0
गोल्डेन न्यूज संवाददाता
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको सचिवालय र संघीय गठबन्धनको बैठक छुट्टा–छुट्टै बस्यो । फरक–फरक समयमा बसेका ती दुईवटै बैठकको एजेण्डा थियो–असोज ३ गतेका लागि आन्दोलनको कार्यक्रम घोषणा गर्ने । तर, एजेण्डामा नै नरहेको निर्णय गठबन्धनको बैठकबाट सार्वजनिक भएपछि मोर्चा र गठबन्धनमा विवाद चुलियो । असोज ३ गते सरकारले सविधान दिवस मनाउने निर्णय गरेपछि गठबन्धन र मोर्चाले सो दिनलाई कालो दिवसकै रुपमा मनाउने निर्णय गर्न बैठक बोलाएको थियो । तराई मधेश लोकतान्त्रिक पार्टी कार्यालयमा दिउँसो १ बजे बसेको बैठकमा कालो दिवस तीन दिनसम्म मनाउने निर्णय गर्यो, जुन एजेण्डामै थियो । निर्णय सार्वजनिक भयो, तर यस्तो निर्णय भएको कुरा ३ बजे बसेको गठबन्धनको बैठकलाई थाह भएन । जब कि मोर्चाको बैठकमा उपस्थित रहेका राष्ट्रिय मधेश समाजवादी पार्टीका महासचिव केशव झा र तराई मधेश लोकतान्त्रिक पार्टीका वरिष्ठ नेता रामनरेश राय यादव तथा फोरम नेपालका महासचिव रामसहाय यादव पनि गठबन्धनको बैठकमा सहभागि थिए । तर, मोर्चाले गरेको निर्णय सार्वजनिक भएको कुरा कसैलाई थाह थिएन । मोर्चाका सचिवालयले गरेको निर्णय सार्वजनिक गर्ने सहमति थिएन, तर तमलोपाका उपाध्यक्ष वृषेशचन्द्र लालले आफ्नै तरिकाले विज्ञप्ति जारी गरेको आरोप रामसपाका महासचिव केशव झाको छ । मोर्चाको सचिवालयमा भएको निर्णयबारे गठबन्धनको बैठकमा जानकारी गराउने र पछि संयुक्त रुपमा विज्ञप्ति जारी गर्ने कुरा थियो । तर, मोर्चा र गठबन्धनमा विवाद ल्याउनका लागि गठबन्धनलाई जानकारी नै नदिइकन विज्ञप्ति जारी गरेको आरोप छ । तर कुरा यति मात्र होइन । गठबन्धनको त्यो दिनको बैठकमा सम्पूर्ण अध्यक्षको अनिवार्य उपस्थिति थियो तर राजेन्द्र महतो अध्यक्ष रहेका सद्भावना पार्टी, अनिल झा अध्यक्ष रहेका नेपाल सद्भावना पार्टी, राजकिशोर यादव अध्यक्ष रहेको मधेशी जनअधिकार फोरम गणतान्त्रिक, महन्थ ठाकुर अध्यक्ष रहेको तराई मधेश लोकतान्त्रिक पार्टीका प्रतिनिधिहरु समेत बैठकमा गएनन् ।‘जुन बैठकबाट सविधान संशोधन प्रस्तावको मस्यौदा तयारी समिति गठन भयो, त्यही नै विवादको जड भयो । यो समिति बनाउने बैठकको एजेण्डामा थिएन । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो भन्छन्, ‘हामीसँग छलफल नै नगरिकन समिति बनाएको छ, जुन आपत्तिजनक छ ।’ सो समितिको संयोजकमा सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णलाई बनाएको थियो जो बैठकमै उपस्थित थिएन ।
 
संयोजक बनाएको कुरा आफ्नो जानकारीमा नरहेको कुरा कर्णले सार्वजनिक गरेका छन् । जब कि गठबन्धनसँग सद्भावना पार्टीको कहिल्यै मन मिलेन । त्यस अवस्थामा विना जानकारी नै संयोजक बनाउनु गलत भएको स्वीकार्छन् तराई मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादव । उनकै पार्टीका अध्यक्ष महेन्द्र राय यादव भन्छन, ‘एक त बैठकमै नआउने, बैठकमा आएपनि भएका निर्णय बारे त्यहाँ नबोल्ने र निस्किसकेपछि विभिन्न टिप्पणीहरु गर्ने केही दलका नेताहरुको आदत हो ।’ बैठकमा बोलाउँदा नआउने अनि त्यो बैठकबाट कुनै निर्णय हुँदा आफूहरुको विना जानकारी त्यस्तो गर्यो भनि हल्ला गर्नु राजनीतिक इमान्दारीता नभएको गठबन्धनका नेताहरु बताउँछन् ।
 
भदौ १९ गते मोर्चाको बैठक ३ बजे सकेको थियो ।  त्यहीबाट गठबन्धनको बैठकमा जाने कुरा थियो तर कोही आइ दिएन । रामनरेश यादवले भने, ‘मैले नै मनिष सुमन, वृषेशचन्द्र लाल र कौशलेन्द्र मिश्रलाई फोन गरि आउन किन ढिल्नु गर्नु भएको भनि फोन गर्दा उहाँहरुले आउँदैछु भनि जवाफ दिनु भएका थिए तर आउनु भएन । अनि अहिले निर्णय नै गलत भयो भन्न पाइदैन ।’

Post a Comment

 
Top