0
गोल्डेन न्यूज संवाददाता 
देशभर भूकम्प प्रभावित विद्यालय अझै टहरामा सञ्चालन भैरहेका अवस्थामा गोरखा ताप्ले–४ स्थित महालक्ष्मी माध्यमिक विद्यालयको भूकम्प प्रतिरोधि भवन निर्माण सम्पन्न भएको छ । २०१२ सालदेखि सञ्चालनमा आएको उक्त विद्यालय गत वर्षको भूकम्पका कारण क्षतिग्रस्त बने पछि विकासका लागि ऐक्यवद्धता नेपालको संयोजनमा कोरियन सहयोगी संस्थाहरू हाङ्सालिङ, सोलिडारिटी फर एशियन ह्युमन राइटस् एण्ड कल्चर र कोरिया होप फाउण्डेशनको सहयोगमा विद्यालय भवन निर्माण गरिएको हो । भूकम्पले विद्यालयका १८ कोठा ध्वस्त बने पछि लामो समयसम्म विभिन्न ११ वटा अस्थायी कोठाबाट कक्षा सञ्चालन गर्दै आइएकोमा कोरियन संस्थाहरूको एक करोड ५५ लाख रुपैयाँ सहयोग र स्थानीय जनश्रमदान सहित आन्तरिक सहयोग गरी दुई करोड रुपैयाँको लागतमा १२ कोठा सहितको पक्की भवन, मञ्च सहितको पुस्तकालय, प्रवेशद्वार निर्माण गरिएको हो । यस्तै विद्यालयलाई २२ थान कम्प्युटर, ६ वटा सिसि क्यामरा, ८ वटा सोलार प्यान र ४५ जोर फर्निचर पनि प्रप्त भएको छ । विकासका लागि ऐक्यवद्धता नेपालका कार्यकारी अध्यक्ष ज्ञानप्रसाद श्रेष्ठ (ज्ञानु)ले भूकम्प पश्चात सहयोगका लागि गरिएको आग्रहलाई सहर्ष स्वीकार गरी कोरियन संस्थाहरूले सहयोग गरेका कारण समयमा नै भवन निर्माण सकिएको बताए ।
विद्यालयको समग्र शैक्षिक अभिबृद्धिका लागि कक्षा १२ सम्म आवश्यक पुस्तकालय सामान उपलब्ध गराउने लक्ष्य अनुरुप काम भैरहेको विकासका लागि ऐक्यवद्धता नेपालका उपाध्यक्ष अर्जुन पौडेलले जानकारी दिए । भूकम्पले क्षतिग्रस्त बनाएको विद्यालयमा प्राप्त सहयोग अत्यन्त महत्वपूर्ण भएको बताउँदै विद्यालयमा ३० वर्षदेखि निरन्तर प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका रहम तुल्ला मियाले प्राप्त सहयोगलाई अधिकतम उपयोग गर्दै विद्यालयको शैक्षिक अभिबृद्धिमा कृयाशिल रहने प्रतिवद्धता व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वेदीप्रसाद श्रेष्ठले विद्यालयको शैक्षिक गुणस्तरीयता अभिबृद्धिका लागि प्राप्त सहयोग बहुउपयोगी बन्ने विश्वास व्यक्त गरे । सहयोगी संस्थाका प्रतिनिधिको उपस्थितिमा एक समारोहकाबीच वाणिज्य मन्त्री रोमी गौचन थकालीले मंगलबार  उद्घाटन गरे । “भूकम्प प्रभावित मध्येमा देशभरमा नै पहिलो पुनः निर्माण गरिएको महालक्ष्मी विद्यालय सबैका लागि अनुकरणीय बनेको छ,” उनले भने,–“विकासका लागि एक भएर अघि बढ्नु वर्तमानको आवश्यकता हो, विकासका लागि सबैले एकाकार भएर लाग्नुपर्छ ।”
सांसद कमला पन्तले सहयोगी दाताको महत्वपूर्ण सहयोगले विद्यालयको भवन निर्माण सम्पन्न भएको बताउँदै जिल्लाका अन्य विद्यालयको पुनः निर्माणका लागि सबैको सकृयता आवश्यक भएको उल्लेख गरिन् ।





Post a Comment

 
Top