0
गोल्डेन न्यूज संवाददाता
पोखराको अग्रणी सामाजिक संस्था धादिङ–पोखरा सम्पर्क समाजको १८औं साधारणसभा  तथा नवौं अधिवेशन शनिबार पोखरामा हुँदैछ । अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको समाजद्वारा बिहीबार पोखरामा आयोजित पत्रकार सम्मलेलनमा जानकारी दिइयो । समितिका अध्यक्ष झम्क सारु मगरको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक युवराज खतिवडाले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको बताए । उक्त अवसरमा समाजका पूर्व अध्यक्ष तथा सल्लाहकार परिषद् संयोजक रुद्रप्रसाद खनालले समाजको गतिविधिबारे प्रकाश पारेका थिए । कार्यक्रमको संचालन महासचिव सुदर्शन बसौलाले गरेका थिए । समाजको संशोधित विधान अनुसार अधिवेशनले १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ भने नयाँ अध्यक्षले २ जना सदस्य मनोनित गर्नेछन् । समाजका करिब ३ सय आजीवन तथा ५ सय साधारण सदस्य अधिवेशनमा सहभागी हुने संयोजक खतिवडाले बताए । यसैबीच समाजको नेतृत्व लिन आधा दर्जन व्यक्तिले चाहना गरेका छन्। केही व्यक्तिले नेतृत्व गर्न आफू तयार रहेको भन्दै महिनादेखि नै भेटघाट र छलफल बनाउँदै आएका थिए । समाजको चुनावी माहौल यतिबेला तातेर गएको छ । समाजको वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष गोकर्ण लम्साल, उपाध्यक्षद्वय गुण प्रसाद सापकोटा, लुमणि प्रसाद अगस्ती, कोषाध्यक्ष लालप्रसाद पाठक, कार्यसमिति सदस्य युवराज खतिवडा, सल्लाहकार परिषद सदस्यद्वय कृष्णबहादुर लम्साल, वीरबहादुर थापाले नेतृत्व गर्न ईच्छा जाहेर गरेका छन् । बुधबार साँझ भएको एक छलफलमा सापकोटा बाहेककाले उम्मेदवारीको घोषणा गरेका हुन् । सापकोटाले बिहीबार गोल्डेन न्यूज दैनिकसंग आफू समाजको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

समाजको नेतृत्व गर्न चाहना गरेका गोकर्ण लम्साल दुई पटक वरिष्ठ उपाध्यक्षका साथै समाजको विभिन्न कार्यक्रमका संयोजक भएर सफलतापूर्व काम गरिसकेका व्यक्ति हुन् । मुरलीभञ्ज्याङ निवासी उनलाई नरम व्यक्तिका रुपमा धादिङवासीले चित्रण गर्दै आएका छन् । लम्सालले समाजमा आप्mनो धेरै योगदान रहेको भन्दै आफूले समाजको नेतृत्व गर्न पाए पोखरामा सबै धादिङवासीलाई एकढिक्का बनाएर अघि बढ्ने बताएका छन् । लम्सालले अध्यक्षमा चाहना गर्नु स्वभाविक भएको भन्दै समाजका केही अग्रजहरु उनलाई सघाउन खुलेर लागेको बताइन्छ । अध्यक्षमा चाहना गरेका वर्तमान कार्यसमितिका उपाध्यक्षद्वय सापकोटा र अगस्तीले सहमतिको आधारमामात्र अध्यक्ष बन्ने बताएका छन् । समाजमा उनीहरुको  भूमिका पनि महत्वपूर्ण र सहयोग समेत धेरै गरेको बताइन्छ । सापकोटा धादिङ धुवाँकोट र अगस्ती खाल्टे निवासी हुन् । यस्तै समाजको नेतृत्वमा चाहना गरेका वर्तमान कोषाध्यक्ष लालप्रसाद पाठकलाई सफल कोषाध्यक्षको रुपमा हेरिंदै आएको छ । उनले २ पटक कोषाध्यक्ष र एक पटक कार्यसमितिको सदस्य भएर काम गरिसकेका छन् । उनी धादिङ ज्यामरुङ निवासी हुन् । पाठक पनि सहमतिको आधारमा मात्र नेतृत्व लिन चाहन्छन् ।

यस्तै वर्तमान कार्यसमिति सदस्य युवराज खतिवडा नेतृत्व लिन कम्मर कसेर लागेका छन् । उनी आफू जसरी भएपनि समाजको नेतृत्व आफूले पाउनुपर्ने दावी गर्दै आएका छन्। समाजमा उनको भूमिका आर्थिक रुपमामात्र जोडिंदै आएको छ। उनी वर्तमान कार्यसमिति सदस्य पदमा रहेर मात्र काम गरेको अनुभवमात्र छ । उनले आफू नेतृत्वमा पुग्नका लागि अघिल्लो कार्यकाल र वर्तमान कार्यकालमा समेत गरि आफ्नै खर्चमा करिब २५० जना सदस्य बनाएको बताइन्छ । उनलाई नेतृत्व स्वीकार गर्न समाजका अधिकांश अग्रज, वर्तमान कार्यसमितिका अधिकांश पदाधिकारी, सदस्य तथा तथा मतदाता तयार भने देखिंदैनन् । समाजका गाविस इकाइको सधैं विरोध गर्दै आएको भन्दै खतिवडाको नेतृत्व स्वीकार गर्न गाविस इकाइहरु पनि तयार छैनन् । धादिङ खाल्टे निवासी उनी सहमति भए आफूमा र सहमति नभएर मतदान नै गरेर भएपनि आफू नेतृत्वमा पुगि छाड्ने बताउँछन् । केही गरि उनी नेतृत्वमा पुगेमा उनको विगतका गतिविधिका कारण समस्या आउने हो कि ? भन्ने धादिङवासीले आशंका गरेका छन् । खतिवडाले आफू अध्यक्ष बन्न नपाए अध्यक्षका अर्का आकांक्षी वीरबहादुर थापालाई समर्थन गर्न सक्ने चर्चा समेत शुरु भएको छ ।

