0
गोल्डेन न्यूज संवाददाता
युवाको चरित्र निर्माण कसरी गर्न सकिन्छ भन्नेबारे आध्यात्मिक युवा परिषद्को आयोजनामा पोखरामा सोमबार आध्यात्मिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । केदारेश्वर मन्दिर परिसरमा भएको उक्त प्रशिक्षणमा सनातन धर्म संस्कृति, आचार व्यवहार, जीवनको सुख, युवामा आध्यात्मिक विकास लगायत विषयमा प्रशिक्षण दिइएको हो । कार्यक्रममा केदारेश्वर मन्दिरका पीठाधीश डा. लेखनाथ आचार्य, विद्वत्वर चैतन्यकृष्ण महाराजजी, समाजशास्त्री भरतराज पौडेल, युवा संयोजक दीपक थापा, आरसि बरालद्वारा विभिन्न विषयमा प्रशिक्षण दिइएको कार्यक्रम संयोजक शंकर खरालले जानकारी दिए । कार्यक्रममा विद्वत्वर चैतन्यकृष्ण महाराजजी हिन्दू नेपालका प्रत्येक क्षेत्र ऋषिमुनिसँग जोडिएको बताए । उनले नेपाल आफैमा महत्वपूर्ण तीथस्थल भएकोले यहाँका नदीनाला किनारमा बसेर पूजापाठ तथा श्राद्ध गर्नुपर्नेमा जोड दिए । उनले तीर्थका लागि विदेशका विभिन्न ठाउँ जानु नपर्ने औल्याए । डा. लेखनाथ आचार्यले धर्म संस्कृतिको व्याख्या गर्दै यसको महत्वबारे प्रकाश पारे । अर्का वक्ता दीपक थापाले मानिसमा नैतिक शिक्षा, अनुशासन र आध्यात्मिक विकास हुनुपर्ने बताए । उक्त अवसरमा धार्मिक सहिष्णुता कायम गर्दै सामाजिक सेवामा योगदान पु¥याएकोमा घाचोकका बेलप्रसाद सुनार, नदीपुरका राजु परियार र हेम्जास्थित एकता युवा भजन समूहलाई सम्मान गरियो । कार्यक्रममा लेखनाथ न्यौपाने, लक्ष्मण गौतम र रामनाथ अधिकारीले कवितावाचन गरे भने अन्नपूर्ण, एकता युवा, कृष्ण प्रणाली भजन समूहले भजन प्रस्तुत गरेका थिए । कार्यक्रमको उद्देश्यबारे प्रष्ट पार्दै संयोजक शंकर खरालले विभिन्न क्षेत्रमा रहेर धार्मिक सहिष्णुता बढाउने, सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने, एकता ल्याउन र युवालाई सुसूचित पार्न कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा करिब २ सय जनाको सहभागिता थियो ।




Post a Comment

 
Top