0
गोल्डेन न्यूज संवाददाता
दक्षिणी छिमेकी भारतसँगको अधिकतम निकटताले उत्तरी छिमेकी चीनसँगको सम्बन्धमा कुनै असर नपर्ने प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् । भारत भ्रमणबाट फर्किएलगत्तै आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग उनले भने,–‘भारत सँगको निकटताले चीनसँगको सम्बन्धमा कुनै आँच आउने छैन । दुवै मुलुकसँग नेपालको आफ्नै प्रकारको सम्बन्ध छ ।’ चीनसँगको सम्बन्धमा तलमाथि नहुने वाचा गर्दै उनले भने, ‘हामीले दुवैतर्फ उत्तिकै घनिष्टता राखेर अघि बढ्नुपर्छ । विकास परियोजना अघि बढाउनुपर्छ ।’

भारतको चार दिने राजकीय भ्रमणमा पाएको न्यानो आतिथ्यबाट गदगद भएर स्वदेश फर्केका प्रधानमन्त्री दाहालले दुई छिमेकीबीच सन्तुलनको नेपाल नीति बारे यस्तो धारणा राखेका हुन् । आफ्नो भारत भ्रमणमा भएका सहमतिले दुई देशीय सम्बन्ध उचाइमा पुग्ने निष्कर्ष निकाल्दै उनले भने, ‘भारतसँग अब कुनै त्यस्तो समस्या छैन । भारत र नेपालबीच केही असमझदारी रहेको भए पनि त्यसलाई चिर्दै सम्बन्धको नयाँ उचाईमा पुगेका छौं । नेपालको शान्ति, स्थायित्व र विकासमा भारतको साथ छ ।’ भ्रमणमा भएका सम्झौता र सहकार्यले अर्को छिमेकी मुलुक चीनलाई कतै केही असर नगर्ने पटक–पटक दोहो¥याएका प्रधानमन्त्री दाहालले भने, ‘भारत सँगको आयाम र सम्बन्ध चीनसँग दाँज्न हुँदैन । त्यस्तै चीनसँगको आयाम र सम्बन्ध भारतसँग दाँज्न हुँदैन । हाम्रो नीति सन्तुलित छ ।’ अन्तर्राष्ट्रिय मञ्चमा उभिँदा भारतसँग निकटतम सहकार्य गर्ने भन्ने संयुक्त वक्तव्यको बुँदाले आफ्नै धारणा बाझिदैन ? भन्ने जिज्ञासामा उनले भने,–‘सुरक्षा परिषदमा भारतलाई नेपालको साथ र समर्थन भन्ने विषय पुरानै हो । सन् २००४ देखि नै नेपालको साथ र समर्थन छ । त्यसमा नै अडेर हामीले सहकार्य गर्ने भनेका हौं । यसलाई अन्य ढंगले नबुझियोस् ।’

संयुक्त राष्ट्रसंघमा भारतको उम्मेदवारीलाई नेपालले समर्थन गर्ने भन्दै आएको भए पनि ‘अन्तर्राष्ट्रिय मञ्चहरुमा निकटतम रहेर सहकार्य गर्ने’ भन्ने शब्द यसअघिका कुनै पनि संयुक्त वक्तव्यमा थिएनन् । अन्तर्राष्ट्रिय मञ्चमा भारतसँग एउटै मत बनाएर जाने सहमतिले सम्बन्धलाई तत्काल निकट बनाए पनि त्यसमा राखिएको विशेषणले पछि नेपाललाई नै असर गर्ने विज्ञहरुको धारणा छ । संयुक्त राष्ट्रसंघका विषयमा समान धारणा राख्न तथा विकासोन्मुख देशका लागि एक हुने बारे निकट रहने भनिएको विषय आफैंमा फरक हो भन्दै दाहालले भने, ‘यस्तो विषयमा हामीले दुईपक्षीय रुपमा काम गर्नेछौं ।’ उनले यस विषयमा यहाँ बुझाई फरक परेको समेत बताए । उनले आफ्नो भारत भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यलाई लिएर नेपालमा उठेको जिज्ञासा मथ्थर पार्दै भने, ‘केही विषय अलिफरक ढंगले आएको छ । हामीले असल नियतका साथ गरेका हौं ।’ २५ बुँदे संयुक्त वक्तव्यको १० र ११ नम्बर बुँदाले नेपालको विदेश नीति अख्तियार गर्दा भारतको साथ र सल्लाह चाहिने भन्ने अर्थ लाग्ने भनेर व्याख्या भएपछि उनले आफ्नो नियत असल रहेको बताएका हुन् ।
संविधान संशोधनजस्तो नेपालको आन्तरिक विषयलाई किन संयुक्त वक्तव्यमा राखियो भन्ने जिज्ञासामा दाहालले भने, ‘संविधानको विषय आन्तरिक भए पनि यसको प्रक्रिया बारे अन्तर्राष्ट्रिय समुदाय जानकार रहेको छ । यसकारण २५ बुँदामा राख्दा यसले मुलुकलाई अहित होइन हित नै गर्छ भन्ने मेरो बुझाई छ । यो विषयमा अलि फरक धारणा आएको पाएँ, त्यस्तो होइन ।

