0
गोल्डेन न्यूज संवाददाता
तमू साँस्कृतिक प्रतिष्ठान नेपालले वि.सं. २०६६ सालदेखि विभिन्न दाताहरुद्वारा स्थापना गरिएको अक्षयकोषबाट माध्यमिक तह (कक्षा ८, ९ र १०) मा ‘गरिब तथा जेहेन्दार तमू विद्यार्थी छात्रवृत्ति’ वितरण गर्दै आइरहेको छ । सो छात्रवृत्ति आगामी २ वर्षका लागि भूकम्पबाट प्रभावित गोरखा र लमजुङ्ग जिल्लामा वितरण गर्ने संस्थाको निर्णय भए पश्चात गत फाल्गुण २५, २६ र चैत्र ५ गते सम्वन्धित जिल्लाहरुमा सम्पन्न छुट्टा–छुट्टै छनौट परीक्षामा कुल २३ जना विद्यार्थी उत्कृष्टताको आधारमा छनौटमा पर्न सफल भएका थिए । जसमध्ये गोरखा जिल्लाका १० गा.वि.स. बाट ११ जना विद्यार्थी रहेका छन् । गत शुक्रवार एक औपचारिक कार्यक्रमका बीच ती ११ जना विद्यार्थीहरुलाई तमू प्ये ल्हु संघ, गोरखाको सहयोगमा छात्रवृत्ति वितरण गर्ने काम सम्पन्न भएको छ। सदरमुकाम गोरखामा आयोजना गरिएको कार्यक्रममा आमन्त्रित पाहुनाहरुले छनौटमा परेका विद्यार्थीहरुलाई नगद ८ हजार रुपैयाँ र प्रशंसापत्र वितरण गरेका थिए । ती विदयार्थीहरु हाल कक्षा ८ मा अध्ययनरत रहेका छन । उनीहरुले आगामी वार्षिक परीक्षाहरुमा राम्रो नतिजा ल्याएमा कक्षा ९ र १० मा समेत सो छात्रवृत्ति निरन्तर प्राप्त गर्ने छन् । कार्यक्रममा तमू प्ये ल्हु संघका अध्यक्ष धन बहादुर तमूले २ वर्षको लागि प्रतिष्ठानले लमजुङ्ग र गोरखालाई चुनेकोमा खुसी व्यक्त गरे । यस पवित्र कार्यमा तमु प्ये ल्हु संघ, गोरखालाई समेत सहकार्य गर्ने मौका दिएकोमा धन्यवाद दिए ।
 
त्यसै गरी तमू ह्युल छोंज धीं गोरखा नगर कमिटीका अध्यक्ष डिलमान तमूले भूकम्पबाट भौतिक र मानसिक रुपमा विक्षिप्त दुर्गम भेगका विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउनु एउटा सह्रानीय काम भएको बताए । संयोजकको रुपमा सहयोग गर्दै आएको तमु प्ये ल्हु संघका उपाध्यक्ष राजन तमूले यस पटक भूकम्पबाट प्रभावित विकट जिल्लाका तमू छात्रछात्राहरुलाई सक्दो समेटने प्रयास गरिएको बताए । श्री आहाल भञ्ज्याङ्ग मा.वि. थालाजुङका प्र.अ. जितबहादुर अधिकारीले तमूका बच्चाहरु पनि अनुकुल वातावरण पाएमा राम्रो नतिजा ल्याउन सक्ने कुरा आफनै विद्यालयकी एक छात्राले उच्च अंक ल्याएर प्रमाणित गरेको बताए । प्रतिष्ठानका उपाध्यक्ष चित्र तमूले शिक्षा सबैको लागि अपरिहार्य रहेको कुरा बुझ्न जरुरी रहेको बताए । अध्यक्ष चिजकाजी तमूले तमू समुदायमा शिक्षा प्रतिको विकर्षणलाई न्यूनीकरण गर्ने प्रयासमा प्रतिष्ठान लागिरहेकोमा सबैको साथ र सहयोग आवश्यक रहेको बताए । गोरखाको करौजा, घ्यालचोक, बारपाक, लापु, केरावारी, गुम्दा, कल्लेरी, सिर्दीबास, खरीबोट र थालाजुङका कुल ५ जना छात्र र ६ जना छात्राले तमू धीं यू.के., गुरुङ्ग समाज कतार, कमल तथा पुनम तमू, रामचन्द्र तथा पवित्र तमू, सचिन तमू, वत्ति तथा स्व. मन तमू, दिलिप तथा हेमा तमू, हिमाल तथा हेमा तमू तथा डा. चन्द्र तथा महेश तमू शिर्षकको छुट्टाछुट्टै अक्षयकोषबाट माथि उल्लेखित छात्रवृत्ति वितरण गरिएको थियो । लमजुङमा वितरण गर्न बाँकी रहेको छात्रवृत्ति बडा दशैं अघि नै दुइ चरणमा प्रदान गरिने कुरा प्रतिष्ठानका सचिव भेष तमूले बताए । प्रतिष्ठानले विगत २ वर्ष देखि निरन्तर छात्रवृत्ति प्रदान गर्दै आएको कक्षा ९ र १० का  २८ जना विद्यार्थीहरुलाई पोखरामा गत असार ४ गते छात्रवृत्ति रकम वितरण गरिसकेको छ । उक्त अवसरमा तमू प्ये ल्हु संघ गोरखाले प्रतिष्ठानका सदस्यहरुलाई फेटा तथा पछ्यौराद्वारा सम्मान गरेको थियो । कार्यक्रम चिजकाजी तमूको अध्यक्षतामा भएको थियो भने तमू प्ये ल्हु संघ, गोरखाकी सचिव दुर्गा तमूले संचालन गरेका थिए ।






Post a Comment

 
Top