यस्तै नेतृत्व लिन लामो समयदेखि दौडधूप गरिरहेका वर्तमान सल्लाहकार परिषद् सदस्य कृष्णबहादुर लम्साल पनि समाज र प्रत्येक गतिविधिमा नरम धारणा राख्ने व्यक्तिको रुपमा परिचित छन् । उनले यसपटक समाजको नेतृत्व गरेमा सबै सहमत हुने दावी गरिएको छ । उनलाई समाजका अधिकांश पूर्व अध्यक्षहरु, वर्तमान कार्यसमितिका अधिकांश पदाधिकारी तथा सदस्यहरुले समर्थन गर्ने बताइन्छ । यसका साथै गाविस इकाइहरुले पनि उनको नेतृत्व सहज ढङ्गले स्वीकार गर्न सक्ने देखिन्छ। धादिङ मुरलीभञ्ज्याङ निवासी उनी समाजको स्थापना देखिनै सक्रिय रहेका छन् । आफूले समाजको नेतृत्व गर्न धेरै पहिलेदेखि चाहेको भएपनि त्यागको भावना अनुसार सबैलाई छोड्दै आएको भन्दै लम्सालले यसपटक आफूले जसरी पनि नेतृत्व पाउनुपर्ने दावी गर्दछन् । यसपटक लम्साल अध्यक्ष बन्ने सम्भावना बलियो रहेको समाजका एक पूर्व अध्यक्षले बताए ।

यसैगरी वर्तमान सल्लाहकार परिषद् सदस्य वीरबहादुर थापा पनि नेतृत्व लिन कम्मर कसेर लागेको देखिन्छ । समाजको केही काममा बाहेक खासै भूमिकामा नरहेका थापा धादिङ मूलपानी निवासी हुन् । उनलाई छुच्चो र घमण्डीका साथै अर्काको कुरा छिट्टो काट्ने र छिट्टो रिसाउने व्यक्तिको रुपमा चित्रण गरिंदै आएको छ । उनलाई पनि नेतृत्व दिन समाजका अधिकांश व्यक्ति तयार छैनन् भने इकाइ समितिहरुले पनि खुलेर उनको विरोध गर्दै आएका छन् । इकाइ समितिप्रति सबैभन्दा बढी नकारात्मक धारणा राख्ने व्यक्ति पनि थापा नै भएको बताइन्छ । समाजमा उनको पनि भूमिका एक कार्यकाल सदस्यमात्र हो । उनी यसअघि २ पटक नेतृत्व गर्ने चाहना गरेर पनि असफल हुँदै आएका थिए । उनले यसपटक आफूले नेतृत्व गर्न पाए समाजको भवन बनाइ दिने आश्वासन दिएपनि त्यो कुरा पत्याउन तयार छैनन् । समाजको वरिष्ठ उपाध्यक्ष पदमा अहिलेसम्म कसैले दावी गरेका छैनन् भने उपाध्यक्ष पदमा समाजको वर्तमान कार्यसमितिका सह–सचिव तथा नलाङ इकाइका अध्यक्ष शम्भु अधिकारीले उम्मेदवारी दिने सम्भावना रहेको छ । समाजको महासचिव पदमा वर्तमान कार्यसमितिका सल्लाहकार एवं आगिन्चोक इकाइका अध्यक्ष हरि पन्त, समाजको वर्तमान कार्यसमितिका सल्लाहकार प्रकाश दुलाल, कार्यसमिति सदस्य योग प्रसाद सापकोटा (नवराज)ले उम्मेदवारी घोषणा गरेका छन् भने वर्तमान कार्यमितिका महासचिव तथा आगिन्चोक इकाइका उपाध्यक्ष सुदर्शन बसौलाले सहमति भए आफू पुनः महाचिवमा दोहो¥याउने मनस्थितिमा छन् । यस्तै समाजको सह–सचिव, कोषाध्यक्ष र सह–कोषाध्यक्ष पदमा कसैले पनि चाहना गरेका छैनन् ।   समितिको सदस्य पदमा ढोला इकाइ समिति, खरी र सल्यानटार इकाइबाट १÷१ जनाले उम्मेदवारी दिने तयारी भएको छ । समाजको अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नका लागि पूर्व अध्यक्ष हरि अर्याल संयोजक र वर्तमान सल्लाहकार गोकर्ण अधिकारी सह–संयोजक रहेको निर्वाचन समिति गठन गरिएको छ । समाजको नेतृत्व सर्वसम्मति बनाउन समितिका केही अग्रजहरु ले निकै प्रयत्न गरिरहेको बताइन्छ ।







Post a Comment

 
Top