0
गोल्डेन न्यूज संवाददाता
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले उद्योगी तथा व्यवसायी मतदाताको विश्वासलाई आफूले टुट्न नदिने बताएका छन् । पोउवासंघमा आवद्ध केही वस्तुगत संघहरुले संयुक्त रुपमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष पालिखेले पोखराको समग्र विकास र उद्योगी व्यवसायीको हकहित र काम गर्न सक्छ भनेर आफूलाई मत दिएको बताए। उनले उद्योगी व्यवसायीको आशा र मतदाताको मतको सधैं कदर गरेर अघि बढ्न तयार रहेको स्पष्ट पारे ।
 
उनले भने–‘पोउवासंघको वर्तमान नेतृत्वप्रति धेरैले आशा र अपेक्षा गर्दै हामीलाई जून जिम्मेवारी थमाएका छन् त्यो जिम्मेवारी पूरा गर्न म र मेरो टीम प्रतिवद्ध छ ।’ पोखराको समस्याका विषयमा सरकार तथा सरोकारवाला निकायसंग छलफल भइरहेको अध्यक्ष पालिखेले बताए । कार्यक्रममा संघको निर्वाचनमा पराजित भएका अध्यक्ष तथा अन्य पदका उम्मेदवार सहभागी थिएनन् । त्यसै प्रसङ्गलाई कोट्याउँदै अध्यक्ष पालिखेले दुःखेसो समेत पोखे । उनले भने–‘आफू पहिलो पटक अध्यक्षमा पराजित हुँदा जित्ने राजेन्द्र लालचनकै निवासमा पुगेर बधाई दिएको थिएँ तर यस पटक मैले जित्दा चुनाव हार्नेहरु कोही पनि आएनन् । यसले मलाई दुःखी बनाएको छ ।’ प्रजातान्त्रिक अभ्यासमा हार जित स्वभाविक भएकाले यसलाई नराम्रो मान्न नहुने उनले बताए । ‘निर्वाचनमा पराजित भएका साथीहरुको पनि सहयोग संघमा अति आवश्यक छ । उहाँहरुलाई समेटेर अघि बढ्ने प्रयत्न गर्नेछु’, उनले भने–‘पोखराको विकास र उद्योगी व्यवसायीको हक हितका लागि सबै एकैठाउँमा उभिन जरुरी छ र सबैलाई एकैठाउँमा उभ्याउन प्रयत्न गर्नेछु । उनले उद्योगी तथा व्यवसायीको समस्याका बारेमा तथ्याङ्कन र सामूहिक बीमा गर्र्ने तयारी भइरहेको जानकारी दिंदै केही समयमै सबै समस्या पत्ता लाग्ने र समाधान गर्नका लागि प्रतिवद्ध भएर लाग्ने प्रतिवद्धता जनाए। उनले वृहत्तर विकास मञ्च गठन गर्ने तयारी भइसकेको समेत उक्त अवसरमा जानकारी दिए । वृहत्तर पोखरा विकास मञ्च गठन भए पोखराको सामाजिक उत्थान र विकासमा महत्वपूर्ण टेवा पुग्ने उनको विश्वास छ । पोखराको सबै क्षेत्रमा सौर्यवत्ति जडान, कास्कीका गाउँमा टुरिजम सिटी र पोखरालाई अर्गानिक भिलेज बनाउने आफ्नो लक्ष्य रहेको समेत उनले बताए ।
 
कार्यक्रममा क्षेत्रीय उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सञ्जीवबहादुर कोइरालाले उद्योगी व्यवसायीको हक हितमा सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । पोउवासंघका पूर्व अध्यक्ष समेत रहेका उनले पोउवासंघ आर्थिक संकटमा रहेको भन्दै यो संकट टार्न सबै उद्योगी व्यवसायी सदस्यको भूमिका महत्वपूर्ण हुने स्पष्ट पारे । उद्योगी व्यवसायीले संघको नयाँ नेतृत्वप्रति ठूलो आशा गरेकाले नयाँ नेतृत्वले आफ्नो प्रतिवद्धता अनुरुप काम गर्नुपर्नेमा उनले जोड दिए । संघको प्रत्येक गतिविधिमा वस्तुगत संघलाई संगै लिएर अघि बढ्न नयाँ टीमलाई सुझाव दिंदै उनले गैर व्यवसायीको अन्त्य गर्न सबैले आ–आफ्नो क्षेत्रबाट सक्दो पहल गर्नुपर्ने बताए । उच्च स्तरीय व्यवसायी संयन्त्रका संयोजक तथा इलेक्ट्रिकल व्यवसायी समितिका अध्यक्ष बालकृष्ण बरालको अध्यक्षतामा भएको कार्यक्रममा मदिरा व्यवसायी संघका अध्यक्ष तारा ढुंगाना, औषधि व्यवसायी संघका अध्यक्ष तथा पोउवासंघका सदस्य यामनाथ पौडेल, संयन्त्रका महासचिव नारायण सुवेदी लगायतले बोलेका थिए ।  



Post a Comment

 
Top