विश्व जानकार रहेको विषय संयुक्त वक्तव्यमा पर्दा के भयो र ?’ सबैको सहमति जुटाएर कार्यान्वयन गर्ने प्रयास विश्वलाई थाहा भइसकेको भन्दै उनले यसमा भारतको स्वागत र समर्थन राम्रो हुने भएकाले राखिएको पनि बताए । उनले संचारकर्मीहरुलाई भने, ‘यसलाई गलत ढंगले बुझ्नुभन्दा सकारात्मक वातावरण बनाउनेतर्फ जानु राम्रो होला । भारतीय दूतावासको ‘काउन्टरपार्ट’ नेपाल सरकार बनेको विषयलाई समेत उनले असल नियतको रुपमा व्याख्या गरे । अहिलेसम्मको परियोजनालाई अघि बढाउने विषयमा बन्ने अनुगमन टोलीमा भारतीय दूतावास र नेपाल सरकार रहने भन्ने वाक्यांश संयुक्त वक्तव्यमा रहेको छ । भारतमा दुई देशका प्रधानमन्त्रीले क्षेत्रीय सहकार्यका लागि सहमति जनाउँदै दुवै सरकारले यसको अनुसन्धान गर्ने र विशेषगरी व्यापार, पारवहन, संजाल र ऊर्जाका विषयलाई प्राथमिकता दिएका थिए । प्रधानमन्त्री दाहालले जलविद्युतको विकासमा दुई देशको साझेदारी, आपसी सहकार्य र अुनसन्धान हुने बताए । नेपालमा जलविद्युत विकासमा भारतको साथ खोज्ने काम भएको बताउँदै उनले भने, ‘नेपालको जलविद्युतको विकासमा भारतको साथ र सहयोग रहँदै दुई देशीय साझेदारीमा अघि बढ्नेछ ।’ नेपाल र भारतले क्षेत्रीय संगठनहरु सार्क र बिमिस्टेक परिधिमा रहेर सहकार्य गर्ने र तिनलाई महत्वकासाथ अगाडि बढाउने विषयमा सहमत भएको उनले बताए । खुला सीमालाई दुरुपयोग हुन नदिने सहमतिले अवान्छित तत्वहरुको विभिन्न गतिविधि नियन्त्रण हुने विश्वास पनि उनको छ । दुई देशबीचको प्रवुद्ध व्यक्ति समूहको बैठक सन् २०१६ भित्रै गर्ने र त्यस समूहले नेपाल र भारतबीचको सम्बन्धका विषयमा स्वतन्त्र तवरले बहुपक्षीय सम्बन्धको विकास गर्न थप सहयोग गर्न सुझाव दिने अपेक्षा गरिएको पनि उनले बताए । उनले आफ्नो भ्रमण निकै सफल रहेको बताउँदै पुरानो तिक्तता अन्त्य भएर सम्बन्ध नयाँ उचाइमा पुगेको दाबी गरे । प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै नेपाल भ्रमण गर्ने विश्वास पनि व्यक्त गरे । दाहाल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा गत भदौ ३० मा १ सय २५ सदस्य नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँ दिल्ली प्रस्थान गरेका थिए । दाहालले भारतमा रहँदा त्यहाँका राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री मोदी लगायत उच्च राजनीतिज्ञसँग भेटवार्ता गरेका थिए । उनले हिमाञ्चल प्रदेशमा जलविद्युत आयोजना र पतन्जली योगपिठको भ्रमणका लागि दुई दिन खर्चिएका थिए ।




Post a Comment

 
Top