रतिष्ठा बढ्ने भन्दै आफ्नो पक्षमा सर्मथन जुटाउने तयारीमा व्यस्त छन् । कार्यसमितिको अन्य पदमा जाने इच्छा देखाउनेको संख्या पनि लामै छ । यसरी इच्छा देखाउनेमा वरिष्ठ उपाध्यक्षमा रमेश विजी, विमलराज क्षेत्री, प्रथम उपाध्यक्षमा पशुपती शर्मा, द्वितीय उपाध्यक्षमा राम्जी खाँड, पार्वती जिसी, महिला शाखा उपाध्यक्षमा रिता थापा मगर, महासचिवमा शिरिष देवकोटा, सुवास केसी, सचिवमा चोलेन्द्र पौडेल, पुष्कल शर्मा, खुमन अधिकारी, कृष्ण रेउले, नविन पौडेल, राधिका हमाल, राजु गुरुङ, होम गैह्रे कोषाध्यक्षमा तारापती सुवेदी, दिपक खड्का, सह–कोषाध्यक्षमा नारायण भूषाल आकांक्षीको रुपमा रहेका छन् । यो संख्या उम्मेदवारी दर्ता हुने दिनसम्ममा झनै बढ्नेछ । केन्द्रीय सदस्यमा समेत विभिन्न कलाकारले उम्मेदवारी दिने तयारी गरेका छन् । गण्डकी अञ्चलले जीवन दाहाललाई केन्द्रीय सदस्यको उम्मेदवार बनाएको छ । सामाजिक सञ्जाल मार्फत उम्मेदवारी घोषणा गर्ने र मत माग्ने क्रम बढ्दै गएको छ ।
यता कास्की जिल्लाका चार जना लोकदोहोरी कलाकारले छैटांै अधिवेशनमा उम्मेदवारी दिने भएका छन् । जसमा पार्वती जिसी, चोलेन्द्र पौडेल, तारापती सुवेदी र जीवन दाहाल रहेका छन् । उनीहरुलाई विजय गराउन प्रतिष्ठान अञ्चल कमिटि गण्डकी र जिल्ला कमिटि कास्कीले लविङ गरिरहेको छ । कास्की जिल्लाबाट ८१ जना प्रतिनिधिले अधिवेशनमा प्रतिनिधित्व गर्नेछन् ।
यसैगरी प्रतिष्ठान गण्डकीबाट ५ जना प्रतिनिधि रहेका छन् । अञ्चल कमिटी गण्डकीको मातहतमा रहेका जिल्ला कमिटीहरु तनहुँबाट २१ जना, लमजुङबाट १० जना, गोरखाबाट १६ जना र स्याङ्गजाबाट ३० जना प्रतिनिधिले अधिवेशनमा भाग लिनेछन् । पछिल्लो क्रममा यो क्षेत्रमा  विकृति बढिरहेको व्यापक गुनासो आइरहेकोले नयाँ नेतृत्वसँग विकृति अन्त्य गर्नुपर्ने चुनौती नयाँ नेतृत्वसँग छ । अधिवेशनमा देशभर र विदेश विभागका गरी २ हजार प्रतिनिधिको सहभागिता रहने छ । उद्घाटन सत्र खुल्लामञ्चमा र बन्द सत्र कमलादीमा रहेको प्रज्ञा भवनमा हुनेछ ।
पार्वती जिसी
(द्वितीय उपाध्यक्ष पदकी उम्मेदवार)
एक सय भन्दा बढी लोक दोहोरी गीतमा आफ्नो आवाज गरेर दर्शक श्रोताको माया जित्न सफल पार्वती जिसीले छैटौ अधिवेशनमा द्वितीय उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेकी छन् । दुई कार्यकाल राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्य भइसकेकी उनी प्रतिष्ठानमा अनावश्यक राजनीतिलाई प्रवेश गराउँदा यो क्षेत्र तहसनहस हुन थालेको गुनासो गर्छिन् । यो क्षेत्रमा निरन्तरता दिने महिला कलाकारको संख्या कम रहेको बेला महिला कलाकारको हौसलाको लागि आफ्नो उम्मेदवारी भएको बताउँछिन्। कास्की जिल्लाको लाहाचोक गा.वि.स.–१, मा बुबा चन्द्र बहादुर र आमा जमुना जिसीको साहिँलो सन्तानको रुपमा जन्मिएकी जिसीसँग १८ वर्ष सम्म लोक दोहोरी साँझमा गीत पस्केको अनुभव समेत छ । वि.स.२०५५ सालमा रेडियो नेपालमा स्वर परीक्षा उनले उत्तीर्ण गरेकी हुन् । स्वर परीक्षा उत्तीर्ण गुर्नभन्दा पहिलेनै २०५४ मा ‘पिपल छायाले’ एल्बम निकालेकी थिइन् । विकृति रहित लोकदोहोरी क्षेत्र बनाउन आफूले उम्मेदवारी दिन लागेकोले अत्याधिक मतले निर्वाचित गर्न उनको आग्रह छ ।
चोलेन्द्र पौडेल
(सचिव पदका उम्मेदवार)
राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपालको वर्तमान केन्द्रिय सदस्य रहेका गायक चोलेन्द्र पौडेलले छैटौ अधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । कास्कीको भलाम–४ मा बाबु लेखनाथ पौडेल तथा आमा हेमकुमारी पौडेलको सन्तानको रुपमा वि.स.२०३५ सालमा जन्मिएका उनीसँग प्रतिष्ठान गण्डकीको अध्यक्ष भएर काम गरेको अनुभव छ । उनले गण्डकीको नेतृत्व सम्हाल्दा उत्कृष्ट शाखाको रुपमा गण्डकीलाई केन्द्रले सम्मान गरेको थियो । उनी गीत गाउन मात्र नभएर स्टेज कार्यक्रम सञ्चालनमा समेत अब्बल छन् । पोखराको विसौनी दाहोरी साँझको सञ्चालक समेत रहेका उनीसँग दोहोरी साँझमा काम गरेको लामो अनुभव छ । लोक दोहोरी क्षेत्रमा आफनो क्षमता देखाउनका लागि सचिव पदमा अत्याधिक मत दिएर विजयी गराउन आम अधिवेशन प्रतिनिधिसँग उनको आग्रह छ ।
तारापती सुवेदी
(कोषाध्यक्ष पदका उम्मेदवार)
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्की र गण्डकीको संस्थापक अध्यक्ष रहेका लोक दोहोरी गायक तारापती सुवेदीले छैटौ अधिवेशनमा कोषाध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् । प्रतिष्ठानको केन्द्रीय कार्य समितिको सदस्य समेत रहेका उनले आम प्रतिनिधिको मन जित्न आफू सफल हुने आशा गरेका छन् । उनको साँगीतिक फाँटको औपचारिक शुरुवात २०५२ सालमा मगर भाषाको गीतमा आवाज भरेर भएको हो । वि.स. २०५४ सालमा रेडियो नेपाल सिहँदरवार काठमाडौंमा ‘फेवातालमा डुङ्गा चढेर’ बोलको गीत गाएर स्वर परीक्षा उत्तीर्ण उनले गरेका थिए । स्वर परिक्षा उत्तीर्ण हुनुभन्दा पहिलेनै ‘फुर्के डोरीलाई’ श्रोतामाझ उनले पस्केका थिए । झण्डै १८ वर्षसम्म निरन्तर दोहोरी साँझमा आफ्नो प्रस्ुतति राखेर उनी खारिएका छन् । वि.स. २०३४ सालमा कास्की जिल्लाको कास्कीकोट गाउँ विकास समिति वडा नं. ३ मा बुबा धनपति र आमा तिलमाया सुवेदीको कान्छो सन्तानको रुपमा उनको जन्म भएको हो । निरन्तर लोक दोहोरी क्षेत्रमा लाग्ने योजनाका साथ कोषाध्यक्ष पदमा उम्मेदवारी दिन लागेकोले सहयोग गर्न अधिवेशन प्रतिनिधिसँग उनी आग्रह गर्छन् ।
जीवन दाहाल
(केन्द्रीय सदस्य पदमा उम्मेदवार)
राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान अञ्चल कार्यसमिति गण्डकीको निवर्तमान अध्यक्ष जीवन दाहालले केन्द्रीय अधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । उनको उम्मेदवारीलाई अञ्चल कार्यसमिति गण्डकीको सर्मथन रहेको छ । कास्कीको ढिकुरपोखरी–९ मा बुबा स्व.देवीराम र आमा जमुना दाहालको १३ औँ सन्तानको रुपमा दाहालको जन्म भएको हो । साँगीतिक फाँटमा उनको औपचारीक शुरुवात २०५४ सालमा रेडियो नेपालमा स्वर परीक्षाका लागि ‘कास्की बैदाम ताल’ बोलको गीतमा आवाज भरेर भएको हो ।  उनीसँग राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीको महासचिव र प्रतिष्ठान कास्कीको अध्यक्षको जिम्मेवारी सम्हालेको अनुभव छ । उनको नेतृत्व रहेको बेला प्रतिष्ठान गण्डकीले दुईपटकसम्म उत्कृष्ट शाखाको पुरस्कार प्राप्त गरेको थियो । कुशल कार्यक्रम सञ्चालकको छवी समेत बनाउका उनीसँग दोहोरी साँझमा प्रस्तुति राखेको लामो अनुभव समेत छ । लोक दोहोरी क्षेत्रमा देखिएका विकृति विसंगतिको अन्त्यको लागि केन्द्रिय सदस्य पदमा आफूलाई विजयी गराउन आम महाधिवेशन प्रतिनिधि समक्ष उनको अनुरोध छ ।
प्रतिक्रियाका लागि ः
उयउमष्बचथ२नmबष् ि।अयm








Post a Comment

 
Top