0
गोल्डेन न्यूज संवाददाता
नेपालकै अग्रणी विकास बैंक कैलाश विकास बैंकले आफ्नो २३औं वार्षिकोत्सव मनाउँदै छ। वार्षिकोत्सवकै अवसरमा बुधबार पोखरा–१० रामघाटस्थित श्रमिक बालबालिका तथा मजदुरका छोरा छोरीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । कार्यक्रम बैंकका सहायक महाप्रबन्धक सूर्य प्रसाद तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।  उक्त अवसरमा बोल्दै त्यसैगरी बैंकका सहायक महाप्रवन्धक सूर्यप्रसाद तिवारीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।  बालबालिका तथा किशोर–किशोरी सम्पर्क केन्द्रका कार्यक्रम संयोजक भक्तराज रसाईलीले बैंकले प्रदान गरेको शैक्षिक सामाग्रीले ठूलो राहत मिलेको बताए । बैंकका प्रवन्धक बुद्धिराज बरालले बैंकको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमले आजका साना बालबालिकाहरुका लागि सानो सहयोग भन्दा पनि उत्प्रेरणा जगाउन सहयोग पु¥याउने विश्वास ब्यक्त गरे।  कार्यक्रम बैंकका सहायक प्रवन्धक अम्बिका शर्माको संयोजकत्वमा भएको थियो भने बाँझापाटन शाखाका शाखा प्रमुख  शोभा भुर्तेलले सञ्चालन गरेकी थिइन । वार्षिकोत्सवको अवसर पारि बैंकले भोलि शुक्रबार वृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रम न्यूरोडस्थित बैंकको प्राङ्गणमा हुनेछ ।
 
बि.सं. २०५० सालमा  अन्नपूर्ण फाइनान्स कम्पनी लिमिटेडको नाम बाट कारोबार शुरु गरेको वित्तिय संस्था स्तरोन्नति भई कैलाश विकास बैंक भएको थियो । २०७३ जेष्ठदेखि मेट्रो डेभलपमेण्ट बैंक लिमिटेड र नेपाल एक्सप्रेस फाइनान्स लिमिटेड, कैलाश विकास बैंक लिमिटेडसंग गाभिई संयुक्त रुपमा कैलाश विकास बैंक लिमिटेडको नामबाट कारोबार सञ्चालन गरेको छ । २०७३ साल आषाढ मसान्तसम्म बैंकको चुक्ता पूँजी १ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । १५ अर्ब ६ करोड निक्षेप संकलन गरी १३ अर्ब ५० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आ.व.मा संस्थाले करिब ४४ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ भने मर्जरपछि शाखा संख्या ३८ र एटिएम संख्या १७ पुगेको बैंकले जनाएको छ ।

Post a Comment

 
Top