0
हरि पन्त
व्रिटिस काउन्सिल अन्तर्गतको इन्टरनेशनल स्कूल अवार्ड यसवर्ष पोखराको मदरल्याण्ड उच्च मावि र स्पाइरल ग्यालेक्सी उच्च माविले प्राप्त गरे । स्पाइरल र मदरल्याण्डसंगै मुलुकका अन्य ९ वटा स्कुलले पनि अर्वाड प्राप्त गर्न सफल भएका छन्। सन् २०१३ देखि वितरण गरिंदै आएको यस अवार्ड यसअघि पोखराका केफ उच्च मावि, हार्वड स्कूलका साथै सृजना सामुदायिक विद्यालयले प्राप्त गरिसेका थिए । 
यसवर्ष अवार्ड प्राप्त गर्नका लागि गतवर्षदेखि काम शुरु गरेका आठ जिल्लाका १०० विद्यालयमध्ये २५ वटा विद्यालयले वार्षिक गतिविधि अभिलेख बुझाएकोमा कास्कीका मदरल्याण्ड र स्पाइरल ग्यालेक्सीले अवार्ड प्राप्त गर्न सफल भएका हुन् । आगामी वर्षको यस अवार्डका लागि आवेदन दिएका कास्कीका विद्यालयहरु (निजीतर्फ) अल्फा, हिमाञ्चल बोर्डिङ तथा सामुदायिक विद्यालयहरु माछापुच्छे उच्च मावि ढिकुररोखरी,माछापुच्छे उच्च मावि भुर्जुङखोला र नामार्जुङको हिमालय मिलनको बारेमा पोखरामा सोमबार छलफल भएको छ । छलफलमा अवार्ड प्राप्त गर्ने विद्यालयका संचालक तथा प्रमुखले अवार्ड प्राप्त गर्नका लागि गर्नुपर्ने  काम र अवार्ड प्राप्त गरेपछि प्राप्त उपलव्धिका बारेमा अनुभव आदान-प्रदान गरेका थिए ।
छलफलमा बोल्दै कास्कीका सहायक जिल्ला शिक्षा अधिकारी दीपेन्द्र ढकालले आजको युगमा विद्यार्थीलाई घोकत्ने विद्या होइन प्राविधिक शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिए । उनले शिक्षकहरु आफैमा प्राविधिक भएर पनि अप्राविधिक काम गरिरहेको भन्दै शिक्षकले आफ्नो प्राध्यापन शैलीमा परिवर्तन गर्नुपर्ने बताए । व्रिटिस काउसिन्सलका फोकल प्वाइन्ट समेत रहेका उनले भने-‘आजको युगमा अनलाईन शिक्षा प्रणाली अपनाउनुपर्ने अवस्थामा शिक्षकहरु अझैपनि कितावको भरमा पढाइरहेका छन्, यस पद्धति अब तोडिनुपर्छ ।’ अध्ययन पद्धति पुरै अनलाइन र डिजिटलतर्फ उन्मुख भैसकेको अवस्थामा पनि नेपालमा कालोपाटीमै निर्भर रहनुपर्ने अवस्था विडम्वना भएको उनको भनाइ थियो ।
स्पाइरल ग्यालेक्सी उच्च माविका प्राचार्य नारायण चपागाइँले ब्रिटिस काउन्सिलको इन्टरनेशनल स्कूल अवार्ड परियोजनाले विद्यालयका शिक्षक-शिक्षिका, विद्यार्थीहरुमा सिकाइ क्षमतामा निकै वृृद्धि भएको र विद्यालय पढाइ पद्धति समेत प्रोजेक्टर, अनलाइन माध्यममार्फत हुन थालेको बताए । उनले अवार्ड प्राप्त गर्न सजिलो कार्य नभएको स्पष्ट पार्दै परियोजनाले आफूलाई पनि निकै अनुभवी र दक्ष बनाउन सहयोगी भूमिका खेलेको बताए ।
मदरल्याण्ड उच्च माविका संस्थापक निर्देशक त्रिभुवन शर्मा बरालले व्रिटिस काउन्सिलको यस परियोजना धेरै व्यक्तिले बुझ्न नसकेको भन्दै यसलाई सरल र सहज ढङ्गले सबैलाई बुझाउन जरुरी रहेको बताए । उनले इन्टरनेशनल स्कूल अवार्ड कार्यक्रम विद्यालय, शिक्षक–शिक्षका र विद्यार्थीहरुका लागि बहुउपयोगी रहेको भन्दै यस परियोजनाको दायरालाई अझ फराकिलो बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिए । यसअघि कास्कीका ३ विद्यालय, यसपटक २ विद्यालयले अर्वाड प्राप्त गरेको भएपनि यसको संख्यालाई अझ धेरै बनाउन सबै लाग्नुपर्ने उनको बरालको भनाइ थियो ।
कास्कीका सहायक जिशिअ ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्याव्सन कास्कीका परीक्षा को–अर्डिनेटर पुरन कुँवर, व्रिटिस काउन्सिल स्कूल एम्वेष्डरद्वय केशव प्रसाद पराजुली र लालप्रसाद पौडेल, हिमालय मिलन मावि नामार्जुङका प्रधानाध्यापक ओम प्रकाश गुरुङ, अभिभावक संघ कास्कीका अध्यक्ष हेमराज बराल लगायतले परियोजनाको गतिविधि माथि प्रकाश पारेका थिए ।
छलफलमा स्कूल एम्वेष्डर केशव प्रसाद पराजुलीले दिएको जानकारी अनुसार कुनैपनि विद्यालयलाई व्रिटिसि काउन्सिलको इन्टरनेशनल अवार्ड प्रदान गर्नका लागि विद्यालयहरुले पेश गरेका अभिलेख र प्रमाण दस्तावेजहरु काउन्सिल, शिक्षा विभाग र पाठ्यक्रम विकास केन्द्रका प्रतिनिधिहरुको टीमले संयुक्तहरुमा मूल्याङ्कन गर्नुका साथै  बालबालिकाहरुको सिकाइ उपलव्धि र कामको सत्यताको आधारमा छनौट गर्नेछ ।
वेलायत सरकारको अन्तर्राष्ट्रिय विकास विभाग (डिएफआइडी) अन्तर्गत रहेर कला, शिक्षा, तालिम, विज्ञान, प्रविधि सुशासन र मानव अधिकारका माध्यममार्फत बेलायत र अन्य मुलुकहरुबीच अन्तरसांस्कृतिक समझदारी स्थापना गर्ने उद्देश्य अनुरुप काउन्सिल विश्वका १०० बढी मुलुकमा कार्यरत रहेको स्कूल एम्वेष्डर पराजुलीले बताए । 
पराजुलीका अनुसार डिएफआइडी को लगानी तथा व्रिटिस काउन्सिलद्वारा लागू गरिएको कनेक्टिङ क्लासरुम विश्वव्यापी अर्थतन्त्रमा जिउन, काम गर्न र स्थानीय तथा विश्वव्यापी रुपमा योगदान दिन युवावर्गमा आवश्यक ज्ञान, शिप र मूल्यहरु विकासका लागि सहयोग गर्न तयार पारिएको परियोजना हो । सन् २०१५ देखि २०१८ बीच यो परियोजनाले विभिन्न मूलभूत शिपहरुलाई पाठ्यक्रममा समावेश गर्न सघाउनका लागि संसारभरिका ४५ हजार शिक्षक तथा १२ हजार विद्यालयका प्रमुखहरुको क्षमता वृद्धि गराउन सघाउने पराजुलीको विश्वास छ ।

Post a Comment

 
Top