0
गोल्डेन न्यूज संवाददाता
लोक तथा दाहोरी गायक जीवन दाहालले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आगामी महाधिवेशनको लागि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । सोमवार पोखरामा पत्रकार सम्मेलन मार्फत उनले उमेदवारी घोषणा गरेका हुन् । प्रतिष्ठान नेपालको आगामी असोज ८, ९ र १० गते काठमाडौं मा हुने छैठौं महाधिवेशनको लागि आफूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने उनले घोषणा गरे । जिल्ला र अञ्चल कमिटीमा काम गरेको अनुभवको आधारमा केन्द्रीय समितिलाई अझै गतिशिल बनाउने प्रतिबद्धता सहित उनले उम्मेदवारी घोषणा गरेका हुन् । तीन दर्जन भन्दा बढी लोक तथा दोहोरी गीतका एल्बम निकालिसकेका दाहाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्की शाखाको संस्थापक उपाध्यक्ष हुन् । २०५८ सालमा प्रतिष्ठानको कास्की शाखा स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका उनी उपाध्यक्ष, सचिव हुदै कास्की शाखाको अध्यक्ष समेत भए। २०६७ सालमा प्रतिष्ठानको गण्डकी अञ्चल समिति सचिव हुँदै उनी २०७० सालमा प्रतिष्ठानको अञ्चल अध्यक्ष समेत भएका थिए । उनी जिल्ला सचिव र अध्यक्ष भएका बेला दुई पटकसम्म कास्कीलाई प्रतिष्ठानको उत्कृष्ट जिल्ला शाखाको रुपमा उभ्याए । त्यस्तै अञ्चल सचिव र अध्यक्ष भएपछि पनि देशभरबाट उत्कृष्ट अञ्चलको रुपमा दुई पटक सम्म उत्कष्ट बनाउन सफल भए । जिल्ला र अञ्चल समितिमा रहेर उत्कृष्टता प्रदान गरेकै कारण उनी सोहि कार्यकुशलतालाई देखाउने गरी केन्द्रीय समितिमा प्रवेश गर्न लागेका हुन् । सबै क्षेत्रको सहयोग र समर्थनबाटै आफु अघि बढ्ने उनले प्रतिबद्धता जनाएका छन् । दाहालको औपचारिक गायन यात्रा २०५४ सालमा रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र पोखराबाट स्वर परीक्षा पास गरेपछि सुरु भएको थियो । उनले सयौ लोक तथा दोहोरी गीत प्रतियोगितामा उत्कृष्टता समेत हासिल गरेका छन् । पत्रकार सम्मेलनमा उपस्थित प्रतिष्ठान नेपालका संरक्षक प्रजापति पराजुलीले प्रतिष्ठानमा उत्कृष्ट ब्यक्तिहरुको खाचो रहेकाले दाहालको प्रवेश फलदायी हुने विश्वास ब्यक्त गरे । उनले दाहाललाई सफलताको शुभकामना समेत दिए ।
 
त्यस्तै अग्रज पत्रकार गंगाधर पराजुली, गायिका पार्वती जिसी, लगायतले दाहाललाई सफलताको शुभकामना दिएका थिए । गायिका जिसीले सोहि अवसरमा आगामी महाधिवेशनमा आफू उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने सोचमा रहेको समेत जानकारी दिइन् । प्रतिष्ठान नेपालको उद्घाटन काठमाडौंको खुल्ला मञ्जमा असोज ८ गते उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने कार्यक्रम छ भने बन्दसत्र र निर्वाचन कार्यक्रम कमलादी स्थित प्रज्ञा भवनमा हुनेछ । आसन्न महाधिवेशनको लागि देशभरबाट विभिन्न पदमा उम्मेदवारी घोषणाको क्रम चलिरहेको छ । अधिकांश उमेदवारले सामाजिक सञ्जाल मार्फत उम्मेदवारी घोषणा गरेको भएपनि दाहालले आफ्नो कर्मक्षेत्रबाटै पत्रकार सम्मेलननै गरी उम्मेदवारी घोषणा गरेका हुन् ।

Post a Comment

 
Top